
काठमाडौं । ललितपुरको पुल्चोकस्थित एलायन्स फ्रान्सेस दे मा पनौतीमा परिवर्तन नामक फोटो प्रदर्शनी सुरू भएको छ । पनौतीको सांस्कृतिक तथा ऐतिहासिकता झल्काउने फोटोहरुको प्रदर्शनी सुरू भएको हो । प्रदर्शनीको नेपालका लागि फ्रेन्च राजदूत फ्रान्कोइस जेभियर लेगेरले गरे ।
प्रदर्शनीमा पनौतीका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक सम्पदाका तस्बिरहरु अवलोकन गर्न सकिनेछ ।
अप्रिल ४ देखि मे ६ तारिखसम्म चल्ने उक्त फोटो प्रदर्शनीमा ४० देखि ५० वटा नयाँ–पुराना तस्बिर छन् । प्रदर्शनीमा मानवशास्त्री जेरार्ड टफिन, फ्रान्सकै मुर्तिकार भिन्सेन्ट बेरे, आर्किटेक्ट प्याट्रिक वर्गर र लरेन्स फेभिलले सन् १९७० का दशकमा खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको छ । साथै पहिलेकै तस्बिरको एंगलमा हालै खिचिएका तस्बिर पनि प्रदर्शनीमा छन् । प्रवेश निःशुल्क छ ।
यस्तै, कलाकार तथा हुलाक टिकट डिजाइनर केके कर्माचार्य, फोटोग्राफर मणि लामा र वर्ड वाचर सुदर्शन कार्कीले क्यामेरामा कैद गरेका फोटोहरु पनि प्रदर्शनीमा देख्न सकिन्छ । फोटोग्राफर प्रशान्त श्रेष्ठका अनुसार सन् १९७० को दशकमा पनौतीमा फ्रान्सका विज्ञ टोली आएर मध्यकालिन वास्तुकलाका अध्ययनमा लामो समय बिताएका थिए । त्यही समयमाउनीहरुले समग्र पनौतीलाई नै क्यामेरामा कैद गरेका थिए ।
काठमाडौंबाट ३२ किलोमिटर दुरीमा नेवार समुदायको बसोबास तथा मौलिक संस्कृति रहेको पनौतीलाइ युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको फोटोग्राफर श्रेष्ठले बताए ।