site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुटानी शरणार्थीको दसैं : उता मतदान, यता सुनसान
SkywellSkywell

दक्षिण एशियाली मुलुक भुटानमा नेशनल एसेम्बलीका लागि दोस्रो चरणमा आज निर्वाचन हुँदैछ । गएको सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन भएको थियो । भुटानको निर्वाचनको सोझो साइनो नेपालमा नपर्नुपर्ने हो, तर परेको छ । त्यताको निर्वाचनका कारण पूर्वी नेपालको भुटानी शरणार्थी शिविरमा आफ्ना आफन्तहरुसँग टीका लगाउन भुटानदेखि नेपाल आउनेहरु उतै रोकिएका छन् । त्यसैले शरणार्थी शिविर यसपालि सुनसान पाइएको छ । 

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बाह्रखरीसँगको कुराकानीमा भने, ”जेठी छोरी दसैंको टीका लगाउन आउने कुरा थियो । तर, नवमीको दिन चुनाव परेकोले आउन नपाउने भइन् । अलि पछि आउँछिन् कि थाहा छैन ।” पौडेलका अनुसार भुटानबाट भारततिर छिरेर शरणार्थीका आफन्तहरु हरेक दसैंमा झापा आएर आफन्तहरुसँग भेटघाट गर्ने, टीका लगाउने र फर्किने गर्थे । तर यसपालि चुनावले गर्दा यो क्रम रोकिएको छ । आएपनि पूर्णिमासम्ममा मात्रै फाटफुट आइपुग्ने छन् ।

भुटानका वरिष्ठ मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई पनि भुटानको निर्वाचनले दसैंमा केही न केही असर गर्नेछ । बाह्रखरीसँग उनले भने, “दसैंको समयमा मेरा भाञ्जीहरु टीका लगाउन आउने सम्भावना हुन्थ्यो तर यसपालि नआउने भए ।” अर्थात् उनलाई पनि यसपालि भुटानको निर्वाचनले असर गर्ने भयो । 

KFC Island Ad
NIC Asia

शरणार्थी शिविर भन्दा बाहिर बिर्तामोडमा बस्दै आएका रिजालले आफूलाई दसैंको कुनै रौनक भने नभएको बताए । “हाम्रो शरणार्थी मामिला अहिले छायाँमा परेको छ । त्यसैले कुनै रौनक रहेन,” उनले भने । उनलाई भेट्न मानिसहरु चाहिँ आइरहन्छन् । कोही शिविरतिरकै हुन्छन् । कोही भुटानबाट लुक्दै छिप्दै आइपुग्छन् । रिजालका तीन भाइ छोरा र बुहारी अहिले क्यानडामा बस्दै आएका छन् भने उनकी धर्मछोरी अमेरिका पुगेकी छन् । रिजालले भने, “घरमा म र पत्नी मात्रै छौं । आफै दुःखी छौं । झन् दुःखी आए भने मैले नै उनीहरुलाई सहयोग गर्नुपर्ने हुन्छ । सकेको सहयोग गरेर पठाउने गरेको छु ।” झण्डै तीन दशकअघि तत्कालीन भुटानी राजाका सल्लाहकार थिए रिजाल । 

तत्कालीन भुटानी राजाका निजी चिकित्सकको रुपमा काम गरेका डा. भम्पा राईको चटारो भने अर्कै छ । उनकी पत्नी बिरामी भएकोले उनी उपचारकै दौडधूपमा छन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “नेपालमा बसेको २७ वर्ष भइसकेको छ । त्यसैले यता दसैंमा सबै रमाउँदा हामी पनि रमाउन खोज्छौं । तर, हाम्रो मन दुखेको छ । स्वदेश फिर्न पाइने आशा अब मर्दै गएको छ ।”

Royal Enfield Island Ad

डा भम्पाले भने, “चोट आलो हुँदा सबैको ध्यान जाने रहेछ । हाम्रो त चोट पनि पुरानो भइसक्यो त्यसैले कसैले सम्झिन पनि छोडेको जस्तो लाग्छ ।” उनका अनुसार पहिला एक पटक शरणार्थी नेताहरुबीच अब स्वदेश फर्केर मात्रै दसैं मान्ने सहमति भएको थियो । तर, समस्या अल्झिँदै दशकौं नाघेपछि शरणार्थीहरुले फिर्ता हुने कहिले हो कहिले भनेर बीचमा दसैं मान्न थालेका थिए । दसैंको बेलामा प्रवचन सुन्ने र फिल्म हेर्ने लगायतका काममा शरणार्थीहरु लाग्ने गरेको उनले बताए । उनले भने, “म बिरामी छु । पत्नी पनि बिरामी छन् । त्यही भएर गाह्रो भएको छ ।”

उनले आफ्नो र पत्नीको स्वास्थ्य उपचारको लागि नेपाल सरकारले १२ लाख रुपियाँ दिएको जनाए । मृगौलाकी बिरामी उनकी पत्नी उर्मिला राईलाई निःशुल्क डायलसिसको व्यवस्थाका लागि नेपाल सरकारसँग अनुरोध पनि गरेका थिए । उनका अनुसार सरकारले निःशुल्क डायलसिसको व्यवस्था पनि गरिदियो । उनले त्यो व्यवस्था बिर्तामोडको सिटी अस्पतालमा भइदिए हुन्थ्यो भन्ने चाहेका थिए तर धरान जानु परेकोले मारमा परेको बताए । “हप्ताको दुई पटक पत्नीलाई लिएर धरान जानुपर्छ, अप्ठेरोमा छु,” उनले भने । डा भम्पा भुटानी शरणार्थीको शिविर भन्दा बाहिरै बस्दै आएका छन् ।

६.५ डलरमा दसैं
शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीलाई अहिले संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोग (युएनएचसीआर)ले प्रतिमहिना प्रतिव्यक्ति ६.५ डलर अर्थात् आजको सटही दरअनुसार ७ सय ६८ रुपैयाँ ६२ पैसा दिन्छ । चाडबाड मान्न छुट्टै रकम पाइँदैन । बेलडाँगी शरणार्थी शिविरका क्याम्प सचिव टीकाराम रसाइलीले बाह्रखरीसँगको कुराकानीमा भने, “त्यही ६.५ डलर रकम जोडजाड गरेर हामीले दसैं जस्ता चाडवाड मनाउने गरेका छौं । पुग्न त के पुग्थ्यो तर पुर्याउनु पर्छ ।”

हिन्दू धर्मावलम्बीहरुको संख्या धेरै रहेकोले अहिले नेपाल बडादसैंमा झुमिरहेको छ । रसाइलीका अनुसार भुटानी नागरिक भएपनि मोरङको पथरी र झापाको बेलडाँगी शरणार्थी शिविरमा रहेका भुटानी नागरिकहरु धेरैजसो हिन्दू धर्मावलम्बी छन् भने केही बौद्धमार्गी छन् । 

“हामी नेपालमा बसेका छौं । आसपासमा रमाइलो गरेको देखेपछि शरणार्थीका नानीहरुले पनि रमाइलो गर्न चाहन्छन् । त्यसैले दुःख गरेर भएपनि हामी दसैं मनाउँछौं,” उनले भने ।
सन् १९८०को दशकको अन्त्यमा भुटानी शरणार्थी समस्या सुरु भएको हो । त्यतिबेला १ लाख भन्दा केही बढी शरणार्थी भारतको बाटो हुँदै नेपालको मोरङ र झापाका ७ वटा शरणार्थी शिविरमा बस्न आएका थिए । 

पटक पटकको नेपाल–भुटान वार्ता असफल भएपछि सन् २००७मा अन्तर्राष्ट्रिय समुदायको पहलमा शरणार्थीलाई तेस्रो मुलुकमा लग्ने क्रम सुरु भएको हो । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर)को तथ्यांक अनुसार अहिलेसम्म नेपालबाट १ लाख १२ हजार ५ सय ८७ भुटानी शरणार्थी तेस्रो देशमा गइसकेका छन् । जसमध्ये अमेरिकामा ९५ हजार ७ सय ९५, क्यानडामा ६ हजार ८ सय ३३, अष्ट्रेलियामा ६ हजार ७ सय ३३, न्युजिल्याण्डमा १ हजार ९५, डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, बेलायतमा ३ सय ५८ र दि नेदरल्याण्ड्समा ३ सय २९ जनाको पुनर्वास गराइएको छ भने करिब साढे ८ हजार शरणार्थी अझैपनि झापा र मोरङका दुई वटा शिविरमा रहेका छन् । रसाइलीले भने, “अहिले त तेस्रो देशमा जाने प्रक्रिया पनि रोकिएको छ । त्यसैले अन्योलको जीवन गुजारिरहेका छौं ।”
तर, डा भम्पा भने तेस्रो देशमा जाने बाटो अझै खुल्ने आशामा छन् । “मान्छेले नै बनाएको नियम हो । त्यसैले अन्तर्राष्ट्रिय समुदायले फेरि एक खेप शरणार्थी लिइदिए भने यहाँ रहेका शरणार्थीको अन्योल सकिन सक्छ,” उनले भने । 

भुटानमा केको निर्वाचन ?
भुटानमा आज त्यहाँको नेशनल एसेम्बलीको निर्वाचन भइरहेको छ । पहिलो राउण्डमा नै निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) तेस्रो भएको थियो । त्यो दल तेस्रो भएकोले आजको निर्वाचनमा भाग लिन उसले पाउँदैन । अहिले भुटानमा रहेको सरकार प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार हो । प्राइमरी राउण्डमा नै पहिलाको सत्तारुढ दल पराजित भयो, जुन भुटानमा गहिरो प्रभाव जमाइरहेको भारतसँग निकट मानिन्छ । अब आज भइरहेको मतदानमा ड्रुक फुएन्सम सोग्पा र ड्रुक न्यामरुप सोग्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

पछिल्लो दलले गएको सेप्टेम्बर १५ तारेखमा भएको निर्वाचनमा बढी मत पाएको थियो । जसले पहिलो चरणमा बढी मत ल्यायो, त्यो दल ड्रुक न्यामरुप सोग्पालाई चीन निकट मानिन्छ । सन् २००८मा भएको निर्वाचनमा अहिले अगाडि भएकै दल विजयी भएको थियो । सन् २०१३ मा अर्को निर्वाचन हुने मुखैमा भारतले ग्यास र मट्टितेलको अभाव सिर्जना गरिदिएकोले सत्तारुढ दल नराम्रोसँग पराजित भयो र अहिले निर्वाचन हार्ने तोग्बेको दल विजयी भएको थियो । तोग्बेको कार्यकालमै अघिल्लो वर्ष भारत र चीनबीच दोक्लाम क्षेत्रमा ७२ दिन युद्ध नै होला जस्तो गरी तनाव उत्पन्न भएको थियो ।

पछिल्लो निर्वाचनको परिणामले के देखायो भने भुटानी जनमत भारतको मात्रै भर पर्नु नहुने पक्षमा रहेको छ । हुनत निर्वाचन हुनुअघि सुरक्षा र विदेश मामिलाको विषय आपसी आरोप प्रत्यारोपको विषय बनाउन नपाइने भनेर भुटानका प्रमुख दलहरुबीच आचारसंहिता नै बनाइएको थियो । तर, सामाजिक सञ्जालको अहिलेको दुनियाँमा जनता दलका आचारसंहिता मान्न विवश पक्कै थिएनन् । र ती मामिलाले पनि प्रशस्तै चर्चा पाएको छ । पहिलो चरणमा भारत निकट दल बाहिरिइसकेकोले अब भारतसँग केही नरम मानिने अर्को दल र चीनसँग नरम मानिने दलबीच प्रतिस्पर्धाको अवस्था छ । पहिलो चरणमा दलहरुको नाममा मतदान भएको हो । अहिले अघिल्लो निर्वाचनमा पहिलो र दोस्रो बन्ने दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको निर्वाचनबाट  ४७ सदस्यीय नेशनल एसेम्बलीले पूर्णता पाउनेछ । 

शरणार्थी र निर्वाचनको साइनो
भुटानमा सन् २००८मा पहिलो, २०१३मा दोस्रो र अहिले तेस्रो दुई दलीय संसदीय व्यवस्थाको निर्वाचन भइरहेको हो । सबै निर्वाचनमा जित्नेहरु भुटानी शरणार्थी मामिलामा अनुदार देखिने गरेकाले शरणार्थी नेताहरुले यो निर्वाचनलाई पनि कुनै आशाको नजरबाट हेर्नुपर्र्ने ठानेका छैनन् । भुटानी मानवअधिकारवादी नेता रिजालले भने, “यो निर्वाचन हाम्रो लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात् जस्तै हो ।”
उता भुटान पिपुल्स पार्टीका अध्यक्ष पौडेलले पनि यो निर्वाचनलाई आफूहरुले त्यतिधेरै आशा गर्ने अवस्था नरहेको बताए । उनका अनुसार भुटानको कूल ८ लाख जनसंख्यामा करिब १ लाख नेपाल र तेस्रो मुलुकमा धपाइए । करीब ३ लाख नेपालीभाषी भुटानी (ल्होत्साम्पा) अहिले पनि भुटानभित्रै छन् । कोही जेलमा छन् । कसैलाई अहिलेपनि विभिन्न नाममा सताउने काम भइरहेको छ । 

यता नेपाल सरकारले भने अहिले भुटान सरकार परिवर्तनको मोडमा रहेकोले बाँकी रहेका शरणार्थीको समश्या कसरी सल्ट्याउने भनेर कुरा उठाइहाल्न पनि पाएको छैन । पौडेल भन्छन्, “सरकार जसको आएपनि फरक पर्छ जस्तो लाग्दैन । बरु अहिलेको राजा हामीप्रति सकारात्मक नै छन् भन्ने सुनिन्छ । तर, युवा राजाले आफैंले निर्णय गर्ने होइन । उनले आफ्नो बाबुसँग हरेक कुरामा सल्लाह लिने गरेको सुनिन्छ । उनकै बाबुले हामीलाई धपाएका हुन् । त्यसैले केही हुने छाँट देखेनौं ।” 

भुटानका मानवअधिकारवादी नेता रिजालको पनि उस्तै भनाइ छ , “निर्वाचन भएपनि नभएपनि केही हुने छाँट देखिन्न । हाम्रो मामिलालाई कसैले सुनिदिएन । नेपालले त सकेसम्म गरेको पनि हो । हामी जहाँ पाहुना भएर बसेका छौं त्यो देशले नै केही गरेन भन्न मिलेन । तर, अन्तर्राष्ट्रिय समुदायले केही गरिदिए हुन्थ्यो उनीहरुले पनि चासो देखाइदिएनन् ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro