site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘लञ्च मिटिङ’ मा युवा नेताहरुको आक्रोश– कुरा होइन, अब टुंगो लाग्ने काम गरौं 

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको घरमा सम्पन्न ‘लञ्च मिटिङ’ लाई युवा नेताहरुले आक्रोस पोखेका छन् । मंगलबार नेतृ कोइरालाको मण्डिखाटारस्थित निवासमा सम्पन्न लञ्च मिटिङ’ मा युवा नेताहरुले संस्थापन इतर समूहका नेताहरु सामु आक्रोस पोखेका थिए ।

‘‘छलफल सुरु गर्दै पार्टीको अवस्था कमजोर भएको र एक आपसमा छलफलै नहुने अवस्था आयो । साथीहरुका बीचमा कुरा नै नहुने अवस्था भयो । सिनियर नेताहरु एकातिर छलफल गर्ने, युवाहरु छुट्टै छलफल गर्न थाले । त्यही भएर एकै ठाउामा बसेर कुराकानी गरौं भनेर लञ्च मिटिङ बोलाइएको रहेछ,’’ लञ्च मिटिङमा सहभागी युवा नेता गगन थापाले बाह्रखरीसँग भने, ‘‘हामीहरुका लागि पनि त्यो नेताहरुसँग आक्रोस पोख्ने मञ्च भयो ।’’  

छलफलका क्रममा युवा नेताहरुले पार्टीका नेताहरुलाई सभापति देउवाविरुद्धको आन्तरिक लडाईँलाई टुंगोमा पुर्याउने गरि लड्नुपर्ने अन्यथा मिलेर अगाडि बढ्नुपर्ने सुझाव समेत दिएका छन् । सभापति देउवाविरुद्ध अहिलेको जस्तो ‘लुते’ कुराहरु गरेर पार्टीलाई सुधार्न नसकिने युवा नेताहरुको भनाइ थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘महासमितिको सेरोफेरोमा सभापतिसँग एजेण्डाविहीन लड्न पर्छ भन्ने होइन । पार्टीको सुधारका जुन एजेण्डा छन्, ति एजेण्डाहरु तरंग ल्याउने विषयमात्रै हुनु भएन । हल्ला गर्ने विषय मात्रै हुनुभएन,’’ नेता थापाले लञ्च मिटिङमा युवा नेताहरुले राखेको कुराका बारेमा जानकारी दिँदै भने, ‘‘पार्टी सुधारका निम्ति सभापतिसँग छलफल गरौं, मिलेर जाऔं भनौं । होइन सभापतिसँग कुरो मिल्दै मिल्दैन भने प्रतिवाद गरौं, लडौं र लडेको कुरालाई टुंगोमा पुर्याउँ । यो खाली लुते कुरा नगरौं ।’’ 

युवा नेताहरुले लञ्च मिटिङमा आफूहरुले उठाएका मुद्दामा ‘सिनियर’ नेताहरुबाट सहयोग नभएको पनि गुनासो गरेका छन् । ‘‘हामीले १–२ विषय उठायौं । हामी त लड्यौं नि । संसदीय समिति भंग गरायौं । अरु विषयमा पनि हामी लड्छौं । हामीलाई साथै दिँदैनन् कसैले,’’ संस्थापन इतर समूहकै नेताहरुबाट आफूहरुलाई असहयोग भइरहेको नेता थापाले गुनासो गरे । 

मंगलबारको लञ्च मिटिङमा कृष्णप्रसाद सिटौला, अर्जुननरसिँह केसी, डा. रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, जीवन परियार र कमला पन्त उपस्थित थिए ।

पार्टी सभापति देउवा पार्टीभित्र अधिनायवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको कांग्रेसको संस्थापन इतर समूहले मंगलबार लञ्च मिटिङमा युवा नेताहरुलाई पनि बोलाइएको थियो । आगामी महाधिवेशनबाट सभापति देउवालाई कुनै पनि हालतमा रोक्ने भन्दै तयारी गरिरहेका उनीहरु मंगलबार बिहान मण्डिखाटारस्थित नेतृ कोइरालाको निवासमा लञ्च मिटिङको निहुँ बनाएर भेला भएका थिए । 

यसअघि कात्तिक २६ गते मण्डिखाटारमै बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवा पार्टीभित्र अधिनायवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको थियो । उक्त बैठकमा बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिँह, अर्जुननरसिँह केसी, डा. रामशरण महत र नेतृ कोइराला सहभागी थिए । 

तस्बिर निरञ्जन थापाको फेसबुकबाट 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  २२:५४
प्रतिक्रिया दिनुहोस्