site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बर्सेनि करोडौं घाटामा, सबैभन्दा बढी खर्च चुनावमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गएका तीन आर्थिक वर्ष पूर्णरूपले घाटामा गएको देखिएको छ । गत आर्थिक वर्ष २०७४–०७५ मा मात्रै कांग्रेस करिब २ करोड रुपैयाँ घाटामा गएको छ ।
राजधानीमा चलिरहेको कांग्रेस महासमिति बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको पछिल्ला तीन आर्थिक वर्षको वित्तीय अवस्था समेटेर तयार पारेको प्रतिवेदनअनुसार गएको आर्थिक वर्ष कांग्रेसले १ करोड ८४ लाख ९१ हजार ६ सय ८३ रुपैयाँ घाटा बेहोरेको छ । उक्त अवधिमा ५ करोड ५ लाख २९ हजार ६ सय ८६ रुपैयाँ आम्दानी गरेको कांग्रेसले ६ करोड ९० लाख २१ हजार ३ सय ६९ रुपैयाँ खर्च गरेको थियो । 
“हामीले पार्टीको वित्तीय स्रोत व्यवस्थापनलाई नियमित गर्ने सन्दर्भमा विगत लामो समयदेखि व्यवस्थित योजना बनाउन र लागू गर्न सकेका छैनौं,” कोषाध्यक्ष यादवले प्रतिवेदनमा भनेकी छन्, “पार्टीको आम्दानीका स्थायी स्रोत के–के हुन सक्छन्, आकस्मिक रूपमा भइपरी आउने परिस्थितिका लागि के–कस्तो व्यवस्था गर्न सकिन्छ भन्ने सन्दर्भमा बृहत् छलफल गरी यो महासमिति बैठकले आवश्यक निर्णय लिने आशा छ ।”
कांग्रेसले तेह्रौं महाधिवेशनपछि आर्थिक वर्ष २०७२–०७३, २०७३–०७४ र २०७४–०७५ को लेखापरीक्षण सम्पन्न गरेको छ । तीन आर्थिक वर्षको वित्तीय विवरणअनुसार २०७४–०७५ मा दस्तुर तथा नवीकरणबाट १ करोड ९३ लाख ७० हजार ९ सय ५५, चन्दा तथा सहयोगबाट २ करोड ९३ लाख ३४ हजार १ सय ४, पब्लिकेशन बिक्रीबाट २ हजार ४ सय ८० तथा अन्य स्रोतबाट १८ लाख २२ हजार १ सय ४७ रुपैयाँ आम्दानी भएको थियो । 
तर, आम्दानीभन्दा करिब २ करोड रुपैयाँ बढी सकेको कांग्रेसले गत आर्थिक वर्ष चुनावमा ४ करोड ८६ लाख ६६ हजार १ सय १६, कर्मचारीतर्फ १ करोड ११ लाख ७१ हजार ३ सय १७ र साधारण तथा प्रशासनिकतर्फ ५२ लाख ४५ हजार ५ सय ४ रुपैयाँ खर्च गरेको थियो । 
यसअघि आर्थिक वर्ष २०७३–०७४ मा कूल ३ करोड ७ लाख ६९ हजार ७ सय ८ रुपैयाँ आम्दानी गरेको कांग्रेसले ५ करोड ८ लाख ५० हजार ५ सय ८८ खर्च गरी २ करोड ८० हजार ८ सय ८० रुपैयाँ घाटा बेहोरेको थियो । 
त्यसैगरी आर्थिक वर्ष २०७२–०७३ मा कूल ५ करोड ८८ लाख ३९ हजार ८२ रुपैयाँ आम्दानी गरेको उसले ८ करोड ३७ लाख ३८ हजार ८ सय ९ खर्च गरी २ करोड ४८ लाख ९९ हजार ७ सय २८ रुपैयाँ घाटा खाएको थियो ।
“हामीले पार्टीको कोष तत्काल आवश्यकताका आधारमा मात्र संकलन गर्ने गरेको तथ्य कसैबाट छिपेको छैन र पार्टीका गतिविधि सामान्य आर्थिक अपर्याप्तताका कारण प्रभावित हुनु हुँदैन,” कोषाध्यक्षको प्रतिवेदनमा भनिएको छ, “सत्तामा रहँदा वा नरहँदा जस्तोसुकै अवस्थामा पनि पार्टी संयन्त्र प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ ।”
कांग्रेस आय–व्यय विवरणअनुसार आर्थिक वर्ष २०७४–०७५ मा पार्टीले २ करोड ९३ लाख ३४ हजार १ सय ४, २०७३–०७४ मा १ करोड ९० लाख २१ हजार ७ सय १९ र २०७२–०७३ मा ३ करोड २७ लाख ८८ हजार ७ सय ६० रुपैयाँ चन्दा तथा सहयोग स्वरूप प्राप्त गरेको थियो । 
त्यसैगरी गत आर्थिक वर्ष २ करोड ७५ लाख अल्पकालीन लगानी गरेको कांग्रेसले अघिल्लो आर्थिक वर्ष भने ४ करोड ७५ लाख रुपैयाँ अल्पकालीन लगानी गरेको थियो । गत वर्ष १ करोड ९० लाख १२ हजार ७ सय नगद तथा बैंक मौज्दात थियो भने अघिल्लो वर्ष १ करोड ६० लाख ५७ हजार २ सय ७ रुपैयाँ थियो ।
चालू आर्थिक वर्ष २०७५–०७६ को पहिलो चौमासिकमा पनि कांग्रेस घाटामा गएको छ । गत चार महिनामा कांग्रेसले १४ लाख ६७ हजार ९९ रुपैयाँ घाटा खाएको हो । उक्त अवधिमा दस्तुर तथा नवीकरणबाट ५८ लाख १९ हजार ३ सय २५, पब्लिकेशन बिक्रीबाट ६ हजार ८ सय ७० र अन्यबाट २ लाख ३७ हजार ४ सय ३६ गरी कूल ६० लाख ६३ हजार ६ सय ३१ रुपैयाँ आम्दानी गरेको कांग्रेसले ७५ लाख ३० हजार ७ सय ३१ रुपैयाँ खर्च गरेको थियो । गएको कात्तिकसम्ममा बैंक मुद्दतीतर्फको मौज्दात २ करोड २० लाख र अन्य बैंक खाताको मौज्दात १ करोड ८५ लाख १२ हजार १ सय ६७ रुपैयाँ रहेको छ ।
“हाल भइरहेको क्रियाशील सदस्यता शुल्क समयमै संकलन गर्न र वार्षिक रूपमा नवीकरण गरी यस्तो शुल्क संकलन गर्न जरुरी छ,” कोषाध्यक्ष यादवले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, “पार्टीको संघीय तथा प्रदेश सभा संसदीय दलका सदस्यबाट उठाइने लेबी नियमित रूपले उठाउने र योगदानको अनुपातअनुसारको रकम समयमै केन्द्रमा प्राप्त गर्ने व्यवस्था गरी नियमित अनुगमन गर्ने योजना छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro