काठमाडौं । डिल्लीबजारस्थित सदरखोर कारागारबाट प्रहरीको भ्यानमा सिंहदरबार पुगेका रेशम चौधरीलाई सांसदको शपथ ग्रहण गराएपछि फेरि सदरखोर जेलमै लगिएको छ । बिहीबार संघीय संसद सचिवालयमा सभामुख कृष्णबहादुर महराबाट सांसद पदको शपथ खाएका चौधरीलाई प्रहरीले फेरि सदरखोर लगिएको हो ।
कैलाली जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सांसद पदको सपथ खाए पनि उनको पद स्वतः निलम्बन भए पछि उनी कारागार मै बस्न बाध्य भएका हुन् । प्रतिनिधिसभा नियमावली २४४ को उपनियम ४ मा फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म कैदमा बसेका व्यक्तिको सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ ।
त्यस्तै प्रतिनिधिसभा नियमावली २४४ को उपनियम ३ मा नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ । चौधरीमाथि टीकापुर घटनाको मुख्य योजनाकार भएको दाबीसहितको मुद्दा अदालतमा विचाराधीन छ । उक्त घटनामा नेपाल प्रहरीका एसएसपीसहित आठ जनाको हत्या भएको थियो ।
घटनाका मुख्य आरोपी चौधरीले प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकै अवस्थामा वारेशमार्फत् प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय जनता पार्टीका तर्फबाट उमेदवारी दिएका थिए । वारेशमार्फत् उमेदवारी दिएर चुनाव लडेका चौधरी भारी मतान्तरले विजयी भएका थिए ।
उनले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन नेकपा एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेका थिए ।
चुनावमा अप्रत्याशित नतिजा आएपछि चौधरीले गत फागुन १४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । फागुन २० गते प्रतिनिधिसभाका सदस्यहरुको सपथग्रहण र २१ गतेदेखि अधिवेशन आह्वान भएकाले आफूले अदालतसामू आत्मसमर्पण गरेको बताएका थिए ।
प्रहरीको फरार सूचीमा रहेको अवस्थामा वारेसमार्फत उमेदवारी दर्ता गरेर जितेका चौधरीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उनले श्रीमतीलाई वारेसनामा दिएर प्रमाणपत्र लिन अनेक प्रयत्न गरेका थिए ।
चौधरीलाई आत्मसमर्पण गरेकै दिन जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । पुर्पक्षका लागि कैलाली कारागारको थुनामा रहेकै अवस्थामा विरामी भए पछि उनलाई फागुन २६ गते सेती अञ्चल अस्पतालले काठमाडौं रिफर गरेको थियो । वीर अस्पतालमा उपचार पछि उनलाई गत चैत २९ गते सदरखोर कारागारमा लगिएको थियो ।
बिहीबार संसद सचिवालयमा पद तथा गोपनियताको शपथ खाए पछि सञ्चारकर्मीसँगको कुराकानीमा चौधरीले यसो भनेका थिए–
भर्खरैमात्र सभामुखले शपथ गराउनुभयो । यो लोगो लगाएको छु (लोगो देखाउँदै) । यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई शपथ खुवाएर कारागार पठाउन मिल्छ कि मिल्दैन ? यो लोगोले बोल्छ । यो लोगोको सम्मान के हो ? यो लोगोले हामी सम्पूर्ण प्रतिनिधिसभा र राष्ट्रिय सभामा सहभागी हुने सदस्यहरुको कतिको इज्जत राख्छ ? यो राज्यले बोल्ला, संसदले बोल्ला ।
नेपाली कानुनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षमा राख्न पाइँदैन । हामी साढे ३ वर्षदेखि जेलमा छौं । हाम्रा दर्जनौं साथीहरु निर्वासनमा छन् । न्यायालयले हामीलाई न्याय दिनुपर्छ । छिटोभन्दा छिटो टुंगो लगाउनुपर्छ । जेलमा रहेका साथीहरुलाई झुटा अभियोग लगाइएको छ । शान्तिबिना समृद्धि आउँदैन । समृद्धिका लागि जनतालाई न्याय दिनुपर्छ ।
हामी त्यही न्यायको पर्खाइमा छौं । वैमनश्यता चाहँदैनौं, द्वन्द्व चाहँदैनौं । प्रवासमा बसेर पकौडा, जलेबी खाएर भोक मेटाउनुभन्दा आफ्नै देशमा दालभात खान स्वदेश फर्किएँ र जेलमा बन्द भएँ । सर्वसाधारण कैदीको जस्तै जीवनयापन गरिराखेको छु । कुनै सुखसुविधा लिएको छैन । अहिले पनि यो माला र खादा लगाएर जेल जानुपर्छ होला । मात्रै एउटा प्रश्न छ– मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ ?