site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पलेँटीमा आभासको सांगीतिक यात्राको संघर्ष

काठमाडौं । संगीत साधनाका विभिन्न कोणहरुबाट आफूलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभासले अन्तरालपछि फेरि शुक्रबार आफूलाई पलेँटीका श्रोतामाझ प्रस्तुत गरेका छन् । पलेँटी श्रृंखलाकै संयोजक समेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको यो कार्यक्रम नेपालयले करिब डेढ दशक अघि सुरु गरेको हो ।

कार्यक्रममा आभासले १७ वटा गीत प्रस्तुत गरेकामा १३ वटा उनको आफ्नै संगीत र ४ वटा आफ्नै शब्द थिए । आभास कविसमेत हुन् ।

“यसपालीको पलेँटीमा म आफूले हिँडेको सांगीतिक गोरेटोको सम्झना गर्नेछु,” कालिकास्थानस्थित आर शालामा जम्मा भएका श्रोतामाझ कार्यक्रमको प्रारम्भमै आभासले भनेका थिए, “अहिले नेवारी भाषाका महाकवि मानिने गिरिजाप्रसाद जोशी मेरा अंग्रेजीको गुरु हुनुहुन्थ्यो जसको सामिप्यतामै मभित्र साहित्य र संगीतको विरुवा पलाएको थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कक्षा कोठामै गीत गाएर विद्यार्थीहरुलाई रमाइलो बाँड्ने गिरिजा सरले नै आभासलाई उनको छिमेकी गाउँ साँखुमा आयोजना हुने ‘दबु प्याखँ’ सम्म तानेका थिए भने आफ्नो मथिंगलमा सामाजिक चेतनाको बिऊ पनि उनै गुरुले भरिदिएको आभासले सम्झना गरे । 
पञ्चायती राजनीतिका हस्ती जोगमेहर श्रेष्ठको विपरित धारमा उभ्याउने गिरिजा सरकै देनले पछि आफूलाई बामपन्थी राजनीतिसँग पनि नजिक्याएको आभासले सुनाए ।

“त्यसैले मलाई कालान्तरमा राल्फा र संकल्पका संघर्षशील संगीतसँग नजिक्यायो,” आभासले भने, “भूमिगत नेताहरुको आउजाउ हुने नरदेवीको एउटा डेरामा अचानक भेटिएका मञ्जुल र रामेशसँगै मेरो संगीतका साथमा सामाजिक–राजनीतिक यात्रा पनि अघि बढ्न पुग्यो ।”

यो जानकारी दिनुअघि आभासले ‘कार्यशील जिन्दगी’ गाएर सुनाएका थिए । यो मञ्जुलको शब्दमा रामेशले तयारपारेका गीत हो । 

त्यसपछि आभासले ‘संकल्प’ हुँदै ‘आस्था परिवार’ सम्मका सहयात्राको चर्चा गरे । कार्यक्रममा मञ्जुल र रामेशको अगाध मित्रतादेखि उनीहरुको सम्वन्धमा आएको पहिरोसम्मका सन्दर्भ उल्लेख गरिएको थियो ।

कार्यक्रममा त्यसपछि आभासले चन्द्र भण्डारीको शब्द र संगीतमा तयार भएको ‘भुइँ कुहिरो’ गाएर सुनाएका थिए ।

ती दिनहरुमा कम्पोजिटर भइ नेपाली पत्रकारितामा संलग्न हुनु र आफूभित्रका चेतनाले दिएका उकुस मुकुसको चर्चा त्यतिबेला उनले गरे । “कम्पोज र डिस्पोजको इमान्दार लतले नै मलाइ संगीत भित्रको जोड घटाउ सिकायो,” उनले भने, “अर्कोतिर राजनीतिक चेतले नजिक्याएका नेताहरुका बैराग लाग्दा गतिविधिले एक किसिमको विसाद पैदा हुनथाल्यो ।”

यस्तो बेलामा उनका कतिपय साथीहरुले ध्यान गर्नको निम्ति ‘विपश्यना’ जाने सल्लाह दिइरहेका बेला संगीतकार अम्बर गुरुङले उनलाई ‘संगीत नै विपश्यना हो’ भनिदिएछन् । आभास सुरुमा त विपश्यना नै गए र आफूभित्र परिवर्तन महशुस गरे । त्यहाँबाट फर्केपछि ध्यानले दिएको शक्तिबाटै उनले तिनै नेताहरुलाई सम्झेर लेखेको गीत थियो–

‘गोधुँलीमा हिँड्ने एउटा जिउँदो मान्छे

संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ’
त्यसपछिको कालखण्डमा आभास अम्बर गुरुङसँग नजिकिन पुगे ।

“उहाँलाई संगीतसँगै जीवनशैली र चिन्तनको पनि गुरु मान्न थालेँ,” आभासले भने, “त्योबेला राजा महेन्द्रले निम्त्याएको प्रतिभाशाली संगीतकार भइकन पनि गुरुङले संघर्षमय जीवन बाँचेका थिए ।”

त्यो समयमै आभासले रचना गरेको अर्को गीत गाएर सुनाए–

‘आँसुले यो मन बहकिन्छ’

अम्बर गुरुङलाई आभास आफ्नो संगीत सिकाउने गुरु मात्र नभइ जीवनलाई ढाडस दिने अभिभावक पनि मान्छन् ।

कार्यक्रममा आभासले संगीत यात्राका क्रममा भेटिएका थुप्रै सर्जकहरुसँगका साथ र संगतको चर्चा गरेका थिए ।

गायक फत्तेमान साँझ आयोजना गर्ने क्रममा भने उनी नेपालयसँग जोडिन पुगे । “फत्तेमान दाइको कार्यक्रम सकिएको झण्डै दुइ वर्षपछि नेपालयका किरण र गायक अमृतले मलाइ फत्तेमानकै सोलो एल्बम निकाल्न झकझक्याए,” उनले भने, “मैले स्वीकारेँ ।”
त्यतिबेलै कवि विक्रम सुब्बाको रचनामा उनले तयार पारेको अर्को गीत आभासले सुनाए–
‘बतासले तलाउमा टेकिदेला कि’

त्यसैगरि फत्तेमानकै निम्ति कवि तीर्थ श्रेष्ठको रचनामा ‘रातको सपना बाँकी हुन्न’ र बानिरा गिरीको रचनामा ‘हिजोआज सँधै सँधै’ पनि गाएर सुनाएका थिए ।

त्यसपछि आभासले उनको शब्दकारका रुपमा सबैभन्दा घनिष्ठ सम्बन्धको पेटारो अर्थात् कवि श्रवण मुकारुङसँगका सन्दर्भहरु खोलेका थिए । ‘हजुर हजुर ए हजुर’बाट सुरुभएको क्रम ’बाट सुरुभएको क्रम ‘गौंथली झै’, ‘ल्याम्पपोष्ट मुनी’ हुँदै अघिबढेको थियो ।
कार्यक्रमको अन्त्यमा आभासले वालगीतहरुतर्फ आफूलाई मोडेका थिए । ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ’ का सर्जक उनले पछिल्लो समय नयाँ नयाँ ४० वटा वालगीतसमेत तयार पारेको जानकारी दिए । 

केहि वालगीतहरु सुनाएपछि उनले अन्तिम कोशेलीका रुपमा आफ्नै वाल्यकाल प्रभावित पुरानो लोकगीतको प्रारम्भिक लाइनलाई आधार बनाएर उनैले तयार पारेको चर्चित गीत सुनाएका थिए–
‘दुगुर दुगुर ए कुहिरा
तेरो घरमा चोर पस्यो’

कार्यक्रममा कवि तथा गीतकारहरु मञ्जुल, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, विप्लब प्रतीक, भीष्म उप्रेती, रवि प्राञ्जलको पनि उपस्थिति रहेको थियो ।  

कार्यक्रममा आभासलाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए ।

आभाससँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ ।
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १८:१३
प्रतिक्रिया दिनुहोस्