काठमाडौं । कोभिड १९ को सम्भावित जोखिम कम गर्न देश लकडाउनमा भए पनि अत्यावश्यक उद्योग सञ्चालनमा भने कुनै रोक नलगाइए सरकारले जनाएको छ । उपभोग्य वस्तुको अभाव हुन नदिन त्यस्ता उद्योग सञ्चालन गर्न कर्मचारीको आवागमन, कच्चा पदार्थ ढुवानी तथा आयात र तयारी वस्तुको आपूर्तिमा बन्देज लगाइएको छैन ।
अर्कातर्फ लकडाउन खुकुलो हुँदै गएपछि सरकार थप मोडालिटी तय गरेर जनजीवन सहज बनाउने तयारीमा छ । अहिले जनजीवन केही सहज बन्दै गएको छ । सवारी साधन आवतजावतमा केही कडाइ गरेर कार्यालय बन्द, व्यापार सञ्चालन गर्न प्रशासनले पहिलेजस्तो कडाइ गरेको छैन ।
तर, उद्योगहरू भने दिनानुदिन धराशायी बन्दै गएका छन् । सरकारी पक्षले सहज परिस्थिति बनाउने कोसिस गरे पनि घटेको माग र अन्य विविध कारण उद्योगहरूको सञ्चालन क्षमता घट्दै गएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार देशभरका अत्यावश्यक उद्योग औसतमा ४६ प्रतिशतमात्र क्षमता उपयोग गरेर सञ्चालन भइरहेका छन् । जब कि गत चैतमा यस्ता उद्योग ४५ प्रतिशत क्षमता उपयोग गरेर सञ्चालनमा रहेकोमा वैशाख दोस्रो सातासम्म बढेर ५२ प्रतिशत कायम भए पनि जेठमा भने पुरानै स्थितिमा फर्किएको हो ।
वैशाख ३० गतेसम्म सो क्षेत्रमा सञ्चालनमा आएका सबै उद्योग ५१ प्रतिशत क्षमता उपयोग गरेर सञ्चालनमा रहेका थिए । यद्यपि सञ्चालमा आएका उद्योगको संख्या भने बढेको छ ।
१० वटा औद्योगिक क्षेत्रभित्र सञ्चालित अत्यावश्यक उद्योगहरूको उत्पादन क्षमताबारे मन्त्रालयले गरेको अध्ययनअनुसार जेठ २० सम्मको संस्थागत औसत सञ्चालन क्षमता ४६ प्रतिशत हो ।यस क्षेत्रमा कुल ५९७ उद्योग छन् । जसमा १६ हजार ९७१ श्रमिक कार्यरत छन् । त्यसमध्ये ३३८ वटा उद्योगले अत्यावश्यक वस्तु उत्पादन गर्छन् ।
मन्त्रालयका अनुसार अत्यावश्यक उद्योगमा काम गर्ने श्रमिकको संख्या ११ हजार ७३६ रहेकोमा अहिले ४ हजार ९ सय श्रमिकमात्र कार्यरत छन् । मन्त्रालयले लकडाउका अवस्थामा अत्यावश्यक वस्तुहरू चामल दाल, तेल, औषधि, डेरी, खानेपानी, ग्यास, चिया, चिनी र दाना उत्पादन गर्ने उद्योगको उत्पादन क्षमता तुलना गरेको हो ।
मन्त्रालयका अनुसार अक्सिजन प्लान्ट सुरुदेखि नै शतप्रतिशत क्षमता उपयोग गरेर सञ्चालनमा छन् ।
चामल, चिउरा, दाल, पिठो, तेल, बिस्कुट, चाउचाउ लगायत सबै खाद्य उद्योग सञ्चालनमा छन् । तर, चाउचाउ बिस्कुटलगायत उद्योगको क्षमता उपयोग ८० प्रतिशतबाट ५५ प्रतिशत क्षमतामा सञ्चालनमा छन् । जबकि ती उद्योग लकडाउनअघि ८० प्रतिशत, वैशाख १३ सम्म ५० र वैशाख मसान्तसम्म ६० प्रतिशत क्षमता उपयोग गर्दै सञ्चालनमा थिए ।
यसैगरी चामल, तेललगायत उद्योग यही अवधिमा ७५ बाट ५० र ६५ हुँदै ५५ प्रतिशतमा कायम भएको छ ।
डेरी उद्योगतर्फ लोकल डेरी यथावत् चलेका छन् तर पास्चराइजेसन सहितका ठूला उद्योग सञ्चालनमा छैनन् र जसका कारण डेरी उद्योगको क्षमता उपयोग ८० प्रतिशतबाट ६० प्रतिशतमा झरेको छ । यद्यपि लकडाउका यसअघिको अवधिमा ४० देखि ५५ प्रतिशत क्षमता उपयोग गरी चलेका थिए ।
यता चिनी उद्योगको स्टक घटेको छ । लकडाउन सुरु हुँदा ५० हजार मेट्रिक टन भण्डारण रहेकोमा अहिले त्यो ४० हजार कायम भएको छ ।
दाना, ह्याचरी र पोल्ट्री उद्योग भने धेरैजसो बन्द छन् । अण्डा उत्पादनमा समस्या छैन तर अरु मागमा निकै कमी आएका कारण लकडाउन अघि क्षमताको ८० प्रतिशत उपयोग गरेकामा अहिले घटेर आधा भएको छ । त्यो पनि दाना उद्योगमात्र हो ।
मन्त्रालयका अनुसार ग्यास रिफिलिङ प्लान्ट शतप्रतिशत क्षमताअनुसार चलिरहेका छन् ।
औषधितर्फ माग नबढेको तथा सीमित सेल्फ लाइफ हुने भएकाले ती उद्योग पूर्ण क्षमतामा चलेका छैनन् । यसकारण यस्ता उद्योगको क्षमता उपयोग ८० प्रतिशतबाट घटेर ६० प्रतिशत कायम भएको छ । खानेपानी उद्योगले बोतलको पानी उत्पादन गरेका छैनन् । यसको कारण हो, रेस्टुरेन्ट तथा होटल बन्द हुनु र बोतल बनाउन आवश्क प्रिफर्म र क्याप आयात नहुनु ।
चिया उद्योगतर्फ युरोपबाट मागमा कमी आएको छ भने भारतले आयात बन्द गरेको छ । जसकारण यस्ता उद्योग ३० देखि ४० प्रतिशतमात्र क्षमता उपयोग गरी सञ्चालनमा छन् । वैशाख १३ गतेसम्म १० वटा औद्योगिक क्षेत्रमा रहेका ५९७ मध्ये १५० उद्योग मात्र सञ्चालनमा थिए । ती उद्योग पनि लकडाउनको कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् र औसत सञ्चालन क्षमता ४९ प्रतिशत थियो ।
५ सय ९७ उद्योगमध्ये १५० उद्योगमा लकडाउन हुनुभन्दा अगाडि ५ हजार १९० जना मजदुर कार्यरत रहेकोमा हाल १ हजार ६०२ जना मात्र कार्यरत रहेका थिए । वैशाख ३० गतेसम्म ३४९ उद्योग सञ्चालनमा थिए । ती उद्योग पनि लकडाउनका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् र औसत सञ्चालन क्षमता ५१ प्रतिशत थियो । ती उद्योगमा ३ हजार ४१६ जना कार्यरत थिए ।
यता जेठ २० सम्मको अवस्था हेर्दा लकडाउनको कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् र तिनको औसत सञ्चालन क्षमता ४६ प्रतिशत छ ।