– अक्षर काका
“ऊ त करिष्मा हो करिष्मा !”
“हैन नेता, नेता !”
पटपटी फुटेका कुर्कुच्चा । त्यसमाथि लपक्कै फोहोर । नाक टट्याउने दुर्गन्ध नै जीवनको प्राणवायु हो । यसैले त धानेको छ– सास !
मध्याह्नको १२ बज्यो । टाउकामाथि आइपुग्यो घाम पनि । गर्मीले तालु बगर तुल्याएको छ । मंसिरमासमा धाँजा फाटेका खेतझैं कलेटी परेका छन् ओठ ।
चर्को धूप ! प्यासले व्याकुल तुल्याएको छ– एक अम्खोरा पानी सासै नफेरी रित्याऊँजस्तो !
टेक्न मिल्ने एक पाइला जमिन छैन । एकछिन उभियो, अमिलो राग कण्ठभित्र पस्छ । पेट उमेठेर उल्टी आउलाजस्तो हुन्छ । रिंगटाले फनफनी घुमाएको छ । कसरी काम गर्न सकेको होला यस्तोमा ! उफ् !!
ओठमा बाक्लो लिपिस्टिक । कोष ढाक्ने गाजल । शिरमाथि छड्के क्याप । आँखामाथि गुलाबी ‘आइस्याडो’ । लुगाको बान्की उस्तै । फोहोरको दुर्गन्धले पनि आदिम सौन्दर्यको मानकलाई छाया पारेको छैन ।
“ऊऽऽ गाडी आइसक्यो, कति बस्या होला ! अरूले बटुलिसक्छन्, अनि खान्छौ ठूलो भाग !” उनले श्रीमान्लाई बेस्सरी हकारिन् । निचोरिएको कागतीझैं अनुहार लिएर श्रीमान् काममा हाजिर हुन्छन्, तुरुन्तै ।
उमेरमै तिलचामल कपाल । काँसझैं छुस्स दाह्री पनि फुलेछन् । घामले डढेर अँगारतुल्य छन् हातपाउ । अनुहार उस्तै श्यामल । पिठ्युँमा उचालिनसक्नुको बोरा बोकेका थिए, श्रीमान्ले ।
“बुझ्नुभो दाइ ! काठमाडौंबाट आएको गाडीलाई नछोप्ने हो भने प्लास्टिकले बोरा भरिँदैन । प्लास्टिकले बोरा भरिएन भने पेट कसरी भरिनु ?” टीठलाग्दो देखिइन् उनी ।
हेर्दाहेर्दै फोहोर बोकेका दुइटा ट्रकले फोहोरको पहाडमा मुख सोझ्यायो । फोहोरैमाथि माटो हालेर सम्याइएको बाटो चढ्न ट्रकलाई केही सकस भएथ्यो । तीनफेर चक्का माटोमा धस्सिएपछि बल्ल गुडेको जनाउ दिए, दुवैले ।
खुला चौरमा आइपुगेपछि ट्रकले धूवाँको मुस्लो छाड्यो । उकालो बाटो छिचोल्दा निकै कष्ट भएथ्यो होला । लामो सास फे¥यो । एकछिनका लागि किन नहोस्, त्राण पायो उसले ।
युद्धग्रस्त अफ्रिकी मुलुकहरूमा खाद्यान्न बाँडिरहेका राष्ट्रसंघका ट्रकअघिल्तिर मान्छेहरू झुम्मिएको तस्बिरमा देख्न पाइन्थ्यो । अनेक किस्सा सुन्न पाइन्थ्यो । फोहोर बोकेको गाडी छोप्न हुर्रिएका मानवभीडले त्यो दृश्य–कहानीलाई समेत ओझेल पार्यो ।
‘करिष्मा’ अर्थात अञ्जु सेढाईंले त्यसरी फोहोर छोप्न थालेको एक दशक नाघ्यो । फोहोर केलाउन शुरू गर्दा नवदुलही थिइन् । अहिले त सन्तान पनि जेठमासको मकैझैं हर्लक्क हुर्किइसके । कान्छो छोरो नै ढुन्मुनिँदै फोहोरको डंगुर उधिन्न आउने भइसके ।
“भर्खर २७ वर्ष त भएँ !” ओठमा नूतन हाँसो छाउँछ ।
“२७ वर्षमै चार सन्तान ! बाफ् रे !” पर्यावरणमा ठूलो हाँसो खलबलिन्छ ।
“१३ वर्षमै भागियो । बर्सेनि जन्मिइहाले,” यसपटक चाहिँ मजाले हाँसिन् उनी ।
० ० ०
काठमाडौं उपत्यकाको फोहोरको दुगन्र्धमा आकण्ठ जाकिनुपर्ने गरी ओखरपौवाबासीले के अपराध गरे होलान् ?
यो प्रश्नको उत्तर काठमाडौं महानगरपालिकासँग छैन । न त महानगरबासीसँगै छ । तर, ओखरपौवाबासीले काठमाडौंको फोहोर सिरानी हालेको र दुर्गन्धसँग लुकामारी खेलेको जुग बितिसक्यो ।
यस्तो लाग्छ— काठमाडौं उपत्यकाको फोहोरले ओखरपौवाबासीको बासमात्रै दुर्गन्धित तुल्याएको छैन, साससमेत अतिक्रमण गरेको छ । बदलामा ओखरपौवाबासीले केही पाएका छैनन् । जीवनभरलाई पुग्ने दम, खोकी, आँखा–चर्म रोगशिवाय ।
घर–घरमै व्यवस्थापन गर्न सकिने फोहोर डाँडापारिसम्म ल्याएर महानगरले दशगाउँ रोगी किन बनाएको होला ? सम्झँदा पनि जिउ सिरिंग हुन्छ । अस्थायी नै किन नहोस्, महानगरबासीको हैसियतले यसको धेरथोर जिम्मेवारी मैले पनि लिनुपर्ने त होला !
“के गर्नु दाइ, तपाईंहरूभन्दा हामी १० वर्ष पहिला मर्छौं । बाँचुन्चेल छोराछोरीलाई खानलाउन दिनुपरिहाल्यो !” आगोको फिलिंगोजस्तो रापिलो सूर्यको तेजलाई कालो बादलले ढाकिदिन्छ । वातावरणमा उस्तै गोधूली छाउँछ ।
“परालको थुप्रोजस्तो झुप्रो घर थियो, त्यो पनि भूकम्पले आहार बनाइहाल्यो । गरिबको भागमा पर्ने यस्तै आपदविपद त हो,” एवम् रितले दुःख सुनाउँछिन् उनी ।
मस्तिष्कमा विम्ब कुँदिएको थियो– काठमाडौं सुन्दर सहर । त्यहाँ बस्ने मान्छे उस्तै सभ्य र सुन्दर हुन्छन् ।
हातपाखुरामा भकारो गन्हायो भने पुपुर्रामा हात ठोक्काएर आफैंलाई सराप्थें, “के गर्नु—काठमाडौंमा बसेर खाने भाग्य गर्भमै छाडेर आइस् ।”
डाँडापल्लोपट्टिको काठमाडौं खाल्डो टेक्ने भाग्य कहाँ ! उनीहरू काठमाडौं त जान पाएनन् तर ०६२ सालमा काठमाडौंको फोहोरचाहिँ उनीहरूको दैला–दैलामा पुग्यो । दुर्गन्धले चुल्हाचौकामा साम्राज्य खडा गर्यो । सिंगै ओखरपौवा लिचेड (फोहोर सडेर निस्कने तरल पदार्थ)को अधिराज्य भयो ।
फोहोरको दुर्गन्धका कारण रोगव्याधी भाग्यमै लिएर जन्मिए । वृद्ध–बालखमात्रै होइन, बलियाबांगालाई समेत रोगले गाँज्न थाल्यो । किलै मासिने गरी पशुचौपाया भकाभक मर्न थाले । नवशिशु गर्भमै रोगको भारी बोकेर जन्मिन थाले । भनौं न, दुर्दिन देख्न धेरै दिन पर्खनु परेन ।
सिसडोलमा थुप्रिएको फोहोर–मैलाले ओखरपौवाको पर्यावरण धमिलिएपछि पो उनीहरूले चाल पाए– सुग्घरी भनिएका काठमाडौंबासी अवर्णनीय फोहोरी पो रहेछन् ! मन्दिरैमन्दिर, टुँडालको सहर काठमाडौं कतिबेला बदलिएर फोहोर र दुर्गन्धको उपमा पो बनिसकेछ !
अहिले उनीहरूलाई काठमाडौंको फोहोर काउसोको माला भएको छ । फोहोर फाल्न नदिऊँ, सिसडोलमा फोहोरको ‘सगरमाथा’ खडा भइसक्यो । दिऊँ, रात–दिनको गन्धले प्राण कतिबेला निल्ने हो, टुंगो छैन ।
तर, १३ वर्ष काठमाडौं उपत्यकाबासीको फोहोर–मैलासँग अंकमाल गरेकाले होला— झन्डै ४० परिवारलाई त्यही फोहोर पेट पाल्ने गर्जो बनेको छ । काठमाडौंमा दुई दिन फोहोर उठेन भने उनीहरूलाई भोक–निद्रा लाग्दैन, “भरे के खाने होला ?” चिन्ताले पिरोल्न थाल्छ ।
ती ४० परिवार काठमाडौंबासीले गाडीमा हालेर फाल्न पठाएको फोहोरलाई मोहोरमा बदल्छन् । किलोको १२ रुपैयाँका दरले बेचेर चुल्हो तताउँछन् ।
काठमाडौंको फोहोर ढोकामै आउने भएपछि ओखरपौवाबासीलाई आस थियो— सिंहदरबारकै फोहोर आँगनमा आउँदैछ, मन्त्री, प्रधानमन्त्री, राजाको गाउँ पनि हो त्यो । सरकारले पक्कै हेर्छ । “सरकार प्रमुखकै फोहोर स्याहार्न पाउने हामी ‘भाग्यमानी’ सावित पो हुने हौं कि ?” मनमा भरोसाले हाँगा नहालेको होइन ।
१३ वर्षसम्म सिसडोलको डाँडा भत्काएर फोहोर थुपार्ने, दुर्गन्ध फिँजाउने र क्षीरनदीतुल्य कोल्पुखोला मैलाउनेबाहेक सिंहदरबारले केही गरेन ।
“सरकारले त हामीलाई तिरस्कार पो गर्यो,” अञ्जुका आँखा आँसुका तलाउमा डुबुल्की मार्छन् ।
० ० ०
कोल्पुमा हिजो ‘दूध’ बग्थ्यो । आज लिचेडको नदी बनेको छ । एकछाक भात खान नपाए पनि ताजा हावा त खान पाइन्थ्यो । त्यो पनि दुर्गन्धले निलिहाल्यो । ओखरपौवाबासी ‘लोभले लाभ, लाभले विलाप’ गर्ने ग्राम्य–कहावतको लौकिक पात्र बनेका छन् ।
तीन महिनापछि सिसडोलको ल्यान्डफिल साइट भरिँदैछ । महानगरले फोहोर पुरपार गरेर बोटबिरुवा लगाउला पनि । तर, १३ वर्षदेखि ओखरपौवाबासीको छातीमा थुप्रिएको ‘दोख’को इलाज कसले गरिदिने ?
सिसडोल क्षेत्र फोहोरले भरिन थालेपछि अञ्जुका भने ओठमुख सुक्न थालेका छन् । “कदाचित बञ्चरे डाँडामा ल्यान्डफिल साइट बन्यो भने त्यहाँ प्लास्टिक टिप्न नदिने भनेका छन् !” आँखामा विस्मयभाव छाउँछ । अनुहार सोहोरिन्छ अञ्जुको ।
फोहोर फाल्न आउनुपूर्व महानगरले स्थानीयलाई जागिर दिने वचनबद्धता व्यक्त गरेको थियो । समय बित्दै जाँदा महानगरले सिसडोललाई फोहोरको तारेभीरमात्रै बनायो ।
“महानगरले दिने जागिरको आश थिएन । फोहोर टिपेर बालबच्चालाई बाटो देखाउन पाएका थियौं, त्यही पनि बन्द हुने भयो,” चिसा आँखा लिएर उनी पुनः फोहोर टिप्प थालिन् ।