काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले शनिबार बिहान पोखरा र काठमाडौंमा सरकारी गाडी आगजनी गरेपछि त्यसाको चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जालमा नेविसंघको चर्को आलोचना भएको छ भने नेविसंघभित्रै पनि यो विषयलाई लिएर विभाजन देखिएको छ ।
एक पक्षले गाडी जलाउने आफूहरुको कुनै नीति नभएको बताएको छ अर्को पक्षले आगजनीको जिम्मेवारी लिने बताएको छ । सरकारविरुद्धको आन्दोलनका क्रममा सरकारी गाडी जलाइएको घटनाप्रति चर्को आलोचना भएपछि नेविसंघले सरकारविरुद्ध जारी आन्दोलनमा सरकारी सम्पत्तिमाथि क्षति पुर्याउने आफ्नो कुनै नीति नभएको प्रष्ट्याएको हो ।
अध्यक्ष नैनसिंह महरले सरकार सम्पत्तिमा क्षति पुर्याउने नेविसंघको कुनै नीति नभएको प्रष्टिकरण दिँदै शनिबार प्रदर्शनका क्रममा सरकारी नम्बर प्लेटका सवारी साधनमाथि भएको आगजनीलाई दुःखद भनेका छन् ।
उनले सरकारविरुद्ध आन्दोलनको घोषणा गरिदा सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधनको आवत–जावतमा प्रतिबन्ध लगाउने मात्रै भनिएको जिकिर गरे ।
‘‘हाम्रो गाडी जलाउने कुनै नीति छैन । सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको आवत जावतमा रोक लगाउने भनेका छौं,’’ अध्यक्ष महरले बाह्रखरीसँग भने, ‘‘तर छुटपुछ रुपले २–३ ठाउँमा यस्ता घटनाहरु भएका छन् । त्यसमा दुःख व्यक्त गरेका छौं ।’’
प्रदर्शनका क्रममा हिंसा फैलाउने र गाडी जलाउने काम नेविसंघबाट नहुने जिकिर गर्दै उनले शनिबार भएका घटनामा आफूहरुको कुनै संलग्नता नभएको दाबी गरे । ‘‘हिंसा फैलाउने र गाडी जलाउने काम हामीबाट हुँदैन । हामी आफै गाडी जलाउने कार्यमा संलग्न छैनौं,’’ महरले भने, ‘‘नेविसंघले नै जलाएको हो भन्ने पनि केही छैन् । हामी हिंसा–आतंकमा विश्वाश गर्दैनौं ।’’
नेविसंघले आन्दोलनका क्रममा पूर्वाग्रह राखेर आफ्ना नेता–कार्यकर्तामाथि कारवाही प्रक्रिया अगाडि बढाइए चुप लागेर नबस्ने पनि चेतावनी दिएको छ । ‘‘७७ वटै जिल्लामा हामीलाई ‘टेरर’ बनाउन जुन किसिमले सरकार प्रस्तुत भएको छ, त्यसको रिएक्सन आयो भने पनि गाडी जल्नु दुःखपूर्ण हो,’’ अध्यक्ष महरले भने, ‘‘तर यही विषयलाई लिएर पूर्वाग्रही तरिकाले साथीहरुमाथि मुद्दा गर्ने, कारवाही गर्ने भयो भने हामी त्यसको विरुद्धमा जान्छौं ।’’
नेविसंघले शनिबार प्रदर्शनका क्रममा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा सरकारी गाडीमा आगजनी गरेको थियो ।
यसैबीच कांग्रेसका युवा नेता गगन थापाले सरकारी सवारी साधनमा गरिएको आगजनीलाई निन्दनीय भनेका छन् । उनले ट्विट गर्दै सरकारी सवारी साधन जलाउने कामलाई निरुत्साहित गर्न डटेर लाग्ने पनि बताएका छन् ।
‘‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्न रहेछ,’’ नेता थापाले ट्विटरमा लेखेका छन्, ‘‘किन्तु, परन्तु केही नलगाई मेरो उत्तर : त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्ने छु ।’’
यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आन्दोलनका क्रममा भएको घटनालाई ठूलो बनाउन नहुने धारणा राखे ।
“७ सय साँचो नियन्त्रणमा लिएका थियौं । ४ ठाउँमा सवारी साधनमाथि आगजनी, तोडफोड भयो । तर गाडी जलाउने हाम्रो नीति पनि होइन र नियत पनि छैन । यस्ता घटना निरुत्साहित गर्न हामी लागेकै छौं,” उनले भने, “नियोजित रुपले हामीले गाडी तोडफोड गरेको होइन । तर नेविसंघले गाडी जलाएको विषयमा कसैले धेरै जिज्ञासा राख्नुपर्दैैन, यसको नैतिक जिम्मेवारी नेविसंघले लिन्छ । आन्दोलनका क्रममा भएका छिटपुट घटनालाई यति धेरै ठूलो बनाइरहनुपर्ने विषय होइन । ”
पोखरामा गाडी चालकले आन्दोलनकारीलाई नै पेलेर गाडी लैजान खोजेपछि दुई पक्षबीच भनाभन चरम उत्कर्षमा पुगेपछि गाडीमा आगजनी भएको उनको भनाइ छ ।
“काठमाडौंमा गाडी रोकेकै निहुँमा आन्दोलनकारीमाथि गाडीको औजार प्रहार भयो । त्यसबाट सिर्जना भएको विवादका क्रममा गाडी जल्न पुग्यो,” उनले भने, “बाँके र डोटीमा गाडी रोक्न खोज्दा नमानेपछि आन्दोलनकारीले तोडफोड गरेका हुन् ।”
सरकारी सवारी साधनमाथि आगजनी गर्ने नेता–कार्यकर्तालाई नेविसंघले कारवाही गर्छ त भन्ने प्रश्नमा महामन्त्री काफ्लेले प्रतिप्रश्न गरे, ‘‘आन्दोलनका क्रममा गाडी रोक्न खोज्ने साथीलाई गाडीले हानेर घाइते हुनुभएको छ, उहाँहरुको उपचार राज्यले गर्छ ?’’