site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतामा नेपाल र चीन सरकारको कुनै द्वीविधा नभएको स्पष्ट पारेका छन् ।

सञ्चारकर्मीसँग आज मन्त्रालयमा कुरा गर्दै उनले राजधानीबाट प्रकाशित केही छापा माध्यममार्फत सार्वजनिक भएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री डा महतले परराष्ट्र सम्बन्ध जस्तो अतिसंवेदनशील विषयमा हल्का ढङ्गले समाचार नलेख्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गर्दै भने, “परराष्ट्र विषयसँग जोडिएको समाचार नियोजित ढङ्गले आएको महसुस भएको छ ।”

त्यस्तै मन्त्री डा महतले भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उच्चस्तरीय भेटवार्ता पनि मुलुकको हितमा नै रहेको स्पष्ट पारे । उनले भने, “नेपालको कुनै पनि नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधि बिना विदेशी नेता वा प्रधानमन्त्रीलाई भेट्नै हुदैन भन्ने छैन्, प्रतिनिधि राख्दा राम्रो ।”

समाचारमा उल्लेख भएअुनसार नेपालका गतिविधिप्रति चीनको आपत्ति भन्ने सम्बन्धमा मन्त्रालयले आज नेपालस्थित चिनियाँ राजदूतावासका पदाधिकारीसँग छलफल गर्दा उहाँहरु सन्तुष्ट नै रहेको मन्त्री महतले जानकारी गराए ।

उनले दुवै छिमेकी मुलुकसँगको सरकारको धारणा समान रहेको बताउँदै निकट भविष्यमा चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुने र त्यसको तयारी भइरहेको विचार व्यक्त गरे । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  २१:४२
प्रतिक्रिया दिनुहोस्