
काठमाडौं । चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यबादक खर्कबहादुर बुढामगर र उनकी धर्मपत्नी लिलावती बुढामगरले चैत्र २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् ।
शुक्रबार राजधानीमा नेपालमा सल्यान सरोकार समाजले उक्त ‘युगल साँझ’बारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले उक्त साँझको सम्पूर्ण तयारी भैसकेको स्पष्ट पारे । उनकाअनुसार युगल साँझ दिउँसो २ बजेदेखि सुरू हुने जनाइएको छ । उक्त साँझ उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न हुने गायक दम्पत्तिले बताए ।
गायक बुढामगरले भने, "विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’
आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडीले रेकर्ड गरिसकेको छ । उनीहरुका मौलिक र स्थानीय लोकगीतहरु बढी रहेका छन् ।