काठमाडौं । पश्चिमा मुलुकमा सम्बन्ध विच्छेदलाई सामान्य मानिन्छ । पति पत्नीबीच सानो असमझदारी भए पनि उनीहरू सहजै छुट्टिन्छन् । समाजले पनि त्यसलाई सहज रूपमा लिन्छ, किनकि धेरै मुलुकमा विवाहलाई व्यक्तिगत सम्बन्ध मानिन्छ, समाजसँग जोडिँदैन । कतिपय एसियन मुलुकमा पनि सम्बन्ध विच्छेद एउटा सामान्य कानुनी प्रक्रिया भइसक्यो ।
नेपालमा भने वैवाहिक सम्बन्ध परिवार र समाजसँग अन्योन्याश्रित भएको हुन्छ । गाउँघरमा अहिले पनि विवाहलाई सात पुस्ता थाहा हुने सम्बन्धको रुपमा हेरिन्छ । त्यसैले सम्बन्ध विच्छेद परिवारमा मात्र नभएर समाजमै पनि ठूलो विषय बन्छ । पति पत्नीबीच जतिसुकै खटपट भए पनि उनीहरू हत्तपत्त सम्बन्ध विच्छेदको कानुनी प्रक्रियामा जाँदैनन् । तर भित्रभित्रै वैवाहिक सम्बन्ध धराशायी बन्दैछ, सम्बन्ध विच्छेद भुसको आगोजस्तै सल्किँदैछ ।
महिलाहरूका लागि निःशुल्क कानुनी सहायता प्रदान गरिरहेको गैरसरकारी संस्था कानुनी सहयोग परामर्श केन्द्र (ल्याक) का अनुसार विवाहेत्तर सम्बन्ध, आर्थिक असमझदारी, विगतको सम्बन्ध, यौन असमझदारी, अभिभावकको हस्तक्षेप, सामाजिक सञ्जाल, वैदेशिक रोजगारी आदि सम्बन्ध विच्छेदका कारकको रूपमा देखिन्छन् ।
०७१ सालमा जिल्ला अदालत काठमाडौंमा २२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा यो संख्या ०७२ मा १०५ पुगेको छ । ०७३ मंसिरसम्ममा ५०८ वटा सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा आएका छन् । जिल्ला अदालतमा महिलाले मात्रै सम्बन्ध विच्छेदको मुद्दा हाल्न पाउँछन् । पुरुषले सम्बन्ध विच्छेदको मुद्दा हाल्न चाहे पहिले स्थानीय निकायमा हाल्नुपर्छ । अनिमात्र त्यो मुद्दा जिल्ला अदालतमा आउँछ ।
जिल्ला अदालतमा आउने अधिकांश मुद्दामा पति–पत्नीबीच कुटपिट, पतिले पत्नीलाई घरबाट निकाला गरेको तथा दोस्रो पत्नी ल्याएको देखिने गरेको काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्री बताउँछन् । मादक पदार्थ सेवन गरेर श्रीमतीलाई पिट्ने, नराम्रो व्यवहार गर्नेजस्ता घटनाले सम्बन्ध विच्छेदका मुद्दा आउने गरेको उनले बताए । बाल विवाह पनि सम्बन्ध विच्छेदको अर्को महत्वपूर्ण कारकको रूपमा देखिएको छ ।
पुरुषले सम्बन्ध विच्छेद गर्ने मुख्य कारणमा भने श्रीमती घरमा नबस्ने, बच्चा नहेर्ने आदि रहेको देखिन्छ । अधिवक्ता पुरुषोत्तम राज खकुरेल शारीरिक अशक्तता, लामो समयसम्म बच्चा नहुने आदिका कारण पुरुषले सम्बन्ध विच्छेद गर्ने गरेको बताउँछन् ।
उनी भन्छन्, “सम्बन्ध विच्छेदको एउटा ठूलो कारकको रूपमा बालविवाह पनि छ । सानै उमेरमा लहैलहैमा वा परिवारको दबाबमा हुने विवाह पनि नटिक्ने गरेको देखिन्छ ।” वैदेशिक रोजगारीका कारण पनि थुप्रै परिवार तहसनहस भएको उनको विश्लेषण छ ।
मनोविद् अमरदीप गुरागाईं युवा अवस्थामा हुने कतिपय प्रेम विवाहमा पछि गएर असन्तुष्टि पैदा हुने अनि त्यो असन्तुष्टि सम्बन्ध विच्छेदसम्म पुग्न सक्ने बताउँछन् । “सम्बन्ध विच्छेदले मानसिक तनाव, हिनताबोध, एक्लोपना र कहिलेकाहीँ त हृदयघातको सम्भावना पनि बढाउँछ । त्यसैले सम्बन्ध विच्छेदलाई सामान्य रूपमा लिन सकिँदैन,” गुरागाईं भन्छन् ।
ल्याककी अधिवक्ता मनिषा पौडेल सम्बन्ध विच्छेदका घटनाको संख्या तीव्र रूपमा बढिरहेको बताउँछिन् । “पहिले महिलाहरूमा श्रीमान्ले जति दुःख दिए पनि सहेर बस्नुपर्छ भन्ने मानसिकता थियो । तर, अहिले अवस्था त्यस्तो छैन । अहिलेका महिला शिक्षित र सक्षम छन्, जसले गर्दा हिंसाको प्रतिकार गर्न सक्छन्,” पौडेल भन्छिन् । उनका अनुसार पुरुष र महिला दुवैले २५ देखि माथिकै उमेरमा सम्बन्ध विच्छेद गर्ने गरेको देखिएको छ ।