site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा क्रियाशील सदस्यता हटाएपछि आन्तरिक मताधिकार कस्तो हुन्छ ? 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले पार्टीलाई पूर्ण ‘मासबेस्ड’ बनाउन क्रियाशील सदस्यता हटाउने सहमति जुटाएपनि सदस्यको ‘भोटिङ राईट्स’ (मताधिकार) बारेमा नेताहरु विभक्त छन् । मस्यौदा समितिले विद्यमान क्रियाशील सदस्यता र साधारण सदस्यता हटाएर विधानमा एकै प्रकारको सदस्यता वितरण गर्ने सहमति जुटाएपनि समितिभित्रकै सदस्यहरु त्यस्ता सदस्यहरुको ‘भोटिङ राईट्स’ लाई लिएर एकमत छैनन् । 

‘‘हामीले कांग्रेसलाई पूर्ण मासबेस्ड पार्टी बनाउन क्रियाशील सदस्य, साधारण सदस्य वा अर्को प्रकारको सदस्य नभएर अब पार्टीको सदस्यता लिने हरेक व्यक्ति नेपाली कांग्रेसको सदस्य हुने गरी मस्यौदा तयार पारेका छौं । तर सबै सदस्यहरुसँग मताधिकार हुने कि नहुने भन्ने बारेमा फरक–फरक धारणा छ,’’ विधान संशोधन मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले भने । 

युवा नेता पौडेल कांग्रेसका सबै सदस्यलाई ‘भोटिङ राईट्स’ दिएर सबैलाई समान हैसियतको सदस्य बनाउनुपर्ने पक्षमा उभिएका छन् । ‘नेपाली कांग्रेसको सदस्य’ ले नै अरु आफूभन्दा क्रियाशील सदस्यहरुलाई निर्वाचित गर्न पाउनुपर्नेमा उनको जोड छ ।   
‘‘केहीले सबैलाई समान अधिकार दिनु हुँदैन भनेका छन् । सदस्यता दिइसकेपछि उसलाई विश्वास गर्नुपर्दछ, त्यसको हैसियत समान हुनुपर्दछ भन्ने मेरो व्यक्तिगत धारणा हो,’’ उनले बाह्रखरीसँग भने ।   

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर विधान संशोधन मस्यौदा समितिकै अर्का सदस्य दिलेन्द्रप्रसाद बडूले कांग्रेसले अब सदस्यता लिन चाहने जो सुकैलाई पनि सदस्यता दिएपनि यसरी सदस्यता लिने व्यक्ति पार्टीको आन्तरिक संरचनाको निर्वाचनमा सहभागी हुन नपाउने बताउँछन् । उनका अनुसार विधानको मस्यौदामा पार्टीको संगठन निर्माणका क्रममा हुने निर्वाचनहरुमा मतदाता बन्नका लागि केही शर्तहरु पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । 

‘‘पार्टीको आन्तरिक निर्वाचनमा मतदाता बनाउनका निमित्त हामीले केही मापदण्ड र प्रावधानहरुलाई पारदर्शी ढंगले मूल्यांकन गरेर मतदाता बनाउने चरण राखेका छौं,’’ नेता बडूले भने । 

उनका अनुसार पार्टीका हरेक संरचनाहरुले वार्षिक क्यालेन्डरमा उल्लेख गरेको प्रशिक्षण, गोष्ठी, सेमिनार, बृक्षारोपण, आन्दोलन लगायतका कार्यक्रमहरुमध्ये कम्तिमा पनि ८० प्रतिशत कार्यक्रममा सहभागी हुने पार्टीको सदस्यलाई मात्रै ‘भोटिङ राइट्स’ रहने छ । 

‘‘एक वर्षभित्र प्रत्येक तहमा पार्टीका संरचनाहरुले वार्षिक क्यालेन्डर तयार गर्छन् । जसमा प्रशिक्षण, गोष्ठी, सेमिनार, वृक्षारोपण, आन्दोलनका कार्यक्रमहरु हुन्छन् । ति कार्यक्रमहरुमा कति सहभागी भएका छन् त । त्यसको परीक्षण गरेर कम्तिमा ८० प्रतिशत कार्यक्रमहरुमा सहभागी भएका व्यक्तिहरु एक वर्षपछि सदस्यता नविकरण गर्छन् र ति नविकरण भएका त्यस्ता व्यक्तिहरु मात्रै पार्टीको आन्तरिक निर्वाचनमा मतदाता  बन्न सक्छन्,’’ कांग्रेसका अब बन्ने सदस्यहरुको मताधिकारका बारेमा स्पष्ट पार्दै नेता बडूले भने ।   

विधान मस्यौदा समितिले संशोधित विधानमा पदाधिकारी, केन्द्रीय सदस्यहरु, सांसदहरु स्वतः पदेन सदस्य हुने प्रावधानलाई हटाउने व्यवस्था गर्ने गरी विधानको मस्यौदा तयार पारेको छ । अहिलेको विधानअनुसार स्वतः पदेन सदस्य हुने हैसियतका नेताहरुले संशोधित विधान महासमितिले पारित गरेपछि आफ्नो मतदाता नामावली भएको वडा तहबाटै निर्वाचन जितेर माथिल्लो तहमा जानु पर्नेछ ।   

‘‘अहिले स्वतः पदेन सदस्य हुनेहरुले अब अन्य कार्यकर्तासरह मतदाता नामावली रहेको स्थानबाट वडा तहबाटै निर्वाचन लडेर आउनुपर्ने छ । कोही निर्वाचित हुनुपर्ने, कोहीलाई निर्वाचित हुनै नपर्ने प्रावधान हटाएर मस्यौदा गरिएको छ,’’ बडुले बाह्रखरीसँग भने । 

विधान संशोधन मस्यौदा समितिका सदस्य पौडेलले अहिलेसम्म मस्यौदा लेखन कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । ‘‘मस्यौदा लेखन अन्तिम अवस्थामा छ, हामीले ८५ प्रतिशत मस्यौदा लेखनका काम टुंग्याइसकेका छौंं । १५ प्रतिशत बाँकी विषयहरुमा छलफल र बहस भइरहेको छ,’’ उनले भने, ‘‘केही कुराहरु नमिल्न पनि सक्छन् । नमिलेका विषयहरु फरक मतका साथ केन्द्रीय समितिमा जान पनि सक्छन् ।’’

समितिले विधानको मस्यौदा पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने भएको छ । यसअघि समितिले कात्तिक १६ गते चियापान कार्यक्रमका दिन विधानको मस्यौदा पार्टी समक्ष बुझाउने भनेको थियो । ‘‘हामी जुन दिन पार्टीको केन्द्रीय कार्यसमितिको मिटिङ बस्छ त्यसै मिटिङमा विधानको मस्यौदा प्रस्तुत गर्छौं,’’ मस्यौदा समिति सदस्य बडुले भने । 
 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०९:५८
प्रतिक्रिया दिनुहोस्