काठमाडौं । रत्नपार्कबाट काठमाडौं उपत्यका बाहिर निस्कन चारैतिरका नाका ३५ किलोमिटरभन्दा कम दूरीमाछन् । ‘त्यसको छेवैमा हजार रोपनी जग्गामा राष्ट्रिय पुस्तकालय होस् । त्यहाँ विश्वभरका करोडौं पुस्तक हुन् । त्यहाँ विद्यार्थी, शोधकर्ता र लेखकहरु अध्ययनका लागि जाउन् । रिटायर्ड लाइफका कर्मचारीहरु पुस्तक लेख्ने जमघटस्थल होस् राष्ट्रिय पुस्तकालय । उनीहरु त्यँही महिनौं बसेर अध्ययन गर्नका लागि रिसोर्टहरु खोलिएका हुन् । हजारौं गाडी अट्ने अन्डरग्राउन्ड पार्किङ होस् । परिवारसहित जाने वातावरणका लागि ठूला ठूला सपिङ महल होउन् । साना नानाहरुसहित जानेहरुका लागि हर्सराइडिङ होस् । भव्य स्वीमिङ पुल होस् । यसका लागि खर्च पनि धेरै चाहिँदैन सरकारसँग सरकारी जग्गा छ । हामीसँग भिजन छ । यसो भयो भने नेपालको राष्ट्रिय पुस्तकालयको शान पनि हुन्छ । यसको अर्को पनि फाइदा छ–यति गर्न सक्ने हो भने नेपालमा अध्ययन संस्कृतिको विकास हुन्छ । मान्छे फुर्सदमा कहाँ जाने भन्दा राष्ट्रिय पुस्ताकालय जाने भन्ने हुन्छ । एउटा कक्षा सकेर अर्को कक्षा भर्ना नहुँदासम्मको बीचको समयमा विद्यार्थीहरु कुलतमा फस्ने सम्भावना पनि कम हुन्छ ।’
उपेन्द्रप्रसाद मैनालीले राष्ट्रिय पुस्तकालयको यो भब्य नयाँ भिजन बाह्रखरीलाई सुनाइरहँदा नेपालको एक मात्रै राष्ट्रिय पुस्तकालय भने बोरामा थन्किरहेको छ ।
वि.सं. २०१३ साल पुस १९ गतेस्थापना भएकोराष्ट्रिय पुस्तकालय ०७२ साल वैशाख १२ गतेको भूकम्पबाट राष्ट्रिय पुस्तकालय पनि बच्न सकेन । त्यो दैबको लिला थियो । राष्ट्रिय पुस्तकालय थियो राष्ट्रको गौरव हो, ढल्यो । सरकारी प्राविधिकले रातो स्टिकर टाँसिदिए । अब त्यसलाई उठाउनुछ । तर त्यसमा राज्यले निकै ढिलाइ गरिरहेको स्वयम्राष्ट्रिय पुस्तकालयका प्रमुख मैनाली स्वीकार्छन् ।
राष्ट्रिय पुस्तकालय ठड्याउन मैनालीले थुप्रैसँग थुप्रैपटक हारगुहार गरे । त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरे । उनकै शब्दमा ‘त्रिविले घुमाउरो भाषामा आफ्नो स्वामित्वमा रहेको जग्गा नदिने बतायो ।’
भूकम्पले राष्ट्रिय पुस्तकालयसँगै हरिहर भवन पुल्चोकमा रहेको निजामती किताब खाना र राष्ट्रिय मानव अधिकार आयोग रहेको राणाकालीन भवन भत्कियो । भूकम्पको परकम्प कम हुनेबित्तिकैनिजामति किताव खाना र राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो बन्दोबस्ती गरे । तर, बजेटविहीन राष्ट्रिय पुस्तकालय भने बैकल्पिक व्यवस्थापन गर्न सकेन । पुस्तक बोरामा हालेर राख्यो ।
डेढ लाख पुस्तक रहेको राष्ट्रिय पुस्तकालयमा १ लाख २५ हजार पुस्तक साढे ५ हजार बोरामा छन् । सानो गौचरनस्थित महेन्द्र भवनको २ वटा कोठामा बोरामा पुस्तक राखिएको छ । ९ हजार पुस्तक भने बाल शाखामा राखिएका छन् । जहाँ राष्ट्रिय पुस्तकालयको प्रशासनिक भवन छ । एकातिर ¥याकमा केही नयाँ पुस्तक राखिएको छ भने अर्कोतिर वाचनालय छ । राष्ट्रिय पुस्तकालयका १८ जना कर्मचारी पनि बस्छन् । सँगै पुस्तकालय प्रमुख मैनालीको कार्यकक्ष छ ।
हरिहर भवनमा रहँदा प्रशासन शाखा अन्तरगत कर्मचारी प्रशासन तथा आर्थिक प्रशासन, सङ्कलन तथा प्राप्ति, सुरक्षा तथा संरक्षण, प्रकाशन कक्ष थियो । पुस्तकालय तथा सूचना सेवा शाखा अन्तरगत भाषागत कक्ष, बाल पुस्तकालय, बाह्य सम्बन्ध तथा नेटवर्किङ कक्ष थियो । प्राविधिक शाखा अन्तर्गत प्राविधिक तथा विकास कार्य, सुरक्षा तथा संरक्षणकक्ष र पत्रपत्रिका शाखा कक्ष भएको पुस्तकालय अहिले बोरामा छ । पुस्तक खोज्न सक्ने अवस्था छैनन् । राष्ट्रिय पुस्तकालय नै अस्तित्वमा छैन भन्ने अवस्था आउन लाग्यो ।
पुल्चोकमा ११२ वठा ‘र्याक’ खिया लागिसकेका छन् ।अब नयाँ बनाउँदा ‘र्याक’ चाहिन्छ तर भएकालाई संरक्षण गर्नले तदारुकता देखाएको छैन । “कर्मचारीलाई तलव खुवाउनेबाहेक सरकारले खासै लगानी गरेको छैन,” मैनालीले भने, “राष्ट्रिय पुस्तकालयलाई सरकारले उपेक्षा गर्यो भन्दा फरक पर्दैन ।” आफ्नै सरकारी भवन नहुँदा अहिले यो पुस्तकालयका क्षेत्रीय शाखा कार्यालय सार्वजनिक पुस्तकालयका रुपमा रहेका छन् ।
सार्वजनिक विद्या भवन पुस्तकालय धरान, पोखरा सार्वजनिक पुस्तकालय पोखरा, महेन्द्र पुस्तकालय नेपालगंज, कैलाली जनपुस्तकालय धनगढी, कैलालीमा रहेका सार्वजनिक पुस्तकायललाई राष्ट्रिय पुस्तकालयका क्षेत्रीय पुस्तकालय बनाउने मैनालीको योजना छ । यसका लागि शिक्षा मन्त्रालयमा मैनालीले प्रस्ताव पेश गरिसकेका छन् ।
अहिले राष्ट्रिय पुस्तकालयले केही समय अगाडिसम्म जनप्रशासन क्याम्पस रहेको जमलको ६ रोपनी जग्गा माग गर्दै आएको छ । त्यहाँ अहिले शंकरदेव क्याम्पसले एमबीएमको कक्षा सञ्चालन गर्दै आएको छ ।
“राष्ट्रिय पुस्तकालयले त्यो जग्गा माग गरेपछि शिक्षा मन्त्रालयले हामीलाई दिन्छ भनेर हतार हतार त्रिविले शंकरदेव क्याम्पसलाई दिएको हो,” मैनाली गुनासो गर्छन्, “राष्ट्रिय पुस्तकालय भनेको राष्ट्रको सम्पत्ति हो, विद्यार्थीका लागि हो त्रिविकै क्याम्पस जमल आसपासमा एक दर्जनको हाराहारीमा रहेको हुँदा विद्यार्थीलाई नै सेन्टर हुन्थ्यो ।”
मैनालीले राष्ट्रिय पुस्तक नीति–२०७३, पुस्तकालय गुरुयोजना र अभिलेख व्यवस्थापनको मस्यौदा शिक्षा मन्त्रालयमा पेश गेरर पुस्तकालयको व्यवस्थापनका लागि सरकारलाई झक्झक्याए ।
०७२/१२ ३० को मन्त्रीस्तरको निर्णय बमोजिम हरीगोविन्द लुईंटेलको सयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भयो जसले राष्ट्रिय पुस्तक नीतिको मस्यौदाको प्रतिवेदन मंसिर ५ गते बुझायो । यो प्रतिवेदनमा राष्ट्रिय पुस्तकालय राष्ट्रको अभिलेखालय भएको उल्लेख छ ।
पुस्तकालय गुरुयोजना पनि डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भयो । यसले देशभरको पुस्तकालयको योजना प्रस्तुत गरेको छ ।
यस्तै इन्दिरा दलीको संयोजकत्वमा ६ सदस्सीय अभिलेख व्यवस्थापन कार्यदल गठन भयो । यसले पनि प्रतिवेदन बुझाइसकेको छ ।
उपयुक्त स्थानमा सरकारी जग्गा सिफारिस गरी त्यसमा नेपाल राष्ट्रिय पुस्तकालय भवन निर्माणका लागि सिफारिस गर्न मंसिर २९ गते कार्यदल गठन भयो । शिक्षा मन्त्रालय योजना महाशाखा सहसचिव बैकुण्ठप्रसाद आर्यालको संयोजकत्वमा कानुन तथा फैसाल कार्यान्वयन शाखाको उपसचिव, आन्तरिक प्रशासनको उपसचिव, नेपाल राष्ट्रिय पुस्तकालयको प्रमुख र पुस्तकालय समन्वय शाखाको उपसचिव कार्यदलको सदस्यसचिव रहनेगरी कार्यदल गठन भयो । १५ दिनको समयावधी पाएको कार्यदलले पुस १७ गते सिफारिस सहितको प्रतिवेदन शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलाई बुझाएको छ ।
हरीहरभवन बाल शाखा रहेको ६ रोपनी २ पैसा जग्गालाई पहिलो प्राथमिकता, जमलको ७ रोपनी १५ पैसा रहेको जग्गा दोस्रो प्राथमिकता, केशर पुस्तकालय रहेको ३४ रोपनी जग्गाको केही भाग तेस्रोमा, चौथोमा परराष्ट्र मन्त्रालयको थापाथलीमा रहेको २० रोपनी जग्गाको ७/८ रोपनी जग्गा सिफारिस गरेको छ । २०३८/०४/२८ को मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल राष्ट्रिय पुस्तकालयलाई राष्ट्रिय सूचना स्रोत केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म यसलाई सरकारले छुट्याउँदै आएको बजेट र आफ्नै भवन नहुनुले स्पथपाकालको उद्देश्य पूरा गर्न सरकारले नै चासो नदेखाएको मैनालीको गुनासो छ ।
“अहिलेका शिक्षामन्त्री धनिराम पौडेल र शिक्षा सचिव समेत आफ्नै जग्गा र घरसहितको भब्य राष्ट्रिय पुस्ताकालयको पक्षमा रहनु भएकाले चाँडै राष्ट्रिय पुस्तकालय बौरिने विश्वास लिएको छु, ”मैनालीले भने ।
बोरामा रहेको राष्ट्रिय पुस्तकालयमा २ सय वर्ष पूराना पुस्तक समेत रहेका छन् । “दुईसय वर्षभन्दा पूराना पुस्तक छन् हामीसँग यसको कुनै मूल्य छैन,” उनले भने, “भारतका विद्वानहरु पनि यो पुस्तकालयमा पढ्न आउँथे ।”