काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रमले केही दिनयता निरन्तरता पाइरहेको छ । मुलुकको केन्द्रीय बैंकले शुक्रबार (आज) का लागि तोकेको डलरको भाउ १ बराबर १ सय १८ रुपैयाँ ३ पैसा छ । यो भनेको नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर सावित भएको अवस्था हो ।
अहिले अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ, किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले शुक्रबार १ अमेरिकी डलरबराबर भारु ७३ रुपैयाँ ७६ पैसा रहेको छ ।
“हाम्रो रुपैयाँको पनि गतिलो अवस्था भने होइन,” सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले शुक्रबार बाह्रखरीसँग भने, “अमेरिकी डलरको भाउ हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो, सहनुको विकल्प छैन ।”
डलरको भाउ जति बढ्दै जान्छ, नेपालीले उपभोग गर्ने सामानको भाउ उति महँगो हुने दाहालले बताए । नेपालले निर्यातको दाँजोमा वस्तु आयात ११ गुणासम्म बढी गर्ने गरेको पछिल्लो तथ्यांकले देखाउँछ ।
“स्थानीय उत्पादन लगभग शून्यजस्तै छ, अनि दैनिक जीवनमा आवश्यक सामान विदेशबाटै किनेर ल्याउनुपर्यो र त्यसरी किन्न डलर चाहिन्छ,” उनले भने, “महँगो डलरले किनेर ल्याएको सामान उपभोक्ताले खरिद गर्दा महँगो हुनु स्वाभाविक हो । यसपालिको चाडबाड महँगो हुने पक्का छ ।”
दाहालका अनुसार मुद्रास्फीति, बेरोजगारी दरमा राम्रो सुधार आएका कारण अमेरिकी अर्थतन्त्र समग्र हिसाबमा बलियो हुँदै जानु र बेलाबेला चीनसँगको व्यापार खटपटका कारण पछिल्लो केही समयदेखि डलरको भाउ ह्वात्तै बढेको हो । “संसारभर नै अमेरिकी डलर सबैभन्दा सुरक्षित मुद्रा भन्ने आमधारणाले पनि यसमा काम गरेको छ,” उनले भने ।
यही क्षेत्रका विज्ञ दाबी गर्छन्– “केही दिनभित्रै १ डलरको भाउ १ सय २० रुपैयाँ पुग्ने सम्भावना छ, पुगे आश्चर्य नमाने हुन्छ ।”
नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दरअनुसार १ डलर खरिद गर्न १ सय १८ रुपैयाँ ३ पैसा खर्च गर्नुपर्छ । यो भनेको डलरको भाउ हालसम्मकै सर्वाधिक महँगो भएको रेकर्ड हो । पछिल्ला केही दिन तलमाथि भइरहेको डलरको भाउ बिहीबार १ डलरबराबर १ सय १७ रुपैयाँ ६५ पैसा थियो ।
राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरबराबर १ सय १८ रुपैयाँ ३ पैसा बिक्री दर र १ सय १७ रुपैयाँ ४३ पैसा खरिद दर तोकेको छ । बिहीबार १ डलरबराबर १ सय १७ रुपैयाँ ६५ पैसा बिक्री दर र १ सय १७ रुपैयाँ ५ पैसा खरिद दर थियो । दुई दिनअघि बुधबार डलरको बिक्री दर १ सय १६ रुपैयाँ ९६ पैसा र खरिद दर १ सय १६ रुपैयाँ ३६ पैसा पुगेको थियो ।
“पछिल्ला केही दिनको तथ्यांक केलाएर हेर्दा अमेरिकी डलरको भाउ अझै माथि जाने स्थिति छ,” राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले शुक्रबार बाह्रखरीसँग भने, “कहाँसम्म पुग्छ, यसै भन्न सकिन्नँ ।”
राष्ट्र बैंकका अनुसार असोज ३ गते डलरको भाउ १ बराबर १ सय १७ रुपैयाँ ७ पैसा पुगेको थियो भने त्यसको १० दिनअघि १ सय १६ रुपैयाँ २३ पैसाबराबर भएको थियो । हिजो बिहीबार डलरको भाउ १ बराबर १ सय १७ रुपैयाँ ६५ पैसा थियो । यो दर आज आइपुग्दा ३८ पैसाले महँगो हुन पुगेको छ ।
डेढ महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँको हाराहारीमा थियो । तर, एक्कासि डलरको भाउ ह्वात्तै बढ्न थालेयता कम आय हुनेदेखि बढी आय हुनेसम्मलाई असर पार्न थालेको छ । त्यसमाथि ठूला चाड दसैं र तिहार नजिकिएका बेला अमेरिकी डलरको भाउ महँगो हुँदा चाडबाड मनाउन पहिलाभन्दा महँगो पर्ने छ । जसका कारण प्रत्येक नेपाली परिवारलाई असर पर्न थालिसकेको छ ।
ताजा तथ्यांकअनुसार मुलुकको व्यापार घाटा बढेर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँबराबर पुगेको छ । नेपालले पेट्रोलियम पदार्थदेखि गाडी, यसका पुर्जा आयातमा ठूलो परिमाणबराबरको रकम खर्च गर्दै आएको छ । अर्थतन्त्रको प्रमुख समस्या नै बढिरहेको व्यापार घाटा हो । नेपालबाट गत आर्थिक वर्ष २०७४–७५ मा ८१ अर्ब १९ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देशमा निर्यात गरेको तथ्यांक सरकारसँग छ, तर यसको ठिक विपरीत १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरका वस्तु आयात गरेको थियो ।
उच्च व्यापार घाटा भएका बेला डलर महँगो हुँदा नोक्सानी पनि त्यति नै ठूलो हुने गर्छ । तर, डलर महँगो हुँदा नेपालजस्तो देशका लागि एउटा फाइदा भने छ । त्यो के हो भने जति धेरै डलरको भाउ बढ्दै जान्छ, विदेश बस्ने नेपालीले रेमिट्यान्स पनि त्यति नै धेरै पठाउने गर्छन् ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । तैपनि यो रेमिट्यान्स परिमाणभन्दा आयात परिमाण धेरै उच्च भएका कारण डलर महँगिदा पनि अर्थतन्त्रलाई नोक्सान नै भएको थियो ।