site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उडायो मलाई झिल्केले
Tiktok banner adTiktok banner ad
नायिका सुर्जनी केसी अहिले आफ्नो करियर के होला भनेर साउन २१ को प्रतीक्षामा छिन् । ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ मा मूख्य भूमिकामा रहेकी केसी यो चलचित्र प्रदर्शनको व्यग्र प्रतीक्षामा छिन् । लोप हुँदै गएको जार प्रथामा आधारित चलचित्रले राम्रो व्यापार गर्ने र आफ्नो फिल्मी भविष्य पनि सुरक्षित गर्नेमा भने उनी ढुक्क देखिन्छिन् । उनै कसीसँग ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’का विषयमा केन्द्रित रहेर बाह्रखरीले गरेको कुराकानीः 
 
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को प्रचारप्रसारमा व्यस्त छु । 
कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
सबैले राम्रो भनिरहनु भएको छ । चलचित्रको टिजर, ट्रलेर, गीत सबैको राम्रो प्रतिक्रिया आइरहेको छ । 
तपाईंको पहिलो चलचित्र हो ? कस्तो अनुभूति भइरहेको छ । 
लिड रोल गरेको चलचित्रचाहिँ पहिलो हो । ‘सपना तिम्रो मेरो’मा पनि अभिनय गरेको थिएँ । तर, त्यसमा सपोर्टिङ रोलमा थिएँ । चलचित्र रिलिज हुने डेट नजिकिँदै जाँदा जति उत्साहित छु, त्यति नै डर पनि लागिरहेको छ ।
‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ कस्तो चलचित्र हो ?
मलाई लाग्छ, अहिलेसम्म यस्तो विषयवस्तुमा चलचित्र बनेकै छैन । समाजमा रहेको पुरानो एउटा प्रथाका विषयलाई समेटेर चलचित्र निर्माण गरिएको छ ।
कुन प्रथा ?
अहिले नभनौं कि । 
जार प्रथा होइन ?
हो । 
विषयवस्तु थाहा भइहाल्यो, अब अलिकति विस्तृतमा बताइदिनुस् न । 
अझै पनि मलाई लाग्छ, धेरैलाई यो जार प्रथाबारे थाहा छैन । स्वयं मलाई पनि थाहा थिएन । यही चलचित्रको स्क्रिप्ट हातमा आएपछि मात्रै थाहा भएको हो । सहरमा त झन् यो विषय अधिकांशलाई थाहै छैन । यही जार प्रथाका विषयमा चलचित्र केन्द्रित छ । 
तपाईंचाहिँ के भूमिकामा हुनुहुन्छ ?
म सुन्तलीको भूमिकामा छु । गाउँको सोझी केटी । सानै उमेरमा विवाह हुन्छ । श्रीमान् विदेश जान्छन् । यस्तो अवस्थामा म जवानीले उन्मत्त भएकी मलाई आफ्नो जवानी बचाउन निकै गाह्रो हुन्छ । पछि श्रीमान् विदेशबाट आएपछि घरमा तनाव सिर्जना हुन्छ । यस्तै–यस्तै छ कथा । 
लिड रोल पहिलो हो । जिम्मेवारीलाई न्याय गर्नुभएको छ ?
मैले सकेको कोसिस गरेकी छु । म निर्माता–निर्देशकको आफन्त भएर वा चलचित्रमा पैसा हालेर हिरोइन भएकी होइन । म अडिसन दिएर चलचित्रका लागि सेलेक्ट भएकी हुँ । त्यसैले पनि मलाई सतप्रतिशत न्याय गरेकी छु भन्ने लागेको छ । साउन २१ ले थप स्पष्ट पार्ला । 
तपाईंको करियरका लागि त यो चलचित्र कोसेढुंगा होला होइन ?
हो । मेरो अभिनय करियरका लागि यो कोसेढुंगा नै हो । यसबाट मैले धेरै अपेक्षा पनि गरेकी छु । आशा छ, राम्रो प्रतिक्रिया पनि आउनेछ ।
पाइपलाइनमा कति चलचित्र छन् ?
केही निर्माता तथा निर्देशकले अफर गर्नुभएको थियो । तर, मैले साउन २१ पछिमात्रै गर्छु भनेकी छु । पहिला मेरो काम हेरौं, अनि थप काम गर्न सजिलो हुन्छ भन्दै आएकी छु । ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ फ्लप भयो भने चलचित्रमा काम नगर्ने हो ?
होइन, त्यस्तो होइन । चलचित्रमै काम गर्ने हो । तर, पहिला मैले गरेको काम हेरेर थप काम गर्यो भने मैले पनि आफ्नो कमजोरी सच्याउने अवसर पाउँछु भने निर्माता तथा निर्देशकलाई पनि मसँग गुनासो गर्ने ठाउँ रहँदैन । यसको मतलब मलाई मेरै कामप्रति विश्वास छैन भन्नेचाहिँ होइन । तर पनि हतार नगरौं भन्ने मात्रै हो । 
नेपाली नायिकाहरूलाई निर्माता–निर्देशकले निकै कम पारिश्रमिक दिन्छन् रे नि !
मैले पनि सुनेकी मात्रै हो । म त नयाँ पनि हुँ । त्यही भएर पनि मलाई यसको अनुभव छैन । तर, त्यस्तो नहोला । हाम्रो बजार सानो छ । बजार सानो भएपछि अपेक्षा गरेजस्तो त नहोला । तर, आशा गरौं विस्तारै राम्रो हुँदै जाला । 
तपाईंको पुस्ताका नायिकाहरूले चलचित्र खेलेर जीवन धान्न सक्लान् ?
आशा गरौं । विस्तारै राम्रो हुँदै गएको छ । केही चलचित्र राम्रो पनि बनेका छन् । राम्रा–राम्रा कलाकार तथा निर्माता निर्देशक पनि आइरहनु भएको छ । समयसँगै नेपाली चलचित्र उद्योग समृद्ध हुँदै जाला, कलाकारहरूले पनि उचित पारिश्रमिक पाउलान् । 
चलेका चलचित्रकर्मीहरू नै विदेश पलायन भइरहेका छन् नि, किन ?
धेरै कारण हुन सक्छन् । त्यसमा आर्थिक सुरक्षा पनि एउटा कारण हुन सक्छ । समय, प्रविधि र विषयवस्तुसँग अपडेट नभएर पनि हुनसक्छ । दर्शकको टेस्टअनुसार नयाँ कुरा दिन सक्नुपर्छ । त्यो नहुनु पनि अर्को कारण हुनसक्छ ।
नेपाली चलचित्रमा अहिले दुई धार छन्,  मूल धार र फरक धार । कुनचाहिँ राम्रो होला ? 
मलाई त पछिल्लो धार नै मन पर्छ । टिपिकल नेपाली भाषा, विषय र प्रस्तुति नै मेरो पनि रोजाइ हो । त्यसैले मूल धारभन्दा पनि फरक धार नै मैले इन्टरटेन गर्ने धार हो । 
अझै पनि सकेसम्म आफ्ना सन्तान, त्यसमा पनि छोरी, बहिनीहरू चलचित्र क्षेत्रमा नलागे हुन्थ्यो भन्छ नेपाली समाज । 
यो सही हो । तर, मेरो सन्दर्भमा भने यो लागू भएन । म सानैदेखि गीत गाउन, नाच्न र अभिनय गर्न रुचाउँथें । परिवारले सपोर्ट नै गर्यो । कक्षा १२ मा अध्ययन गर्दादेखि नै मैले मोडलिङ गर्न सुरु गरें । परिवारको सधैं साथ नै रह्यो । म आफू स्वयं पनि मिडियापर्सन भएकाले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने थाहा छ । परिवारलाई पनि मप्रति विश्वास छ । त्यसैले पनि अवरोध हैन, साथ नै पाइरहेकी छु । 
सुटिङका केही यादगार क्षण छन् कि ?
दुर्गम ठाउँमा सुटिङ थियो । हामीले ओखलढुंगा गएर त्यहीँ बसेर सुटिङ गरेका थियौं । त्यहाँ ट्वाइलेटका लागि झण्डै आधा घण्टा हिँड्नुपर्ने रहेछ । फोनको नेटवर्क पनि नहुने । काठमाडौंमा जस्तो सहज बसाइथिएन । मेरा लागि यो नौलो अनुभव थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro