site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कलाकारको पारिश्रमिक: बजार हल्ला एउटा, पाउने अर्कै

काठमाडौं । पछिल्लो समय चलचित्रको हल व्यापार अत्यासलाग्दो र निराशाजनक रहे पनि कलाकारको पारिश्रमिक भने उकालो लाग्दो छ । हलमा चलचित्रको व्यापारको ग्राफ ओरालो लागिरहेका बेला कलाकारको पारिश्रमिकको ग्राफ भने उकालो लाग्ने क्रम रोकिएको छैन ।

युवा पुस्तामाझ लोकप्रिय रहेका नायक–नायिकाको पारिश्रमिकको दर उच्च रहेको छ । अन्य केही कलाकारको पाश्रिमिकमा भने अपत्यारिलो उतारचढाव छैन । 

अहिलेका सबैभन्दा महँगा नायकमा अनमोल केसीको नाम एक नम्बरमा छ । बजारमा हल्ला चलेजस्तो उनले ५० लाख रुपैयाँँ भने आजसम्म बुझेका छैनन् । आफ्नै बुवा भुवन केसीको ब्यानरमा बनेको चलचित्रमा अनमोललाई जति पारिश्रमिक लिएको घोषणा गरे पनि भयो तर उनले बाहिरको ब्यानरमा कति लिन्छन्, त्यसले उनको पाश्रिमिक निर्धारण हुन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही महिनाको अन्तिम साता रिलिज हुने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर–३’बाट ४० लाख पारिश्रमिक बुझेका छन् अनमोलले । ५० लाख भनेर बार्गेनिङ गरे पनि कर निर्माताले नै तिर्ने सर्तमा उनी ४० लाखमा सहमत भएको निर्माण स्रोतले जनाएको छ । झरना थापाले ‘ए मेरो हजुर–३’ निर्देशन गरेकी छन् भने उनका श्रीमान् सुनिलकुमार थापाले लगानी गरेका हुन् ।
अनमोलपछि सबैभन्दा धेरै पारिश्रमिक लिने नायक हुन्, प्रदीप खड्का । ‘प्रेमगीत’बाट चम्किएका उनले अहिले ३५ लाखसम्म पारिश्रमिक लिन थालेका छन् । उनले चलचित्र ‘रोज’मा २५ लाख पारिश्रमिक लिएका थिए । 

युवा पुस्ताले रुचाएका अर्का नायक हुन् पल शाह । पलले अहिले १८ लाख पारिश्रमिक लिन थालेका छन् । ‘हृदयभरी’मा उनले १८ लाखमा साइन गरेका छन् । 

आफूलाई नायकभन्दा पनि अभिनेता तथा कलाकार भन्न रुचाउने नायक विपिन कार्की पनि महँगो पारिश्रमिक बुझ्ने मध्येका एक हुन् । विपिन १८ लाखसम्म पारिश्रमिक बुझ्न थालेका छन् । निश्चल बस्नेतले निर्देशन गर्ने भनिएको ‘फनफनी’ मा उनले १८ लाख पारिश्रमिक बुझेको विपिन स्वयम्ले बताएका थिए । यद्यपि उक्त चलचित्र निर्माण हुन सकेन । यसमा साइन गर्दा उनले ५ लाख रुपैयाँ एडभान्स रकम लिइसकेका थिए । विपिनले अहिले ‘परी’मा पनि १८ लाख पारिश्रमिक लिएका छन् । 

निर्देशकबाट चिनिएका र पछिल्लो समय अभिनयमा बाक्लै देखिन थालेका निश्चल बस्नेत पनि कलाकारका रुपमा महँगो पारिश्रमिक लिन थालेका छन् । उनी अहिले १५ लाख पारिश्रमिक लिन्छन् एउटा चलचित्रबाट । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा उनले १५ लाख पारिश्रमिक बुझेको स्रोत बताउँछ । 

एउटै चलचित्रबाट नोटिस भएका सलिनमान बानियाँलाई पनि अहिले १५ लाख दिन निर्माताहरु तयार देखिएका छन् । अहिलेसम्म उनको एउटामात्रै चलचित्र ‘ए मेरो हजुर–२’ रिलिज भएको छ भने ‘यात्रा’ रिलिज हुने क्रममा छ । 

चलचित्र ‘लुट’बाट नाटकबाट चलचित्रमा फड्को मारेका अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल १५ देखि २० लाख रुपैयाँसम्म माग्छन् । “सौगात र दयाहाङ माग्नलाई १५ देखि २० लाख रुपैयाँसम्म माग्छन् तर उनीहरु १२–१३ लाखमा काम गरिरहेका छन्,” स्रोतले भन्यो । 

चरित्र अभिनेतामा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुन् बुद्धि तामाङ । बुद्धि प्रतिचलचित्र ७ लाख रुपैयाँ लिन्छन् । 

यता नायिकाहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिनेमा एक नम्बरमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । १६ लाखसम्म पारिश्रमिक लिएको खबर आए पनि उनले १४ लाख पारिश्रमिक बुझेको स्रोतको भनाइ छ । भर्खरै अनुबन्ध भएको चलचित्र ‘रातो टीका निधारमा’ बाट उनले १६ लाख बुझेको खबर बाहिर आए पनि स्रोतका अनुसार उनले १४ लाख रुपैयाँ बुझेकी छिन् । 
नम्रता श्रेष्ठ महँगो पारिश्रमिक लिने अर्की नायिका हुन् । उनले पनि ‘प्रसाद’बाट १४ लाख रुपैयाँ लिएकी थिइन् । 

अघिल्लो महिना रिलिज भएको चलचित्र ‘बुलबुल’मा स्वस्तिमा खड्काले चार लाख रुपैयाँ बुझेकी थिइन् । उनलाई अहिले ७ लाख रुपैयाँसम्म दिन निर्माताहरु तयार देखिएका छन् । 
प्रियंका कार्की ५ लाखमा लिड रोलमा काम गर्दै आएको र केकी अधिकारी ४ लाखसम्म पारिश्रमिक लिँदै आएका छन् । 

यता निर्देशनतर्फ भने सबैभन्दा महँगो पारिश्रमिक लिने निर्देशक रामबाबु गुरुङ हुन् । उनले अहिले प्रदर्शन भइरहेको चलचित्र ‘साईंली’मा ४० लाख रुपैयाँ आफ्ना लागि छुट्टयाएको स्रोतले बताएको छ । यद्यपि यसमा उनको कथा पनि छ । 

निश्चल बस्नेत पनि निर्देशनको २५ लाख रुपैयाँ लिन्छन् ।  कलाकार तथा निर्देशकले पाउने गरेको यो पारिश्रमिक चलचित्र निर्माण स्रोतले जानकारी दिएको हो । यद्यपि स्वयम् कलाकाहरु भने इमानदारीपूर्वक आफ्नो पारिश्रमिक बताउँदैनन् । प्रश्न गर्दा समाचारमा आइरहेको छ नि भनेर पन्छिन्छन् । 

कालकारले ४० लाख रुपैयाँसम्म प्रति चलचित्र पारिश्रमिक लिए पनि सरकारलाई आयकर भने अधिकांशले तिर्दैनन् । अधिकांश कलाकारले प्यान नम्बर नै लिएका छैनन् । “आजसम्म मैले आयकर तिरेको छैन । सरकारले के दिएको छ र मैेले कर तिर्नु ? गाडीको लाइसेन्स लिन जाँदा सरकारी कर्मचारीलाई घुस दिनुपर्छ । बिजुलीको बिल तिर्न जाँदा काम छोडेर लाइन बस्नुपर्छ,” एक नायक भन्छन्, “जता गए पनि तस्करी र घुसमात्रै छ । अस्पताल र शिक्षामा ब्रम्ह लुट मात्रै छ । सरकार इमान्दार भए पो आयकर तिर्न पनि मन लाग्छ । सरकारले इमान्दारिता देखायो भने मात्रै आफूले दुःख गरेर कमाएको पैसाको आयकर तिर्न मन लाग्दोरहेछ ।” 
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १३:२९
प्रतिक्रिया दिनुहोस्