site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखले नै निम्त्याए मुठभेड ! एमाले अध्यक्ष ओली नै प्रतिवादमा वेल ओर्लिए

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको जबर्जस्तीका कारण बिहीबार सदन झन्डै मुठभेडमा परिणत भएको थियो ।  बैठक सुरुआत भएसँगै नेपाली कांग्रेसले वेलमै झरेर नाराबाजी सुरु गरेको थियो । नाराबाजीकै बीचमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गर्दै प्रक्रिया अघि बढाएका थिए । 

प्रमुख प्रतिपक्षीसहितका दलहरूले नाराबाजी गरिरहँदा सभामुखले सदन अघि बढाएको र एमाले पनि वेलमा उत्रिएपछि मुठभेडमा परिणत भएको थियो ।  सत्तारूढ नेता केपी शर्मा ओली समेत वेलमा उत्रिएपछि कांग्रेस र एमालेबीच तनावको स्थिति पैदा हुन पुगेको हो । 

आफ्ना माग राखेर सदनमा अवरोध गर्नुलाई संसदीय अभ्यासमा सामान्य घटना मानिन्छ ।  तर, प्रतिपक्षले अवरोध गरेपछि माग पूरा गर्न सरकारलाई रुलिङ गर्नुपर्नेमा उल्टै सभामुखले जबर्जस्ती सदन चलाउन खोजेपछि सदन असामान्य बन्न पुगेको हो । 

Dabur Nepal
NIC Asia

प्रतिपक्षी कांग्रेससँग राप्रपासहितका प्रतिपक्षमा रहेका दलहरुले पनि सभामुखलाई जबर्जस्ती  नगर्न ध्यानाकर्षण गराए । तर, सभामुख प्रतिपक्षलाई गलाउने रणनीतिमा देखिए ।  सभामुख घिमिरेले नाराबाजीको स्वर मधुरो भएपछि पुनः कार्यसूचीमा प्रवेश गर्ने क्रम जारी राखे । 

प्रतिपक्ष दलहरू अझै उत्तेजित हुँदै नाराबाजी गरिरहे । यतिकैमा सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए ।  वेलमै नाराबाजी गरेका प्रतिपक्षीले बाटो अवरोध गरे । सभामुखले प्रतिपक्षी सांसदहरूलाई बस्न आग्रह गर्दै गृहमन्त्री लामिछानेलाई भनाइ राख्न रोष्ट्रममा बोलाए ।

लामिछानेलाई कांग्रेसले रोकेपछि एमालेका सांसदहरू पनि उत्तेजित हुँदै बोल्न दिइनुपर्ने उडान राखे ।  प्रतिपक्षी सांसदहरूले थप नाराबाजी गरेपछि सत्तापक्षीय बेञ्च जुरुकै उठेको थियो ।  प्रतिपक्षीको नाराबाजीविरुद्ध सत्तापक्षीय सांसद पनि प्रतिपादमा उत्रिएपछि मुठभेडको अवस्था बनेको हो । 

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओेली स्वयम् नै आक्रोशित हुँदै उत्रिएपछि कांग्रेस सांसदहरूसँग भनाभन भयो । कांग्रेसका उपसभापति धनराज गुरुङसँग भनाभन भइरहँदा एमालेका सांसदहरूले उनलाई धकेलिदिएका थिए । केहीबेर कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भयो । तर एमाले सांसदहरुले कांग्रेस उपसभापति गुरुङ ओलीमाथि आक्रमणमा उत्रिएको दाबी गर्दै आएका छन् । 

सभामुख घिमिरेले यी दृष्यहरू टुलुटुल हेरिरहेका थिए । सदनमा ओलीमाथि प्रतिपक्षी सांसदहरू खनिएपछि सभामुख आत्तिएका थिए ।  नाराबाजी अझै चर्किएर थप द्वन्द्वको अवस्था बनेपछि बल्ल सभामुख घिमिरेले गृहमन्त्रीलाई आसन ग्रहणका लागि आग्रह गर्दै बैठक स्थगित गरे । 

०४८ देखि ०५१ सालसम्म सभामुख बनेका दमननाथ ढुंगानाले एकजना मात्र सांसद उठ्नुलाई पनि संसद् अवरोध मानिन्छ भन्ने नजिर स्थापित गरेका थिए । 

अन्तरिम संसद् हुँदै दुवै संविधानसभामा सभामुख र अध्यक्षको भूमिकामा रहेका एमाले नेता स्वर्गीय सुवास नेम्वाङले ढुंगानालाई नै कोट गर्दै अवरोधमा बैठक  सञ्चालन हुन नसक्ने पटक–पटक दोहोर्‍याउने गरेका थिए ।  

तत्कालीन सभामुख ढुंगानाले नै सदन प्रतिपक्षको हुने भन्दै प्रतिपक्षको कुरा सरकारले सम्बोधन गर्नुपर्ने भनेर नजिर स्थापित गरेका थिए । 

तर, बिहीबारको बैठक देखेर पूर्वसभामुख ढुंगाना नै छक्क परेका छन् । उनी प्रमुख प्रतिपक्षले नै अवरोध गरेपछि बैठक सञ्चालन गर्ने विषयमा सभामुखले संयमता अपनाउन नसक्दा मुठभेड भएको बताए ।   

“मुख्य प्रतिपक्षीले अवरोध जारी राख्छ, समाधान हुँदैन भने पनि मुठभेड नहुने अवस्था निर्माण गर्न लाग्नुपर्थ्यो । तर, मुठभेड निम्त्याइयो,” पूर्वसभामुख ढुंगानाले भने, “नमिल्ने भए मुठभेड हुन्छ भन्ने भयो भने भोलिलाई सार्न सक्नुहुन्थ्यो । मुठभेडमा सदन नचलाइएकै राम्रो हुन्थ्यो ।”

आकस्मिक रूपमा मात्र नभएर लामो समयदेखि सदनमा अवरोध जारी रहेको भन्दै प्रतिपक्षीको माग सम्बोधन हुन सक्ने हो होइन त्यसमा सभामुखले पनि विचार गर्नुपर्ने उनको भनाइ थियो । तर, सदन नै नियमानुसार नचलेको कारण  धेरै समस्या निम्तिएको बताए । 

“सदन नियमानुसार चलिरहेको छैन । जब नियम तोडिन्छ नि नियम नतोड्नेले पनि दुःख पाइराख्छ । यस्तो अस्तव्यस्ततामा चलेपछि केही पनि कुरा यसरी हुनुपर्थ्यो भन्न सकिँदैन,” ढुंगानाले भने, “नयाँ सदन सुरु हुँदा राष्ट्रपतिले सदन बोलाएको पत्र पनि पढिएन, अन्य गर्नैपर्ने काम पनि गरिएन । खाली सत्ता संघर्षले संसद्को कारबाही रोक्न मिल्दैन । तर यसरी प्रमुख प्रतिपक्षी नै सहमत नभएको बेला कारबाही कसरी चलाउने भनेर सभामुख नै संयम रहनुपर्थ्यो ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro