site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लभ स्टेशन’ निर्देशक भन्छन्– फिल्म स्कुल पढ्दैमा फिल्म मेकर भइँदैन
SkywellSkywell

उज्वल घिमिरेले नेपाली चलचित्रमा साढे तीन दशक बिताइसके । उनले निर्देशन सुरू गरेको २३ वर्ष भयो । कलाकार हुँदै निर्देशक बनेका घिमिरे नेपाली चलचित्र उद्योगका पुराना र अनुभवी चलचित्रकर्मी हुन् । पुरानादेखि नयाँ पुस्तासँग उनले काम गरेका छन् । घिमिरे नेपाली चलचित्र उद्योगले खासै प्रगति गर्न नसकेको बताउँछन् । चलचित्र बुझेकाभन्दा पनि नबुझेका व्यक्ति मेकरका रुपमा आउँदा नेपाली चलचित्रले गति लिन नसकेको उनको बुझाइ छ । उनले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्र ‘लभ स्टेशन’सँगै नेपाली चलचित्रको अवस्था र यसको कारणमा केन्द्रित रहेर निर्देशक घिमिरेसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 
० ० ०
अहिले नेपाली चलचित्रलाई दुई भागमा बाँडेर हेर्ने गरिएको छ । एउटा सस्तो मनोरञ्जन अर्को समाजको गम्भीर कथा उठाउने चलचित्र । सस्तो मनोरञ्जन दिने चलचित्रले करोडौं कमाइरहेका छन्, कथाप्रधान मौलिक चलचित्रले लगानी पनि उठाउन सकिरहेका छैनन् । तपाईंले ‘लभ स्टेशन’मा जोखिम उठाउन नचाहनु भएको हो ?
तपाईंको प्रश्नमै मेरो आपत्ति छ । सस्तो मनोरञ्जन भनेको के हो ? ‘छक्का पञ्जा’ले र मैले निर्देशन गरेको ‘वडा नम्बर ६’ ले करोडौं रुपैयाँ व्यापार गरे । नेपालमा सर्वाधिक व्यापार गर्ने चलचित्र यीनै हुन् । ‘वडा नम्बर ६’को निर्देशक मै हुँ । ‘छक्का पञ्जा’ले १२–१३ करोड ग्रस कलेक्सन गरेको छ । यी चलचित्रले मनोरञ्जन प्रदान गरेका थिए । यी चलचित्रलाई के भन्ने ?
गम्भीर विषय भनेको के हो ? लामो सट खिचेर, गाईवस्तु देखाउँदैमा गम्भीर विषय हुने हो ? पहाडमा भरियाले भारी बोकेको देखाउँदा गम्भीर विषय हुन्छ ? हामी मेन स्ट्रिमका चलचित्र बनाउने मेकरहरुले बनाउने चलचित्र मनोरञ्जनका लागि बनाउने हो । कि डकुमेन्ट्री बनाउनु पर्यो । कि अस्करका लागि बनाउनु पर्यो । कि अवार्डका लागि बनाउनु पर्यो । अवार्डका लागि चलचित्र बनाउने हो भने चलचित्र चलेन भनेर गुनासो गर्नु भएन । किनभने त्यसमा दर्शकले इन्टरटेन गर्दैनन् । सस्तो मनोरञ्जन भएको भए चलचित्र चल्दैचल्दैन नि ! कपिल शर्माको कमेडी शो सस्तो कि महँगो ? सर्वाधिक महँगो शो त्यही हो त । टिकट काटेर चलचित्र हेर्न गएपछि दर्शकले पूरा मनोरञ्जन लिन सक्नुपर्छ । 

तपाईं निकै अनुभवी र लामो समयदेखि निर्देशन गर्दै आउनु भएको निर्देशक, पुराना कलाकारले काम नपाएर भौतारिरहेका बेला नयाँ पुस्ताका कलाकारलाई लिएर ‘लभ स्टेशन’मा काम गर्नुभयो । पुराना कलाकारसँग विश्वास नभएको हो कि नयाँ कलाकारसँग पनि काम गर्ने चाहना हो ?
बजारमा जो चल्छ र जसको डिमान्ड धेरै छ त्यसैलाई चलचित्रमा लिने चलन छ । पुराना कलाकारसँग मैले धेरै काम गरिसकेको छु । नयाँ कलाकारसँग काम गरेको यो दोस्रो चलचित्र हो । ‘वडा नम्बर ६’ मा पनि नयाँ कलाकारसँग काम गरेको थिएँ । 

अहिलेका कलाकार पहिलाका भन्दा पनि परिपक्व छन् । पुरानोले कामै नगरेको र उनीहरुलाई पाखा लगाउनु पर्छ भनेको त हैन । कथा अनुसार कसलाई लिने भन्ने हुन्छ । 

KFC Island Ad
NIC Asia

‘लभ स्टेशन’ नामैले युवा पुस्ता लक्षित चलचित्र जस्तो लाग्छ । यसअघि कमकेडी जानराको ‘वडा नम्बर ६’ निर्देशन गर्नुभयो । नेपाली ठेट मौलिकता झल्किने गम्भीर विषय बोल्ने चलचित्र निर्देशन तपाईंको प्राथमिकतामा पर्न छोडेको हो ?
होइन । हरेक पटक एउटै खालको चलचित्र बनायो भने त मेकरको क्षमता नै देखिँदैन । निर्देशकको खुबी देखाउनु पर्छ । निर्देशकले जुनसुकै बेला जस्तो पनि चलचित्र बनाउनु पर्ने हुन सक्छ । हामी मेन स्ट्रिम चलचित्र बनाउनेहरु चलचित्र लार्जर देन लाइफ हुनुपर्छ भन्छौं । यो नेपालमा मात्रै होइन । बलिउडमा पनि त्यही नै हो । 

‘अर्धसत्य’ बन्यो होला तर ‘सोले’ आज पनि उत्तिकै लोकप्रिय छ । भारतमा सवा अर्ब जनसंख्या छ । एक करोड जनसंख्यालाई मात्रै लक्षित गरेर चलचित्र बनाउँदा पनि सफल हुन्छन् । तर हाम्रोमा जम्मा जनसंख्या ३ करोड छ । त्यसैले हामीले १०–२० प्रतिशतलाई लक्षित गरेर चलचित्र बनाए लगानी नै उठ्दैन । त्यसैले मासलाई अपिल गर्ने चलचित्र बनाउनु पर्छ हामीले । लार्जर देन लाइफ चलचित्र नै चाहिन्छ हाम्रोमा । 

Royal Enfield Island Ad

समीक्षक र दर्शकले चलचित्रलाई फरक नजरले हेरेको पाइन्छ । समीक्षक चलचित्रको फर्मुला तथा प्राविधिक र न्यारेटिभमा केन्द्रित हुन्छन् । दर्शकहरू दुई घण्टा रमाउन खोज्छन् । ‘लभ स्टेशन’ले कसलाई खुसी बनाउँछ ? 
विदेशतिर कमर्सियल चलचित्रको पनि समीक्षा गर्ने चलन छ । राम्रो कमर्सियल चलचित्रलाई झन् बढी मेहनत आवश्यक पर्छ । राम्रो आर्ट चलचित्र र राम्रो कमर्सियल चलचित्रमा राम्रो कमर्सियल चलचित्र बनाउन कठिन हुन्छ । आर्ट फिल्ममा आफनो विचार पोखे पुग्छ हलमा चलोस् नचलोस् मतलब हुँदैन । तर कमर्सियल चलचित्र त चल्नै पर्छ । त्यसैले समीक्षकको माइन्ड र मुडमा भर पर्ने समीक्षालाई म मान्दै मान्दिन । 

कतिपय साथीभाइले भयङ्कर राम्रो भनेका चलचित्र मलाई मन परेन । ‘बाहुबली’को दोस्रो सिरिज मलाई मन परेन । त्यो चलचित्रको मैले समीक्षा लेखेँ भने त नराम्रो लेख्छु । तर आम दर्शकले मन पराएर विश्वभर चलिसकेको चलचित्रलाई मैले नराम्रो लेखेर हुन्छ ? नेपालमा अडियन्सको नजरबाट कहिले पनि समीक्षकले चलचित्र हेरेनन् । दर्शकको आँखाबाट पनि समीक्षा गर्न सिक्नुस् । ठूलो क्यानभास भएको चलचित्रलाई हेर्न सिक्नुस् । 

डोको नाम्लो बोक्दैमा चलचित्र हुन्छ र ? मयलपोस सुरुवाल लाउँदैमा चलचित्र हुँदैन । गाउँघर देखाउँदैमा चलचित्र हुँदैन । फिल्म चाहे गाउँघरको होस् अथवा सहरको राम्रोसँग बनाइएको छ भने राम्रो हुन्छ होइन भने अमेरिका र अष्ट्रेलियामा एकसय एक घर र गाडी देखाउनुस् त्यो पनि राम्रो हुँदैन । 

‘लभ स्टेशन’ कस्तो चलचित्र हो ?
‘लभ स्टेशन’ नामले नै थाहा हुन्छ लभ स्टोरी जानराको चलचित्र हो भन्ने । तर यसपटक हामीले त्यतिमात्रै होइन फेमेली ड्रामालाई समेटेका छौं । लभमा सधैँ परिवारको संलग्नता हुने भएकाले लभ स्टोरी फेमेली ड्रामा भन्छु म यसलाई । 

क्वालिटीका हिसाबले फिल्म मेकिङमा नेपाल अझै विश्वभन्दा दशकौं पछाडि छ । विश्वले तयार गरिदिएको मानकहरूलाई पछ्याएर नेपाली सिनेमा उद्योग अहिले बामे सर्दैछ । प्राविधिक पक्षलाई देखाएर हामी फिल्मका अरु पक्षलाई अन्याय गरिदिन्छौं । प्रविधिको उच्चतम प्रयोग नहुँदा पनि विश्वमा दशकौं पहिले राम्रा फिल्म बन्थे । हामी अझै पनि दशकौं पछि पर्नुको कारण के हो ? 
राम्रो र नराम्रो भन्ने कुरा चलचित्र निर्माण गर्नेलाई पनि थाहा हुँदैन । राम्रो र नराम्रो हलमा गए पनि मात्रै मेकरले पनि थाहा पाउँछ मैले कस्तो चलचित्र बनाएँछु भन्ने । 

कोसिस निकै धेरै गर्नुपर्छ । विश्व मानचित्रमा हामी धेरै पछि छौं, यो कुरामा म सहमत छु । तर प्राविधिक पक्षका कारण चलचित्र राम्रो बनाउन सकेनौं भनेर मेकरहरु उम्किन पाउनुहुन्न । म पनि यसको विरोध गर्छु । 

डिजिटलाइज भएकाले ढिलो चाँडो हामीले भारत र अमेरिकाले प्रयोग गरिरहेको प्रविधि नै अपनाइरहेका छौं । फोरके क्यामेराले खिचिरहेका छौं, टुके प्रोजेक्टरमा हाम्रा चलचित्र देखाइरहेका छौं । साउन्ड पनि केही राम्रो हुँदै गएको छ । अब प्राविधिक पक्षलाई देखाएर उन्मुक्ति पाउने अवस्था छैन । 

बक्स अफिसमा हिट भएका चलचित्रलाई नै राम्रो भन्ने हो ?
होइन । कुनै चलचित्र समीक्षकलाई निकै धेरै मन पर्छ । तर त्यो एउटा व्यक्तिले मन पराएको हो दर्शकले होइन । त्यसकारण चलचित्र कम चलिरहेका पनि हुन्छन् । धेरै चल्ने चलचित्रहरु नराम्रा भए चल्दैनन् । चल्न त राम्रै हुनुपर्छ नि !

तर, मेनस्ट्रिमका मेकरहरुले अक्सर बक्स अफिसमा हिट चलचित्रलाई नै राम्रो भनेको पाइन्छ नि !
‘छक्का पञ्जा’ राम्रो भएर चलेको हो । मैले पहिला बनाएका ‘जिन्दगानी’, ‘अन्दाज’, ‘किस्मत’ राम्रो भएरै चलेका हुन् । नराम्रा चलचित्र कहाँ चल्छन् र ? कमर्सियल चलचित्र भन्दैमा नराम्रो हुने होइन । यो त बनाउन झनै गाह्रो छ । 

चलचित्रको मुटु मानिने पटकथा लेखनमा नेपालमा ७०–७५ हजार बजेट छुट्याउने चलन अहिले पनि छ । विदेशका नामी लोकेशन खिच्न खर्चिने पैसा स्क्रिप्टमा खर्चिए के बिग्रिन्छ ?
यो कुरामा म तपाईंसँग सहमत छु । म धेरै साथीहरुलाई यही कुरा बेलाबेलामा सुझाव दिइरहेको हुन्छु । फजुल खर्च गर्ने चलन छ । चलचित्रको घोषणा देखि सक्सेस पार्टीसम्म ५ तारे होटलमा पार्टी दिने तर खर्च गर्नुपर्ने ठाउँमा लोभ गर्ने चलन छ । फजुल खर्च गर्ने पैसा राम्रो राइटर र स्क्रिप्टमा लगानी गर्न सकिन्छ । सफ्टवेयरमा मेहनत गर्नुपर्छ । जुन कुरामा पैसा खर्चै गर्नुपर्दैन त्यहाँ खर्च भइरहेको छ । जहाँ खर्च लाग्छ त्यहाँ हतार र लोभ छ । यसले राम्रो चलचित्र बनाउन सहयोग गर्दैन । 

२३ वर्षदेखि निर्देशनमा र ३६ वर्ष देखि अभिनयमा हुनुहुन्छ । नेपाली चलचित्रले आधा शताब्दी लामो यात्रा तय गरिसक्यो तर सेलुलाइडबाट डिजिटलमा जाने र पुराना कलाकार प्रतिस्थापन गरेर र नयाँ कलाकार आउनेबाहेक ठूलो उपलब्धी के गर्यो ? अहिले पनि नेपाली चलचित्र नेपाली भूगोलभित्रै खुम्चिरहनु परेको छ । 
आजसम्मको उपलब्धी तपाईंले भनेजस्तै नै हो । मैले पनि केही देखेको छैन । संख्यात्मक रुपमा चलचित्र बढ्दैमा गुणात्मक विकास हुँदैन । यसको मुख्य समस्या जुन काम जसले गर्दैछ, त्यसमा त्यो व्यक्ति पोख्त हुनुपर्छ । पत्रकारितामा पैसा आउन थाल्यो भनेर म मेरो पेशा छोडेर पत्रकारिता गर्न थालेँ भने मैले राम्रो पत्रकारिता गर्न सक्छु र ? यहाँ अहिले भइरहेको यही नै हो । जसले जे जान्दछ र जे पढेको छ उसले त्यही गर्ने हो । यहाँ त यस्तो छ आज एउटा फिल्ममा सानो रोल गरेको मान्छे भोलि निर्माता भइसकेको हुन्छ । चार आना जग्गा बेच्यो निर्माता । यसरी चलचित्र उद्योग अगाडि बढ्दैन । आउने जाने बाहेक केही हुँदैन । 

हाम्रो देशलाई वर्षको सयवटा चलचित्र चाहिएको छैन । जान्ने व्यक्तिले मात्रै चलचित्र बनाऊँ । सबैले जानेको हुँदैन । जसले जान्दछ, उसैलाई छोड्दिऊँ । जसलाई भगवानले तँ चलचित्र बनाएर खा भनेर पठाएको हो उसैलाई छोड्दिऊँ । 

र, अर्को कुरा हाम्रो चलचित्र मात्रै होइन केही हेन्डिक्रफ्ट र कार्पेटबाहेक अरु केही पनि जाँदैन । चलचित्रमा पनि त्यस्तै छ । कहाँ डिज्नेले बनाएको चलचित्र कहाँको हाम्रो । क्वालिटीमा फरक हुन्छ । कन्टेन्टमा राम्रो हाम्रो पनि हुनसक्छ तर क्वालिटी हामीले तुलनात्मक रुपमा दिन सकिरहेका छैनौं । नेपाल बाहिर नेपाली चलचित्र चल्नलाई कन्टेन्ट राम्रो हुनका साथै तुलनात्मक रुपमा उनीहरुसँग प्रतिस्पर्धा पनि गर्न सक्नुपर्छ । 

साढे तीन दशक लामो अनुभवले लगातार नेपाली चलचित्र ओरालो लाग्नुको कारण केलाई ठम्याएको छ ?
कच्चा मान्छेहरु चलचित्र उद्योगमा आए । जसलाई चलचित्रबारे थाहा छैन, विशेष खालको चलचित्रमात्रै चलचित्र हो भन्ने पनि एउटा समूह छ । गाउँघरका कुरा देखाएर त्यो चलचित्र भयङ्कर भन्ने जमात पनि छ । तर चलचित्र त्यो होइन । कुरा बुझिएको छैन । चलचित्रबारे धेरै कुरा सिक्न र जान्न बाँकी नै छ । खाली फिल्म स्कुलमा पढेर एक्सन–कट भन्दैमा फिल्म मेकर भइँदैन । फिल्म मेकर बन्नलाई फिल्मको फिल हुनुपर्छ । ऊ हरेक, सिन, म्युजिक, ब्याक ग्राउन्ड स्कोर लगायत सबै कुरामा फिल गर्न सक्नुपर्छ । रहरै रहरमा फिल्म बन्दैन । एउटा मान्छे आउने चलचित्र बनाउने अनि जाने । जिन्दगीभर ऊ नेपाली चलचित्रको प्रोड्युसर भयो । उसलाई म पनि फिल्म प्रोड्युसर हुँ भन्ने छाप मात्रै लगाउनु थियो, लगाउँछ । यो परम्परा तोडिनुपर्छ । यस्तै कुराले हो नेपाली चलचित्र उद्योग पछि परेको । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro