site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एयर एसियाले बुझाएका १० थान चेक विमानस्थलबाटै गायब
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियाको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा बुझाएका १० थान बैंक चेक गायब गरिएको खुलासा भएको छ ।

क्वालालम्पुर–काठमाडौं रुटमा उडान सञ्चालन गरिरहेका बेलामा एयर एसिया एक्सले विमानस्थल कार्यालयलाई बुझाएको विभिन्न परिमाणका रकम उल्लेख भएका १० थान चेक कार्यालयबाटै गायब गराइएको तथ्य भेटिएपछि विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘गम्भीर छानबिन’ सुरु गरेको छ ।

“एयर एसिया एक्सले बुझाएका १० थान चेक त्रिभुवन विमानस्थलका कर्मचारीले बुझे र रसिद पनि दिए । तर, ती सबै चेक बैंकमा जम्मा गर्नुअघि नै गायब पारिएको तथ्य फेला पारेका छौं,” मुलुकको उड्डयन क्षेत्रको नियामक निकायसमेत रहेको उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले शुक्रबार बाह्रखरीसँग भने, “यो गम्भीर अपराध हो र यसमा संलग्न रहेका र मिलेमतो गर्ने सबै कर्मचारीलाई फौजदारी अभियोग लाग्न सक्छ । त्यस्ता कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिन सक्ने गरी सेवाबाट बर्खासीसम्मको कारबाही हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सम्बद्ध स्रोतका अनुसार एयर एसिया एक्सले बुझाएका ती १० थान चेकको सबै रकम जोड्दा करिब ७ करोड ५० लाख रुपैयाँबराबर हुन आउँछ । एयर एसिया एक्सको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएका ती चेक भने हालसम्म साटिएका छैनन् । जुन बैंक खाताको चेक बुझाइएको थियो, त्यो खातामा ‘एक रुपैयाँ’ पनि मौज्दात थिएन । इन्सेन्टिभ्सका सञ्चालक हरिमान लामा हुन् ।

ती चेक बुझाउँदाको समयमा त्रिभुवन विमानस्थलको नेतृत्व (महाप्रबन्धक) देवानन्द उपाध्यायले सम्हालेका थिए । विमानस्थलमा साढे २ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता उठाउन ‘असफल’ भएपछि उपाध्याय विमानस्थलबाट प्राधिकरण मुख्यालयमा तानिएका थिए । हाल उनी प्राधिकरणमा तेस्रो वरीयताका उपमहानिर्देशक छन् ।

Global Ime bank

‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्न सक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।

लामो समयदेखि विमानस्थलका तत्कालीन महाप्रबन्धक उपाध्याय र उनको ‘टिम’ ले ठूलो परिमाणको बक्यौता उठाउन ताकेता नगरेपछि उड्डयन प्राधिकरणले उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । 

“कुन–कुन कर्मचारी र कसको मिलेमतोमा चेक गायब पारिएको हो, त्यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं । एयर एसिया एक्सको जीएसए इन्सेन्टिभ्स टुर्सले चेक बुझाएको थियो र अहिले एयर एसिया एक्सले इन्सेन्टिभ्सलाई पनि जीएसएबाट हटाइसकेको छ,” प्राधिकरण महानिर्देशक गौतमले भने, “अनुसन्धान थप पेचिलो बनेको छ ।”

विमानस्थल व्यवस्थापनले धेरै पटक र लामो समय ताकेता गर्दा पनि एयर एसिया एक्सले २१ करोड रुपैयाँबराबरको बक्यौता भुक्तानी नगरी गत असोज २७ गतेबाट नेपाल उडान बन्द गरेको थियो ।

एयर एसिया एक्सले नेपाल छाडेको दिनसम्म सबैखाले सेवा शुल्क र त्यसमा लागेको विलम्ब शुल्क गरी २१ करोड रुपैयाँ भुक्तान गर्न बाँकी थियो । त्यसबाहेक उसले नेपाल पर्यटन बोर्डलाई पनि ७ करोड ६६ लाख रुपैयाँ तिर्न बाँकी छ । यो रकम भने यहाँ आएका विदेशी पर्यटकले विमानस्थलबाट नेपाल छोड्दा प्रतिव्यक्ति १ हजार १ सय ५० रुपैयाँका दरले उठाइएको हो । 

विमानस्थल व्यवस्थापनले २१ करोड रुपैयाँबराबरको बक्यौता उठाउन एयर एसिया एक्सको क्वालालम्पुरस्थित मुख्यालयमा पत्राचार गरेको भए पनि हालसम्म जवाफ आएको छैन । विमानस्थलले गत भदौमा उसलाई एक साताभित्र कूल बक्यौताको कम्तिमा १० करोड रुपैयाँ चुक्ता नगरे नेपाल आउने उसको जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि उसले ७ करोड १४ लाख रुपैयाँ चुक्ता गरे पनि बाँकी २१ करोड नतिरी नेपाल छाडेको थियो ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार काठमाडौंस्थित मलेसियाली दूतावासले एयर एसियाको बक्यौता उठाउन आफूले मध्यस्थता गर्ने भन्दै पत्राचार गरेपछि नेपाल छोड्न अनुमति दिइएको थियो । नेपाल छाड्नु एक दिनअघि नै उसको जहाजलाई डेढ घन्टासम्म यहीँ रोकेर राखिएको भए पनि मलेसियास्थित उसको मुख्यालय हुँदै यहाँको दूतावाससम्म घटनाबारे जानकारी पुगेपछि दूतावासले पत्र पठाएका कारण फिर्ता जान अनुमति दिइएको थियो ।

 

केही दिनअघि मलेसियाली दूतावासका उपनियोग प्रमुखलाई भेटेर एयर एसिया एक्सको बक्यौताबारे छलफल गरेको र उनले यसमा सक्दो सहयोग गर्ने वचन दिएको क्षेत्रीले जानकारी दिए ।

विमानस्थलका अनुसार एयर एसियाले करिब ४४ करोड रुपैयाँबराबरको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको थियो । उसले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि ठूलो परिमाणमा चुक्ता गर्न बाँकी छ । 

बक्यौतासम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले २०७४ मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी यहाँ उडान गरिरहेका सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए ।

त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाएको थियो । उसको नेपालस्थित जीएसए इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । जति ताकेता गर्दा पनि अटेर गरेको एयर एसिया एक्सले २०७४ फागुनदेखि २०७५ साउनभित्र किस्ता–किस्तामा करिब २३ करोड रुपैयाँ चुक्ता गरेको थियो । 

लामो समयदेखि ठूलो परिमाणबराबरको बक्यौता चुक्ता गर्न बारम्बार ताकेता गर्दै आएको त्रिभुवन विमानस्थल व्यवस्थापनले केही सीप नलागेपछि उसका जहाज नै ग्राउन्डेड (भूमिस्थ) गर्ने चेतावनी दिएको थियो । 

एयर एसिया एक्सले गत भदौ तेस्रो साता सार्वजनिक सूचना जारी गरी असोज २७ गतेबाट नेपाल उडान बन्द गर्ने घोषणा गरेको थियो । तर, त्यसअघि त्रिभुवन विमानस्थललाई सम्पूर्ण बक्यौता चुक्ता गर्ने जानकारी दिए पनि अन्तिममा ‘धोका’ दिएको थियो । 

महाप्रबन्धक क्षेत्रीका अनुसार बक्यौता चुक्ता गर्ने अवधि केही दिन बढाइदिन भन्दै मलेसियास्थित एयर एसियाको मुख्यालय र काठमाडौंस्थित कार्यालयका अधिकारीहरूले आग्रह गरेका थिए । त्यसपछि एक साताभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता गर्नैपर्ने र नगरे जहाज ग्राउन्डेड गर्ने चेतावनी दिइएको थियो ।

गत असोज २७ बाट लागू हुने गरी नेपाल उडान बन्द गर्ने औपचारिक पत्र एयर एसिया एक्सबाट प्राप्त भएपछि विमानस्थल कार्यालयले ऊसँग उठाउनुपर्ने सबै रकमको हिसाबकिताब निकालेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय