site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साउनदेखि मोफसलमा पनि बक्सअफिस लागु हुने

काठमाडौं । सरकारले यही चैत एक गतेबाट काठमाडौं बाहिरका चलचित्र घरमा बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागु गर्ने जनाए पनि पूरा हुन सकेन । गएको साउन १ गतेबाट काठमाडौं उपत्यकाका केही हलमा भने बक्स अफिस प्रणाली लागु भएको छ । सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डको कार्यालय पुगेर साउन १ गतेबाट काठमाडौं उपत्यकाका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा बक्सअफिस लागु भएको जनाएका थिए । 

चैत १ गतेबाट काठमाडौं बाहिर लागु हुने बताइए पनि सरकारले ढिलोगरी बक्सअफिस जडान गर्न हार्डवेयर र सफ्टवेयर जडानका लागि टेन्डर आह्वान गरेको छ । चलचित्र विकास बोर्डका अनुसार परामर्शदाता र हार्डवेयर तथा सफ्टवेयर जडानको ठेक्का पाएको कम्पनीले ०७६ वैशाख १ गतेबाट काम सुरु गर्दैछ । 

“परामर्शदाता र हार्डवेयर तथा सफ्टवेयर जडानको जिम्मेवारी पाएकाहरु वैशाख १ गतेबाट काठमाडौं बाहिर निस्किँदैछन्,” चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले बाह्रखरीसँग भने, “वैशाख १ गतेबाट प्रदेश नम्बर १ बाट काम सुरु हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक नम्बर प्रदेशबाट क्रमशः हल बढी भएका सहर तथा जिल्ला पोखरा, बुटवल, नारायणगढ लगायतमा बक्स अफिस प्रणालीका लागि आवश्यक प्रविधि जडान गरिसक्ने अध्यक्ष भट्टराइको भनाइ छ । उनका अनुसार तीन महिनामा देशभरका सबै हलमा बक्स अफिस प्रणाली जडान गरिसक्ने र साउन एक गतेबाट देशभर लागु हुनेछ । “अब वैशाख १ गतेबाट द्रुत गतिमा काम हुन्छ र तीन महिनामा यो काम सक्ने हाम्रो योजना छ । साउन १ गतेबाट सबैतिर बक्स अफिस लागु हुने अवस्था आउँछ कि भन्ने लागेको छ,” अध्यक्ष भट्टराईले भने । 

चलचित्र विकास बोर्डले ०२६ सालको चलचित्र ऐनलाई संशोधन गरेर विधेयक मन्त्रालयमा पठाएको छ । उक्त विधेयक पास भएपछि चलचित्र क्षेत्रको विकासका लागि थप सहज हुने भट्टराईको विश्वास छ । बक्स अफिस लागु गर्नु र नीतिगत समस्या समाधान नै आफ्ना लागि सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ छ  । 

लामो समयदेखि बक्सअफिस लागु गर्ने भनिए पनि विभिन्न कारणले पर सर्दै आएकोमा साउन १ गतेबाट काठमाडौंमा लागु भए पनि देशभर लागु हुन सकेको छैन । केपी ओली नेतृत्वको वर्तमान सरकारले ०७५–०७६ को बजेटमा राजस्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली लागु गर्ने घोषणा गरेपछि काठमाडौं उपत्यकामा साउन १ गतेबाट बक्सअफिस प्रणाली लागु गरेको थियो । 

बक्सअफिस लागु नहुँदा निर्माताहरुले आफूहरु हलहरुबाट ठगिँदै आएको गुनासो गर्दै आएका थिए । बक्स अफिस लागु भएपछि हलमा चलचित्र प्रदर्शनको पारदर्शी हिसाव हुन्छ । बक्स अफिस प्रणाली करसँग जोडिएकाले राजस्व कार्यालयले सिनेमा हलहरुसँग एपीआई फर्म्याट (एप्लिकेशन प्रोगामिङ इन्टरफेस) मागिसकेको छ । बक्स अफिस लागु भएपछि हलहरुले कर छल्न पाउँदैनन् । 

बक्स अफिस चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणाली हो । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्यांक लिन सकिन्छ । कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखाउने भएकाले यसमा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन सक्तैनन् । प्रत्यक शोको पूर्ण विवरण निर्माता तथा वितरकले घरमै बसेर थाहा पाउन सक्छन् । चलसचित्र विकास बोर्डमा एउटा केन्द्रिय सर्भर राखिनेछ र त्यसमा देशभरका हलहरुको ई–टिकेटिङको रेकर्ड रहन्छ । बोर्डमा राखिएको सर्भरमा सबै हलमा काटिएको टिकटको संख्या र उठेको ग्रस कलेक्सन देखाउँछ ।  

बक्स अफिस लागु गर्न हलहरूले अनिवार्य रुपमा ‘ई–टिकट’ प्रणाली लागु गर्नुपर्छ । पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरुमा यो प्रणाली लागु गरिए पनि पुराना हलमा भने ‘ई–टिकेटिङ’ को व्यवस्था छैन ।

यसका लागि सुरुमा चलचित्र विकास बोर्डले केही सहयोग गर्नेछ । केही समय अगाडि विकास बोर्डसँग रहेको तथ्यांक अनुसार नेपालभर ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । ३६७ हलमध्ये करिब २ सय हल सञ्चालनमा छन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १३:०१
प्रतिक्रिया दिनुहोस्