site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल राजपत्र अब २४ घन्टाभित्र वेबसाइटमा

काठमाडौँ । नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ ।

मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल राजपत्र वेबसाइटमा राख्दै छपाइ यन्त्र ल्याएर नोट र टिकट नेपालमै छाप्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय लागेको जानकारी गराए ।

Argakhachi Cement Island Ad

 “विसं १७७० देखि १८७६ सम्मको युद्धले नेपालको अर्थतन्त्रलाई ध्वस्त बनायो, यो समयसम्म नेपालको मुद्रा भारतको भन्दा माथि थियो, त्यसअघि यहाँ पाइने धातु युरोपको भन्दा राम्रो थियो, युद्धले भ्रष्टाचारभन्दा पनि छिटो गतिमा अर्थतन्त्रलाई बिगार्छ”, उनले भने ।

सूचना र सञ्चारका माध्यममार्फत कुनै पनि तथ्यलाई छिटो जानकारी गराएर डिजिटल नेपाल बनाउने अभियानमा सहयोगका लागि पहल गर्ने मन्त्री कार्कीको भनाइ थियो ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षण मुद्रणका रुपमा विभागलाई स्तरोन्नति गरी रु दुई अर्ब वार्षिक बिदेसिनबाट बचत गर्न सकिने बताए ।

“मुद्रणको परम्परागत प्रणालीमा सुधार गरेर सुरक्षण मुद्रणमा स्तरोन्नति गरी अर्थतन्त्रमा उपलब्धि गर्न सकिन्छ, विभागले व्यावसायिक बन्न प्रतिस्पर्धामा जानुपर्छ”–उनले भने । राजपत्रलाई प्रकाशन भएको १२ घन्टामै वेबसाइटमा राख्न पहल गरिनुपर्ने सचिव थपलियाले बताए ।

विभागका महानिर्देशक शङ्कर अर्यालले विभागको स्तरोन्नति एवम् सुधारका लागि मन्त्रालयले स्रोतसाधनसहित ठोस निर्णय गरिदिनुपर्ने बताए । विसं २००८ देखि प्रकाशन सुरु भएको नेपाल राजपत्रलाई आजैदेखि प्रकाशन भएको २४ घन्टामै वेबसाइटमा राख्न थालिएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७३  १४:१४
प्रतिक्रिया दिनुहोस्