काठमाडौं । कुनै बेला काठमाडौंमा गुण्डागर्दीबाट हैरान भएर फलानोले दुःख दियो, फलानोले जबर्जस्ती चन्दा माग्यो भन्दै प्रहरीमा धाउनेको संख्या ठूलै हुन्थ्यो । अहिले यस्तो गुनासो लिएर प्रहरीकहाँ पुग्नेको संख्या शून्यप्रायः छ । गुण्डा नाइके दिनेश अधिकारी (चरी) र कुमार श्रेष्ठ (घैटें) प्रहरी इन्काउन्टरमा मारिएपछि अनि उनीहरूका पनि गुरु डन दीपक मनाङ्गे जेल परेपछि उपत्यकामा गुण्डागर्दीको नामोनिशान मेटिएको प्रहरीको दाबी छ ।
गुण्डागर्दी हटे पनि नयाँ किसिमको अपराधले काठमाडौंमा जरा गाडिरहेको छ, त्यो हो आर्थिक अपराध । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापा भन्छन्, “मसल देखाएर अरुको पसिना खान खोज्ने गुण्डाहरुको दादागिरी त अन्त्य भयो, तर, पछिल्लो समय देखिएको आर्थिक अपराध हाम्रो लागि चुनौती बन्दैछ । चर्को ब्याज आउने लोभमा मानिसहरूले पैसा लगानी गर्छन्, चर्को ब्याज पाउने भएपछि रकम फर्किने÷ननर्फिनेमा चासो राख्दैनन् । पैसा डुबेपछि बल्ल चेत खुल्छ अनि विभिन्न व्यक्तिको सोर्सफोर्स लगाउँदै प्रहरी कार्यालय आइपुग्छन् ।”
मिटर ब्याजमा पैसा दिने अनि नफर्केपछि वैदेशिक रोजगारीको कागज बनाएर प्रहरीकहाँ आउने गरेको थापा बताउँछन् । उनका अनुसार अहिले आर्थिक अपराधका घटनामा वृद्धि भएको छ । महानगरीय अपराध महाशाखा र उपत्यकाभरका प्रहरी कार्यालयमा पर्ने उजुरीमध्ये ८० प्रतिशत आर्थिक ठगीका हुने गरेका छन् ।
काठमाडौं प्रहरीको तथ्याकंअनुसार आर्थिक वर्ष ०७२÷०७३ मा मात्र २ अर्बभन्दा बढी रकम ठगिएको भन्दै प्रहरीमा उजुरी परेको छ । यस्ता उजुरी ३ सयभन्दा बढी छन् ।