
काठमाडौं । ‘हिरोज् डोन्ट कम’ स्कुल थिएटर नेपालको ‘लालाबाला’ समूहका पहिलो र दोस्रो ‘ब्याच’का कलाकार बेलारुस पुगेका छन् । सोलिगोर्स चिल्ड्रेन्स् आर्टस स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा भाग लिन उनीहरू बेलारुस पुगेका हुन् । उक्त महोत्सवमा विभिन्न देशबाट ४० भन्दा बढी समूह सहभागी छन् ।
काठमान्डू प्रज्ञा कुञ्ज स्कुलको आयोजनामा ब्राइट फ्युचर स्कुल र पायोनियर स्कुलबाट समेत ‘लालाबाला’हरू युरोप भ्रमणमा पुगेका हुन् ।
रङ्गकर्मी तथा नाटक प्रशिक्षक प्रकेश सिन्धुलीयको लेखन र निर्देशनमा रहेको नाटक हिरोज डोन्ट कम युरोपभरिबाट जम्मा भएका कलाकार, लेखक र निर्देशकहरूमाझ प्रदर्शन भएको थियो । निर्देशक सिन्धुलीयले, “घरबाट यति टाढा आएर पनि दिग्गज अन्तराष्ट्रिय कलाकार, निर्देशक र हाउसफूल दर्शकको लामो ताली र प्रशंसाको पात्र बन्नु सजिलो छँदै छैन,” उनले आफ्नो फेसबुक अकाउँनटमा भनेका छन्, “लालाबालाहरुले जादू नै गरे भनेर बुझ्नूस् ।”
उनका अनुसार ‘हिरोज् डोन्ट कम’ले वेष्ट एक्टर मेल, ब्राइट एक्टर, वेष्ट डाइरक्सन वक्र्स र वेष्ट टिम वर्क अर्वाड समेत जितेको छ ।
‘लालाबाला’ समूहको यो दोस्रो युरोप यात्रा हो । यसअघि यसै वर्ष प्रकेश सिन्धुलीयकै निर्देशनको सोही नाटक पोल्यान्डको गोलेनियोमा ‘द ह्युमन मोजाइक’ थिएटर फेस्टिभलमा मञ्चन गरिएको थियो ।
बेलारुस भ्रमणमा रहेको ‘लालाबाला’ टोलीमा कलाकारहरु अभिनित चौलागाईँ, प्रशान्त हुमागाईँ, शुभेच्छा तिमल्सिना, अंचित ढुङ्गाना, उदिती मण्डल, सम्पन्न दाहाल, आरुस राना, आरेन नेपाल, अविरल काफ्ले, अद्वैत थापा, राज्यरोहण लम्सालको साथमा शिक्षिका बालिका घिमिरे, स्कुल थिएटर नेपालका प्रेजिडेन्ट डाइरेक्टर टंक चौलागाईँ र निर्देशक प्रकेश सिन्धुलीय रहेका छन् ।