बेलायती उपन्यासकार जर्ज अर्वेलको विश्वप्रसिद्ध उपन्यास ‘एनिमल फर्म’ बाट धेरै उद्धृत हुने एउटा वाक्य हो ( सबै जनावरहरू समान छन् तर केही जनावर ‘बढी समान’ हुन्छन् । एनिमल फर्ममा अधिनायकवादी शासनको पाखण्डको चित्रण कुशलतापूर्वक गरिएको छ ।
कुनै किसानको गोठमा रहेका पशुपंक्षीले एक दिन मालिकका विरुद्ध विद्रोह गर्छन् । सुँगुरहरूले गोठमा पालिएका घोडादेखि कुखुरासम्मका पशुपंक्षीलाई विद्रोहका लागि उक्साउँछन् । मान्छेको शोषणविरुद्ध विद्रोह गर्ने पशुपंक्षीको नारा हुन्छ - सबै जनावर समान हुन्छन् ।
विद्रोह सफल हुन्छ । सुँगुरहरूले बिस्तारै मानिसको ठाउँ लिन थाल्छन् । अरू पशुपंक्षीभन्दा उनीहरूको खानेकुरा धेरै र मीठा हुन्छन् । गोठभित्र सबै समान भनिए पनि सुँगुरहरूले अरू पशुपंक्षीले भन्दा धेरै सुविधा भोगेको भन्दै सुँगुरहरूको आलोचना हुन थाल्छ ।
आफूहरू समानताकै पक्षधर भएको देखाउन सुँगुरहरूले घोषणा गर्छन् ( ‘सबै जनावरहरू समान हुन् तर केही जनावर ‘बढी समान’ हुन्छन् ।’ आँखाले देखेको असमानता बिर्सेर सुँगुरको समानताको पाखण्डमा जनावरहरूले विश्वास गर्छन् ।
नेपालका राजनीतिक नेताहरू पत्याउने भिड पायो भने नजन्मदैदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको डिङ हाँक्न हिचकिचाउँदैनन् । यद्यपि, तीमध्ये कतिपयले लोकतान्त्रिक संघर्ष निस्तेज बनाउन अधिनायकवादी शासकहरूसँग साँठगाँठ गरेको इतिहास साक्षी छ ।
त्यस्ता पाखण्डीहरू चर्को स्वरमा नहिचकिचाईकन कुर्लने हो भने सत्यलाई सजिलै दबाउन सकिन्छ भन्ने ठान्छन् । उनीहरू आफैँले गरेका अपराधमा समेत लाजै नमानी अरूलाई दोषी देखाउँछन् । प्रतिवादका लागि तर्क सकिएपछि अरूलाई शक्तिको धम्की दिन्छन् ।
गिरीबन्धु टी स्टेटको जग्गा र सहकारी ठगीका विषयमा नेकपा ९एमाले०का सत्तारुढ गठबन्धनमा नेताहरूको आचरण अर्वेलको उपन्यासका पात्रहरूकै जस्तो देखिँदै गएको छ । भ्रष्टाचारका घटनाहरूमा पटाक्षेप हुन थालेपछि आफ्नो कार्यकालको निर्णयसम्त विपक्षीले गरेको भनिदिन थालेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले त गिरीबन्धु टी स्टेटको जग्गा बेच्न दिने आफू गृहमन्त्री भएको मन्त्रिपरिषद् गरेको निर्णयलाई ‘कांग्रेसका पालामा’ भएकोसम्म भने । उनले त मुद्दा फैसला गर्ने संवैधानिक इजलासका न्यायाधीशहरूसमेत बाँकी राखेनन् ।
संवैधानिक इजलासको फैसलाको पूर्ण पाठ प्रकाशित भएपछि नीतिगत भ्रष्टाचारको अवस्था कति भयावह रहेको छ भन्ने पोल खुलेको छ । सहकारी ठगीमा पनि स्वतन्त्र र निष्पक्ष छानबिन भए सम्भवतः संगठित भ्रष्टाचारको अर्को पाटो उजागर हुनेछ ।
लोकतन्त्रमा कोही पनि ‘विशेष समान’ हुँदैनन् । ढिलो चाँडोमात्रै हो जनतालाई ढाँट्ने रचिएको पाखण्ड पुराणको वास्तविकता जनताले थाहा पाउने नै छन् । त्यतिबेला आफूले गरेको अपराधमा पछुताउनुबाहेक अरू केही गर्न नसक्ने अवस्था हुनेछ । चेतना भया !