
एजेन्सी । रिलिजको क्रममा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बलिउड फिल्मले हाल चौतर्फि आलोचनाको सामना गर्नुपरिरहेको छ । यसरी चुनाव नजिकिँदै गर्दा मोदीले नयाँ प्रोपागान्डा सुरु गरेको आरोप लगाउँदै निर्वाचन सम्बन्धी कानुन उल्लंघन भइरहेको भनि प्रमुख विपक्षी पार्टीले विरोध जनाएका हो ।
यस्तोमा कंग्रेसले निर्वाचन आयोग समक्ष दरखास्त बुझाउँदै ‘प्रधानमन्त्री नरेन्द्र मोदी’ नामक फिल्म चुनाव सम्पन्न भइसकेपछि मात्र रिजिल गर्न माग गरेको हो । चुनाव आगामी अप्रिल एघारदेखि सुरु भइ ६ हप्तासम्म चलिरहनेछ । यसरी भारतमा निर्वाचन आयोगको अनुमति बिना चुनावको केही हप्ता अघि राजनीतिक प्रचार गर्ने किसिमका सामग्रीको विज्ञापन गर्न निषेध गरिएको छ ।
उक्त फिल्ममा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबराएले खेल्दैछन् । मोदीको जीवनमा आधारित सो फिल्ममा उनले बाल्यकालमा रेलहरुमा चिया बेचेको देखि किशोरावस्थामा हिमालय गएको र २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रुपमा उल्लेख गरिएको छ । त्यस्तै फिल्मले मोदी गुजरातका मुख्यमन्त्री रहेको समयलाई पनि रुपान्तरण गरेको छ जहाँ भएको ईस्लाम विरोधी हिंसामा सन् २००२ मा अधिकांश मुसलमान गरी एक हजारले ज्यान गुमाएका थिए । त्यसबेला मोदी सो हिंसा रोक्न पर्याप्त प्रयास नगरेकामा आलोचित भएका थिए तर त्यस विरुद्ध गरिएको अनुसन्धानमा सर्वोच्च अदालतले मोदीलाई निर्दोष ठहर गरेको थियो ।
यसबारे कंग्रेसका वरिष्ठ नेता कपिल सीबालले भनेका छन्, “यो फिल्म कुनै कलात्मक प्रस्तुति होइन । यो सरासर राजनीतिक प्रचार हो । किनकि यहाँ फिल्मको उद्देश्य केबल चुनावमा अतिरिक्त गति हासिल गर्नु मात्र रहेको छ ।” आगामी चुनावमा राहुल गान्धीको नेतृत्वमा कंग्रेसले मोदीको भाजपालाई कडा टक्कर दिने अपेक्षा गरिएको छ । तर कांग्रेस बाहेक अन्य पार्टीहरुले पनि फिल्मको रिलिज मिति शंकास्पद रहेको भनि विरोध जनाइरहेका छन् ।
केही समय अगाडि मात्र ४७ जना सरकारी कर्मचारीहरुले यस विषयमा गम्भीर अनुसन्धान गर्न भनि निर्वाचन आयोगलाई खुला पत्र लेखेका हुन् । पत्रमा यस्तो भनिएको छ, “चुनावको मिती घोषणा भएपछि नै यो बायोपिक रिलिज गर्नुले स्वतन्त्र र निस्पक्ष निर्वाचनको नियम उल्लंघन गर्छ गर्दैन भन्नेमा अनुसन्धान गर्न जरुरी छ ।”
दिल्लीको प्रमुख निर्वाचन कार्यालयका अनुसार अहिले उनीहरु फिल्मका निर्देशकहरुको जवाफ कुरिरहेका छन् । फिल्मका निर्माता पक्षले अहिलेसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया नजनाएको सीएनएनले जनाएको छ ।