सिंहदरबार । मुलुक हाँक्ने मुख्य थलो। भिभिआइपीको सवारी आवागमनको चाप। बिहान सबेरदेखि राति अबेरसम्म व्यस्त रहने सिंहदरबारको पर्खालसँगै जोडिएको सडक। यति भन्दा सिंहदरबार नदेखेकालाई लाग्दो हो, यो त कल्पना गरिएको सुन्दर, स्वच्छ र व्यवस्थित होला। जहाँ चिल्ला सडक, व्यवस्थित ट्राफिक लाइट, रातको समयमा झलमल्ल बल्ने सडक बत्ती, सुसज्जित पर्खाल, सुरक्षित पैदल यात्रा आदि।
यो त केवल सिंहदरबारको पर्खाल बाहिरको प्रसंग भयो। सिंहदरबारभित्रको कुरा कति कहालीलाग्दो छ भन्ने त पटक-पटक आउने समाचारहरुबाटै स्पष्ट हुन्छ।
पछिल्लो समय सिंहदरबारमा बस्नेहरुले बाहिर रिवन काट्न, शिलान्यास गर्न, कुनै 'विशिष्ट' को जन्म, मृत्यु पास्नी, विवाह, व्रतबन्ध, भोज, पार्टीका विविध कार्यक्रमलगायतका ठाउँहरुमा जाँदा नछुटाउने वाक्य हुन्, 'गाउँ-गाउँमा सिंहदरबार पुर्याइएको छ। अबको यात्रा समृद्धिको हो। समृद्धि तपाईं-हाम्रै पालमा आउँछ।' तत्कालिन माओवादी ०६४ मा पहिलोपटक चुनावमा जाँदा नेपाललाई सिंगापुर बनाउने घोषणा दोहोरिएजस्तै लाग्न थालेको छ आजभोलिका सिंहदरबारमा बस्नेहरुले दिएका भाषण। त्यतिबेला माओवादीले भनेको थियो- 'अबको दशवर्षमा नेपाललाई सिंगापुर बनाउँछौं।'
काम थोरै र गफ धेरै गरेर राजनीतिज्ञ बनेकाहरुका नेपाली नेताका गफ हामीले पत्याउन भने अझै छोडेका छैनौं। गाउँ-गाउँमा सिंहदरबार बनाउने घोषणा गर्ने प्रधानमन्त्री/मन्त्रीलगायतले आफैं बस्ने सिंहदरबार र त्यससँगै जोडिएको सडकको हविगतको बारेमा कहिल्यै चिन्तन गरेका छैनन्।
तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको पहलमा काठमाडौं लोडसेडिङमुक्त भएपछि सहरसँगै उज्यालिएका थिए सहरबासीका अनुहार । दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका जनताले निमेषभर पनि बत्ती ननिभ्दा त अब साँच्चै मुलुक उज्यालो यात्रातिर लाग्यो भनेर धेरैका मन खुशी भए। रातभर अध्याँरोमा रहने काठमाडौंका सडक उज्यालो हुने आशा पलायो।
गृहमन्त्री भएकै बेला जनार्दन शर्माको ठाडो आदेशमा काठमाडौंका सडक उज्यालो पार्ने योजना बन्यो। महानगर र विद्युत प्राधिकरणको पहलमा काठमाडौंका मुख्य सडकहरुमा पुराना म्यानुअल सडक बत्तीहरु विस्थापित गरेर सौर्य सडक बत्ती जडान गर्यो। नयाँ कन्सेप्ट अनुसार बिके ट्रेडर्स एण्ड सप्लायर्सले काठमाडौंमै १२ सय ८५ वटा सोलार प्यानल जडान गर्यो। तर, सिंहदरबारसँगै जोडिएको सडक भने अझै अँध्यारा छन्।
तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि २८ चैत ०७४ मा सिंहदरबार झिलिमिली पार्ने योजनाको उद्घाटन गरियो। चीनको सहयोगमा बनेका सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालेर प्रधानमन्त्री ओली र नेपालका लागि तत्कालिन चिनीयाँ राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरेका थिए। सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरियो र सिंहदरबारभित्र उज्यालो बनाइयो। सिंहदरबारको गेट बाहिर भने अझै पनि प्रधानमन्त्री, मन्त्री वा कुनै विशिष्ठका आँखा पर्न सकेका छैनन्।
सिंहदरबारको गेटभित्र बत्ती बाल्दा समृद्धिको महत्वपूर्ण तय भएको भाषण गर्ने प्रधानमन्त्री सिंहदरबार गेट बाहिरको स्थितिका विषयमा अनभिज्ञ छन् वा थाहा भएर पनि बेवास्ता गरे, त्यो उनैले जानुन्।
रातको समयमा माइतीघरदेखि सिंहदरबारको दक्षिणगेट हुँदै हनुमानस्थानसम्मको सडक पूरै अन्धकार हुन्छ। सडकको अवस्था बेहाल छ। ढल फुटेर निस्किने पानीले सडक पूरै दुर्गन्धित बनाएको हुन्छ। फुटपाथ फुटपाथजस्तो छैन। बिजुलीका तारहरु असरल्ल सडकमै फालिएका छन्। कतिपय त दिउँसै त्यसमा अल्झेर लडेको अनि सरकारलाई दुत्कार्दै उठेर धुलो टक्टक्याएको देखिन्छन्।
सडकमा गुड्ने गाडीको लाइट सिधै आँखामा पर्दा झन् बाटो नै देखिँदैन। मुलुकको सुरक्षाको सबै अभिभारा सिंहदरबारमै केन्द्रित छ। तर, सम्पूर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफैँ अस्तव्यस्त छ। सिंहदरबारको बाटो हिँड्दा मुलुकको प्रमुख प्रशासनिक केन्द्रकै अवस्था यति दुर्गम र पिछडिएको देखेर समृद्धिको सपनाले सिंहदरबारलाई गिज्याइरहेको जस्तो लाग्छ।
सिंहदरबारको दक्षिण गेटबाट मानिसहरु रातको समयमा पनि आउजाउ गरिरहन्छन्। त्यहाँबाट निस्केपछि भने पूरै अन्धकार र उपडखापड फुटपाथको समस्या झेल्नुपर्छ। रातको समयमा पनि मानिसहरुको आवाजजावत भइरहने यो सडकमा किन कसैको ध्यान जान सकेको छैन? यस विषयमा किन सम्बन्धिन निकाय गम्भीर हुन सकेको छैन?
ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, "यसको मुख्य कारण भनेको राजनीतिक खिचातानी नै हो। त्यसमा पनि कमसल निर्माण सामग्रीहरुको प्रयोगले दिगो हुन सक्दैन । फेरि बनाउन झन्झटिलो कानुनी प्रक्रिया भएकोले ढिलाइ हुन्छ। ढिलाइ हुँदा सानो भत्केको वा टुटेको पनि ठूलो भइसकेको हुन्छ।"
उनले थपे, "डिमान्ड अनुसार सप्लाई नहुँदा पनि सडक दुर्घटना बढ्ने गरेका छन्। सडक जम्मा १६००/१७०० किमीमात्र हो। तर, सवारीसाधनको चाप दिनानुदिन बढिरहेको छ। यसको विकल्प भनेको सार्वजनिक सवारी साधनको व्यवस्थापन हो । सडक बनाउँदा पहिले फुटपाथ बनाउने, त्यसपछि साइकल लेन बनाउने र यातायातका लागि सडक बनाउने मान्यता छ तर नेपालमा ठिक उल्टो हुन्छ। जसका कारण व्यवस्थित हुन नसकेको हो ।"
सानासाना कुराले नै ठूला-ठूला परिणाम दिने गर्छन्। जेठा बाको त यो गति कान्छा बाको कुन गति भनेझैँ केन्द्रमा रहेको सिंहदरबारको हविगत त यो छ भने गाउँगाउँमा पुगेका 'सिंहदरबारहरु' को हालत सजिलै अनुमान गर्न सकिन्छ।
काठमाडौंमा काल कुरिरहेका खाल्डाहरुमा परेर कतिपयको ज्यान गएको आङ नै सिरिङ्ङ हुने समाचारहरु पढ्दा पनि सिंहदरबारको ध्यान जान सकेन। आफ्ने दैनिक खर्च जुटाउने र छोराछोरीको भविष्य सुन्दर बनाउने सपना बुनेका कयौंले काठमाडौंका खाल्डामा परेर अकालमा संसार छोड्नु पर्यो। तर पनि समृद्धिको सपना बोकेकाहरुले ती व्यक्तिहरुका सपनाका विषयमा कहिल्यै सोचे की सोचेनन्।
सिंहदरबारको माथि उल्लेख गरिएको सडकमा पनि भोलि त्यही हविगत नहोला भन्न सकिन्न । त्यसकारण समयमा सम्बन्धित पक्षको ध्यान जान अति जरुरी छ।
धुर्मुस-सुन्तलीले मुसहर र गिरानचौरको सिंगो बस्ती ठड्याउँदा पनि भूकम्पले भत्किएको सिंहदरबार ठड्याउन सकेको छैन। सिंहदरबारबाट समृद्धिको बिगुल फुक्दैमा नेपाली सुखी हुन सक्दैनन्। भत्किएको र चर्किएको थोत्रो समृद्धिले केवल नेताहरु मात्रै सुखी हुनसक्छन्, जनता सुखी बनाउन त मौलिक समृद्धि आवश्यक छ। विपद्मा बाँडिएको चाउचाउजस्तो समृद्धि केवल कस्मेटिक मात्र हुन्छ। जुन सुन्दामात्र आनन्द आउँछ।
लियो टोल्सटोयले भनेका छन, "संसार बदल्ने चाहना छ भने सुरु आफैंबाट गर्नुस्।" त्यसकारण मुलुकमा साँच्चैको समृद्धि ल्याउन चाहेको भने सुरु सिंहदरबारको गेटबाटै गर्नुपर्छ।