site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माघ २ पछि के हुन्छ नेविसंघ ? महाधिवेशन अझै अनिश्चित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को दोस्रो पटक थप गरिएको समयावधि समापनको संघारमा पुगेको छ । समयावधि सकिनै लाग्दा पनि पार्टीभित्र वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने कि तदर्थ समिति गठन गर्ने भन्ने अन्योल देखिएको छ । 

महाधिवेशन सम्पन्न गर्न गत मंसिर २ गते थप गरिएको २ महिने म्यादभित्रै महाधिवेशन सम्पन्न हुने सम्भावना टरिसकेका कारण नेविसंघ आगामी माघ २ गते स्वतः विघटन हुने निश्चितप्राय छ । म्याद सकिन एक सातामात्रै बाँकी रहँदा पनि कांग्रेसले नेविसंघका बारेमा चालिने कदमका बारेमा कुनै छलफलसम्म गरेको छैन ।   

नेविसंघ निर्देशन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले नेविसंघको बारेमा पार्टीमा कुनै छलफल नभएको प्रतिक्रिया दिएका छन् । ‘‘यो बारेमा नेताहरुसँग केही कुरा भएको छैन । सभापतिज्यूसँग सल्लाह हुन्छ । अहिले केही टुंगिएको छैन,’’ उनले बाह्रखरीसँग भने । 

सहमहामन्त्री महतले महाधिवेशन सम्पन्न गर्नका लागि नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद थप्ने अथवा तदर्थ समिति गठन गर्ने भन्नेबारेमा स्पष्ट प्रतिक्रिया दिन मानेनन् । ‘‘नेविसंघका बारेमा के गर्ने भन्ने बारेमा त्योभन्दा (माघ–२) अगाडि नै के गर्ने भन्ने बारेमा निर्णय गर्छौं,’’ उनको प्रतिक्रिया थियो ।  

महत नेतृत्वको निर्देशन समितिले अध्यक्ष महरको दुई वर्षीय कार्यकाल भदौ २ गते सकिएलगत्तै महाधिवेशन प्रयोजनका लागि तीन महिना थप गरेको थियो । महाधिवेशन सम्पन्न गर्न म्याद थप गरिएपछि नेविसंघले कात्तिक १६ देखि १८ सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको थियो ।  

पार्टीले गठन गरेको निर्देशन समितिको परामर्शमा महाधिवेशनका लागि मिति तोकिए पनि नेविसंघले पहिलो पटक थप गरिएको तीन महिनाभित्र केही माविबाहेक कतैपनि अधिवेशन गर्न सकेको थिएन । पहिलो पटक थप गरिएको समयावधिमा महाधिवेशन सम्पन्न हुने अवस्था नदेखिएपछि पार्टीले नेविसंघको कार्यकाल फेरि २ महिना थपेको थियो । 

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ । दुई जिल्लामा अधिवेशनको उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । 

महोत्तरी र दैलेखमा अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयन हुन नसकेको हो । संस्थापन पक्षीय र संस्थापन इतर समूहबीच देखिएको विवादले ती जिल्लाहरुमा नेतृत्व चयन हुन नसकेको स्रोतले जनाएको छ । 

यि हुन् अधिवेशन सम्पन्न भएका जिल्ला
जिल्ला              निर्वाचित अध्यक्ष              

झापा               राजेन्द्र उप्रेती                 
पाँचथर              तुलसी आचार्य                                     
ताप्लेजुङ             विश्व नाल्बो 
भोजपुर             टार्जन राई
गोरखा               सुवाश अधिकारी 
अर्घाखाँची            भरत भट्टराई 
प्युठान               एनपी मगर 
पूर्वी रुकुम            सुमन बुढामगर 
जाजरकोट            ललित बस्नेत
हुम्ला                 धर्म जैशी
डोल्पा                कुशल शाही
मुस्ताङ               असिम शेरचन
दार्चुला               रमेश भट्ट
बैतडी               कपिल केसी 

नेविसंघमा पनि संस्थापन पक्षको पकड खस्किँदै 
पछिल्लो समय अन्य भ्रातृ संगठनहरुमा पकड गुमाउँदै गएको कांग्रेसको संस्थापन पक्षले नेविसंघमा पनि कमजोर अवस्थामा देखिएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएका १४ जिल्लाहरुमा संस्थापन पक्षको पकड कमजोर अवस्थामा देखिएको हो । 

अधिवेशन सम्पन्न भएका जिल्लामध्ये ९ जिल्लामा संस्थापन इतर समूहसँग निकट नेतृत्व आएको छ भने ५ जिल्लामा मात्रै संस्थापन पक्षले नेतृत्व लिएको छ । अधिवेशन सम्पन्न भएका मध्ये ताप्लेजुङ, जाजरकोट, हुम्ला, डोल्पा र बैतडीमा संस्थापन पक्षले नेतृत्व लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro