काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेर जनमानसमाझ गुमेको साख फर्काउने प्रयत्न गरेको छ । दुई तिहाइको दम्भमा सरकार अभिनायकवादतर्फ उन्मुख रहेको निष्कर्षसहित कांग्रेसले देशव्यापी प्रदर्शन गरे पनि उसको भित्री आशय भने आफ्नै गुमेको साख फर्काउने देखिन्छ ।
कांग्रेसले विभिन्न ६ वटा एजेण्डा तय गरेर ७७ वटै जिल्लाका नेता–कार्यकर्ताहरुलाई सडकमा उतारेको थियो । यद्यपि, कांग्रेसले आन्दोलनलाई राष्ट्रिय एजेण्डामा टेकाएर देशव्यापी रुपमा ‘सेट’ भने नगरेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
प्रतिपक्षको भूमिकामै नदेखिएको आरोप खेपिरहेका बेला सरकारबाटै सिर्जना भएका मुद्दाहरुमा टेकेर संगठनलाई ‘रिचार्ज’ गर्न कांग्रेसले सोमबारको प्रदर्शन गरेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ । कांग्रेसले सोमबार गरेको देशव्यापी प्रदर्शनलाई संगठनभित्र शिथिल हुँदै गएको उर्जालाई ‘रिचार्ज’ का लागि गरिएको प्रयास भनेका छन् आचार्यले । ‘डिप्रेसन’ मा रहेको कांग्रेसले सोमबारको देशव्यापी प्रदर्शनबाट केही न केही ‘टनिक’ भेटेको टिप्पणी उनको छ ।
‘‘कांग्रेस प्रतिपक्षको भूमिकामा कतै देखिएन, कछुवाको तालझै सुस्त भयो भन्ने आरोप खेपिरहेको थियो । त्यसै सन्दर्भमा केही मुद्दाहरु पनि अगाडि आए,’’ उनले बाह्रखरीसँग भने, ‘‘तिनै मुद्दालाई आधार बनाएर संगठन रिबिल्डिङ गर्नुपर्छ, रिचार्ज गर्नुपर्छ भन्ने सोचबाट हिजो (सोमबार) को कार्यक्रम भएको हो ।’’
कुनै निश्चित एजेण्डा बोकेर राष्ट्रिय स्तरको पार्टीलाई राष्ट्रिय एजेण्डामा देशव्यापी रुपमा ‘सेट’ गरेर कार्यकर्ताहरुलाई सरकारविरुद्ध सडकमा उतार्न भने कांग्रेस चुकेको विश्लेषक आचार्यको भनाइ छ । उनले कांग्रेसको सरकारविरुद्धको सोमबारको प्रदर्शनलाई कार्यकर्ता परिचालन भन्न सकिने बताए ।
‘‘आफ्नो संगठनभित्र उर्जा भर्नका लागि गरिएको आन्दोलन हो । यसैसँग जोडिएर केही सरकारसम्बन्धी कामकारवाही पनि आएका छन् । मूलतः यसलाई कार्यकर्ता परिचालन पनि भन्न सकिन्छ,’’ आचार्यले भने ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ६ वटा मुद्दाहरु अघि सारेर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले चिकित्सा शिक्षा विधेयक, कांग्रेस नेताका नाममा खुलेका अस्पताल, संवैधानिक परिषद् बैठक, हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध, महँगी, भ्रष्टाचार तथा अनेक जनविरोधी निर्णय र जिल्लास्तरमा रहेका स्थानीय मुद्दालाई सरकारविरुद्ध गरिएको प्रदर्शनको मुख्य एजेण्डा बनाएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सोमबारको देशव्यापी प्रदर्शनले सरकारलाई खबरदारी, नागरिकपंक्तिलाई सुसूचित र पार्टीपंक्तिमा जागरण ल्याएको दाबी गर्छन् । कांग्रेसले सोमबार सरकारविरुद्ध गरेको देशव्यापी प्रदर्शनको सन्देश के हो भन्ने प्रश्नमा उनले बाह्रखरीसँग भने, ‘‘प्रदर्शनले सरकारले गरेका गल्ती कमजोरीहरुका सन्दर्भमा खबरदारी, नागरिकपंक्तिलाई तपाईंहरुले मत दिएको सरकारले ठिक गरिरहेको छैन भन्ने बारेमा सुसूचित गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पार्टीपंक्तिमा जागरण भरेको छ ।’’
राजनीतिक विश्लेषक आचार्य पनि प्रवक्ता शर्माको भनाइमा असहमत भने छैनन् । सोमबारको प्रदर्शनले निर्वाचनमा व्यहोरेको पराजयदेखि पछिल्लो समयमा देखिएको पार्टीभित्रको किचलोबाट निराश कार्यकर्ताहरुमा उर्जा थप्न बल पुर्याएको उनको भनाइ छ ।
‘‘निराश कार्यकर्ताहरुमा केही न केही उर्जा थपेको छ । कांग्रेस सुस्तायो, कछुवा गति भयो भन्नेहरुलाई यसले चलायमान भएर देखाएको छ,’’ आचार्यले भने, ‘‘डिप्रेसनमा थियो कांग्रेस, देशव्यापी प्रदर्शनबाट यसले केही न केही टनिक भेटेको छ । कहिँ न कहिँ उर्जा त दिन्छ नै ।’’
अर्का राजनीतिक विश्लेषक पुरुषोत्तम आचार्य प्रतिपक्षको हैसियतले कांग्रेसका कार्यक्रमहरु सडकमा देखिरहनु जरुरी रहेको बताउँछन् । सरकारका नराम्रा कामको खबरदारी गर्नु प्रतिपक्षको धर्म भएको जिकिर गर्दै उनले सडक र सदनबाट कांग्रेसले आफ्नो धर्म निर्वाह गरिरहेको बताए । कांग्रेसले बेला–बेलामा आम जनताले देख्ने गरी सरकारलाई खबरदारी नगरे प्रतिपक्ष सेलाएको सन्देश जाने र कार्यकर्तामा उत्साह मर्दै जाने उनको भनाइ थियो ।
‘‘प्रतिपक्षको हैसियतले कांग्रेसका कार्यक्रमहरु सडकमा देखिरहनु जरुरी छ । किनभने देखिने कार्यक्रमहरु भएनन् भने प्रतिपक्ष सेलायो भन्ने सन्देश जान्छ र मान्छेहरुमा उत्साह जाग्दैन,’’ उनले भने, ‘‘राम्रा कामहरु सरकारको जिम्मेवारी हो तर सरकारका नराम्रा कामहरुलाई खबरदारी गर्ने जिम्मेवारी प्रतिपक्षको हो । त्यो प्रतिपक्षको भूमिका कांग्रेसले निभाइरहेको छ ।’’
सोमबारको देशव्यापी आन्दोलनबाट कांग्रेसले सरकारबाट गलत भए चुप लागेर बस्न नसकिने सन्देश आमजनतामा पुर्याउने प्रयास पनि गरेको दाहालको भनाइ छ । ‘‘सरकारबाट नराम्रा कुराहरु भइरहेका छन् । भोलिका दिनमा जनताले तिमीहरु पनि देशमा बेथिति हुँदा बोलेनौ नि भन्न सक्थे तर कांग्रेसले त्यसलाई बेलैमा विरोध गरेर अभिलेख खडा गर्न खोजेको छ,’’ उनले भने, ‘‘नराम्रा कामको विरोधमा कांग्रेस उभिन्छ भन्ने राम्ररी सन्देश दिन खोजेको छ ।’’
राजनीतिक विश्लेषक दाहालले सोमबारको प्रदर्शनबाट कांग्रेसले संगठनमा साध लगाउने काम गरेको बताए । ‘‘निराशालाई मेट्नका निमित्त बेला बेलामा साँध लगाइ राख्नुपर्छ । त्यो काम हरेक संगठनको काम हुनु जरुरी छ,’’ उनले भने, ‘‘ठूलो प्रदर्शन गरेर कांग्रेसले आफ्नो उपस्थिति मज्जैले देखाएको छ । निरासा–गुनासा चिर्न र संगठनलाई धारिलो बनाउन यस्ता कार्यक्रम गरिरहनु जरुरी छ ।’’