नेपाली रजतपटमा सुरुमा नायिका र पछि निर्देशकको छवी बनाएकी कलाकार हुन् झरना थापा । नायिकाका रुपमा दर्शकको मन जितेकी उनी अहिले निर्देशक भएर दर्शकको मन चोर्ने प्रयास गरिरहेकी छिन् । उनकी छोरी सुहाना थापा अहिले नायिकाका रुपमा देखिँदैछिन् । झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–३’मा उनी अनमोल केसीको अपोजिटमा देखिँदैछिन् । उक्त चलचित्र चैत २९ गतेबाट अल नेपाल रिलिज हुँदैछ । पहिलो चलचित्र रिलिजको तयारीमा रहेका बेला सुहानासँग चलचित्र ‘ए मेरो हजुर–३’ सँगै उनको चलचित्रमा प्रवेशलगायत केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
तपाईंले अभिनय गरेको पहिलो चलचित्र प्रदर्शनको तयारीमा छ । कस्तो कौतूहल हुँदोरहेछ पहिलोपटक आफ्नो चलचित्र प्रदर्शनको पूर्व सन्ध्यामा ?
चलचित्र रिलिज हुन अब १० दिनमात्रै बाँकी छ । चलचित्र रिलिज डेट जति नजिकिँदै गइरहेको छ, त्यति नै हामी यसको प्रचारप्रसारमा पनि छौं । दर्शकलाई भेट्न हतारिरहेको छु । दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ भनेर मनमा कौतूहल छ ।
तपाईंकी आमा (झरना थापा)ले जुन लोकप्रियता कमाउनु भएको छ, त्यो लोकप्रियता म पनि कमाउन सक्छु भन्ने कत्तिको विश्वास छ ?
त्यति धेरै आश त छैन । तर मैले सकेजति काम गरेको छु । दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ थाहा छैन ।
महँगो बजेटमा युवा पुस्तामा लोकप्रिय मानिने नायक–नायिकाका चलचित्र पनि लगातार नरुचाइरहेका बेला तपाईं डेब्यू नायिकाका रुपमा आउँदै हुनुहुन्छ । कत्तिको चुनौति महसुस गर्नुभएको छ ?
मेरो विचारमा हरेक व्यक्तिको कर्म भिन्नभिन्न हुन्छ । हामी एउटै चलचित्र उद्योगबाट आइरहेका छौं । त्यसैले यहाँ प्रतिस्पर्धा भन्दापनि आ–आफ्नो कर्म गर्ने हो र त्यसकै प्रतिफल पाउने हो । त्यसैले पनि मैले दबाब महसुस गरेकी छैन ।
तपाईं डेब्यू नायिका भए पनि घरमा आमा कलाकार तथा निर्देशक र बुवा निर्माता भएकाले पारिवारिक वातावरण नै चलचित्रमय छ । किन चलचित्र चल्दा रहेनछन् ?
हो, पक्कै पनि धेरै कुरा हुन्छ । म पनि सुनिरहेको हुन्छु । राम्रा, नराम्रा र औषत चलचित्र बनिरहेका हुन्छन् । मेरो विचारमा भाग्यको पनि ठूलो हात हुन्छ ।
एक समय थियो नेपाली चलिचत्र निकै राम्रोसँग चल्थे । प्रस्तुति र कथा त्यतिकै धेरै राम्रो थियो । त्यही हेरेर अब नेपाली चलचित्र चल्छ है भनेर धेरै निर्माण गर्न आउनु भयो । तर यहीबीचमा धेरै नराम्रा चलचित्र पनि आए । यो पनि भाग्यको खेल नै हो । चलचित्र हिट हुन र आफू लोकप्रिय हुन भाग्यमा पनि लिएर आउनुपर्छ ।
तपाईंकी आमा (झरना थापा) केही दिन अगाडि जसरी मैले दर्शकको मन जितेँ, सुहानाले पनि त्यसैगरी साथ पाउनेछिन् भन्दै हुनुहुन्थ्यो नि ! निकै धेरै अपेक्षा छ हैन घरबाट ?
पक्कै पनि उहाँ सफल कलाकार हुनुहुन्छ र निर्देशक पनि । उहाँको कर्मको परिणाम नै हो त्यो । उहाँसँग धेरै अवसर हुँदाहुँदै पनि चलचित्र क्षेत्रकै लागि भनेर उहाँले काम गर्नु भयो । जति दर्शकले उहाँलाई विश्वास र माया गर्नुभएको छ, त्यति नै उहाँले पनि चलचित्र उद्योगका लागि योगदान दिनु भएको छ ।
‘ए मेरो हजुर–३’मा अनमोलसँग स्क्रिन सेयर गर्दैहुनुहुन्छ । उहाँको जस्तो खालको क्रेज छ त्यही क्रेज पहिलो चलचित्रबाट तपाईंले पनि आर्जन गर्ने कत्तिको लोभ छ ?
मैले गर्न सकेको गरेको छु । तर मैले त्यसबाट फलको आश गरेको छैन । जे जस्तो प्रतिक्रिया आउँछ म त्यसलाई स्वीकार गर्छु ।
आफ्नो कामप्रति विश्वास नभएको त हैन नि !
हैन । कामप्रति मलाई विश्वास छ । म कृष्णभक्त हुँ । भागवत गीतामा कर्म गर तर त्यसको फलको आश नगर भनेको छ । त्यसबाट म प्रभावित छु । त्यसैले काम गर्दै जाने हो तर अनपेक्षित अपेक्षा नराख्ने मेरो मान्यता हो । फलको आश गर्ने मान्छे सधैँ दुःखी हुन्छ रे ! राम्रो काम गरेको छु भने किन डराउनु ? डरायो भने त्यहाँ मानसिक चिन्ता हुन्छ । अहिले म प्रोमोसनमा हिँडिरहेको छु यो पनि काम नै हो तर यसको रेस्पोन्स कस्तो आउँछ त्यो त मलाई पनि थाहा छैन ।
यो चलचित्रले तपाईंलाई अपेक्षित सफलता दिएन भने अर्को चलचित्रमा तपाईंलाई फेरि दर्शकले देख्न पाउँछन् कि पाउँदैनन् ?
आई लभ दिस इन्डस्ट्री । म फिल्मको सेटमा जानेबित्तिकै मैले थाहा पाइसकेको थिएँ कि मेरो कर्मक्षेत्र नै यही हो । चलचित्र नचले पनि दर्शकले मेरो काम मन पराइदिनु भयो भने म पक्कै पनि चलचित्र क्षेत्रमै हुनेछु ।
हुन त आमाबुवा पनि चलचित्र क्षेत्रमा हुनुहुन्छ तर तपाईंलाई कुनै त्यस्तो घटना वा दिन छ जसले मेरो कर्म क्षेत्र पनि चलचित्र नै हो र म पनि यसमै काम गर्छु भन्ने निर्णय गरेको क्षण ?
‘ए मेरो हजुर–२’को छायांकनमा गएको थिएँ । साम्राज्ञी र सलिनमानलाई देख्दा फरक खालको क्यारेक्टरमा काम गरेको देखेर मलाई पनि रमाइलो लागेको थियो । त्यसपछि प्रिमियरमा मिडियासँग कुराकानी भयो त्यो बेला मलाई अर्कै खालको फिल भयो । त्यसपछि मैले ममीबाबालाई म पनि चलचित्र गर्छु भनेँ । उहाँहरुले मलाई अहिले होइन पहिला पढाई सक अनि गर भन्नुभयो । त्यसको केही समयपछि नै ‘ए मेरो हजुर–३’को घोषणा भयो र मैले त्यसमा काम गर्ने भएँ । भनिन्छ नि कहिलेकाँहि जिव्रोमा लक्ष्मीको बास हुन्छ त्यस्तै भयो त्यो दिनको मेरो चाहना ।
अनमोललाई आफ्नै क्षमताले भन्दा पनि बुवा भुवन केसीका कारण चलचित्र क्षेत्रमा एक खालको क्रेज प्राप्त भयो भन्ने आरोप लाग्दै आएको छ । त्यो आरोप लाग्ने डर तपाईंलाई कत्तिको छ ?
कसले के भन्छ भन्नेभन्दा पनि काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । कुरा त यहाँ आफूले राम्रो काम गरे पनि काट्छन् नै । भगवानलाई पनि प्रश्न गर्ने ठाउँ हो यो । त्यसैले आरोप लगाउनेहरुलाई कसैले रोक्न सक्तैन, काम गरेर आफूलाई प्रमाणित गर्दै जाने हो ।
नेपाली चलचित्र चलिरहेका छैनन् । कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
कुनै कथा राम्रो हुन्छ, त्यसलाई क्यारेक्टले न्याय गरेको देखिँदैन । कहिले विषय नै राम्रो हुँदैन । कुनै विषय नै दर्शकलाई मन पर्दैन । बलिउड र हलिउडबाट हाम्रो चलचित्र उद्योग प्रभावित छ । हाम्रो त केही छैन । मेरो विचारमा एक पटक यस्तो समय आयो हलिउड र बलिउडले अर्कै ट्रेन्ड सेटअप गरेर गए । त्यसपछि त्यही हेर्न हामी बानी पर्यौं । त्यही भएर दर्शक भड्किए जस्तो लाग्छ ।
भड्किएका दर्शकलाई फर्काउने जिम्मेवारी कसको हो ?
हामी सबैको हो । समग्र नेपाली चलचित्र उद्योगको हो । त्यसका लागि अग्रजहरुले काम गरिरहनु भएको छ । हामी पनि यही चलचित्र उद्योगमा काम गर्न आइरहेका छौं ।
अहिलेको युवा पुस्तालाई बलिउड र हलिउडबाट नेपाली चलचित्रमा फर्काउन के गर्नुपर्छ ?
मेरो विचारमा चलचित्रको प्रिजेन्टेसन नै हो । जुन चलचित्रको प्रिजेन्टेसन राम्रो छ, त्यही नै दर्शकले हेर्नुहुन्छ । जुन होटलमा राम्रो खाना पाइन्छ त्यहीँ जाने हो नि । दर्शक निकै सचेत भइसक्नु भएको छ उहाँहरुको रुची अनुसारको प्रस्तुति र कन्टेन्ट दिन सक्नुपर्छ । कहाँ चलचित्र बिग्रियो भन्ने उहाँहरु थाहा पाउनुहुन्छ । त्यसैले विना सम्झौता चलचित्र बनाउनुपर्छ ।
तपार्ईं झरना थापाको छोरी हुनुहुन्न थियो भने चलचित्र उद्योगमा आउनुहुन्थ्यो होला ?
सायद चलचित्रमा म हुन्न थिएँ होला । यो चलचित्र उद्योगमा माथि आउन निकै गाह्रो छ । कतै कुनै मोडमा ठोक्किएर आए फरक कुरा हो नत्र आउँदिन थिएँ होला ।
क्षमतावान व्यक्तिलाई पनि गाह्रो छ र ?
छ । गाह्रो कहाँ छैन र ? हरेक क्षेत्रमा कठिनाई र चुनौति छ ।
‘ए मेरो हजुर–३’ कस्तो चलचित्र हो ?
माया, प्रेम, हाँसो, रोदन सबै समेटिएको आम दर्शकले मन पराउने चलचित्र हो ।
चलचित्र क्षेत्रबाहेक कुनै अर्को पेशा रोज्नुपरेको भए ?
मलाई साइकोलोजी एकदम धेरै मनपर्छ । सायद यो क्षेत्रमा नआएको भए म साइकोलोजीसँग सम्बन्धित क्षेत्रमा काम गर्थें । अटिजम र बालबालिकाको क्षेत्रमा काम गर्थें ।
तस्बिर : सरिता खड्का