काठमाडौं । दोलखा मागपौवा–२ का ३० वर्षीय दावा योञ्जन ‘मेनपावर’ व्यवसायी होइनन् । न उनले वैदेशिक रोजगार सम्बन्धि कुनै कार्यालय नै खोलेका छन् ।
तर, आफ्नो फेसबुक वालमा भने उनले वैदेशिक रोजगारी सम्बन्धि विभिन्न सूचना, जानकारीहरू राखेका छन् । पछिल्लो समय वैदेशिक रोजगारी सम्बन्धि पत्रपत्रिकामा आएका सूचना, विज्ञापन नै उनका ‘स्ट्याटस’ बन्ने गरेका छन् ।
पहिले पत्रपत्रिकामा आएका वैदेशिक रोजगारी सम्बन्धी सूचनालाई फोटो खिच्दै आफ्नो फेसबुक वालमा राख्छन् र विभिन्न व्यक्तिलाई साथी बनाउँछन् । उनको निशानामा बेरोजगार, कामको खोजिमा रहेका र विदेश जाने युवायुवती नै पर्छन् ।
फेसबुक फ्रेन्डलिष्टमा भएका र म्यासेन्जरमा सम्पर्कमा आएकालाई आफू वैदेशिक रोजगार व्यवसायी भएको बताउँदै परिचय सुरु गर्छन् ।
योञ्जनले यसैगरी तिलक बहादुर गुरुङ, दीनेश गुरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदीप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत क्षेत्री गरी ७ जनालाई दुबईमा सेक्युरीटी गार्डमा फ्री भिषा, फ्री टिकेटमा पठाईदिने भन्दै ठगी गरेको अपराध महाशाखाका ठगी छानबिन शाखाका इन्चार्ज प्रहरी निरिक्षक गोविन्द पन्थीले बताए ।
उनका अनुसार योञ्जनले ७ जनाबाट ३ लाख ३४ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । यसरी अन्य व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
कान्तिपुर, नागरिक लगाएत दैनिक पत्रिकामा निस्केका विज्ञापनलाई स्किृनसट गरेर फेसबुक पेजमा राख्ने त्यसमा पनि फ्रि भिषा फ्रि टिकट भएका सूचना राख्ने ठगी सुरु गर्ने पन्थीको भनाइ छ ।
पन्थीले बाहखरीसँग अगाडि भने, “योञ्जनको ठगी गर्ने तरिका अचम्मको छ, पत्रिकामा छापिएका विज्ञापनलाई आफ्नो फेसबुक पेजमा राख्ने, दुबईमा आकर्षक तलव भत्ता पाउने फ्रि टिकट फ्रि भिषा भएपछि केही रकम लाग्ने भन्दै उनले ठगी गर्ने गरेको भेटियो ।”
वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै रकम ठगी गरेको भन्दै उनको नाममा उजुरी परेको थियो, हामीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा धेरै व्यक्तिलाई ठगेको खुल्न आयो, पन्थीको भनाइ थियो ।
महाशाखाको प्रहरी टोलीले योञ्जनलाई आइतबार काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको थियो । महाशाखाले योञ्जनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँमा पठाइएको छ ।