site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विनीता बरालको 'जुइनो' सार्वजनिक

काठमाडौं । मोडल तथा अभिनेत्री विनीता बरालको पहिलो उपन्यास 'जुइनो' एक समारोहबीच बिहीबार विमोचन भयो । पुस्तक अभिनेत्री ऋचा शर्मा तथा लेखिकाले संयुक्त रुपमा विमोचन गरे । 

लेखक बरालले 'चपली हाइट'लगायतका चलचित्रमा अभिनय गर्नुका साथै थुप्रै मोडलिङ गरेकी छन् । अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेकी बराल पुस्तक विमोचनका लागि नेपाल आएकी हुन् । 

विमोचनपछि पुस्तकबारे कुराकानी गर्दै अभिनेत्री शर्माले 'मोडलिङ, चलचित्र र कृषि व्यवसायमा लागेको मान्छेले कसरी उपन्यासतर्फ आउनुभयो ?' भनेर सोधिन् । उत्तरमा बरालले भनिन्, "कृषि व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षित गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेकी थिएँ । तर, पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेम कथा बन्न पुग्छ भनेर मलाई थाहा थिएन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूले पढेको राम्रो नेपाली प्रेम कथाहरुमध्येको एक ‘जुइनो’ले वैदेशिक रोजगार, छुवाछुत, पृतिसत्तात्मकता जस्तो नेपाली समाजका धेरै कुरा छोएको छ भन्दै शर्माले बरालको पढ्ने बानीबारे पनि सोधिन् । उत्तरमा बरालले भनिन्, "मैले पहिला अलिअलि मात्र पढ्थें । तर, उपन्यास लेखिसकेपछि त्यसलाई पुनर्लेखन गर्ने क्रममा प्राविधिक ज्ञानका लागि थुप्रै नेपाली पुस्तक पढें ।"

उपन्यासको प्रमुख महिला पात्र कथाको नाम आफूलाई एकदमै मन परेको सुनाउँदै शर्माले पात्रको नामाकरणबारे सोधिन् । "मलाई सधैं छोरी पाउँछु र उसको नाम कथा राख्छु भन्ने भइरहन्छ । त्यसैले पनि होला मैले उपन्यासको प्रमुख पात्रको नाम कथा राखें," बरालले भनिन् । 

उपन्यास 'सिनेम्याटिक' भएको भन्दै शर्माले बराललाई 'जुइनो'माथि चलचित्र बनाउने सोच छ कि छैन भनेर पनि सोधिन् । कोही चलचित्र बनाउन इच्छुक भएर आए आफू तयार भएको बरालको उत्तर थियो ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य २९४ रूपैयाँ राखिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १९:५०
प्रतिक्रिया दिनुहोस्