site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुनावी रणनीति बनाउँदै एमाले मधेस झर्‍यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । बिहीबार भारतीय राष्ट्रपतिको भ्रमणले काठमाडौंमा राजनीतिक माहौल तताइरहेको बेला प्रमुख प्रतिपक्षी पार्टी एमालेका शीर्षस्थ नेताहरू भने मधेस हानिए ।
नेपालीहरूको ठूला चाड दसैं, तिहार, नेपाल सम्वत् र छठको सन्दर्भ पारेर एमालेले २ नम्बर प्रदेश कमिटीले जनकपुरको धनुषामा चियापानसहितको सभाको आयोजना गरेको हो । एमाले दुई नम्बर प्रदेश आयोजक रहेको सभामा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल,  महासचिव इश्वर पोखरेल, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय योगेश भट्टराई, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट सांसद रवीन्द्र अधिकारीलगायत एमाले शीर्षस्थ नेताहरू उपस्थित भएर पार्टीका धारणा राखेका थिए । 
सभामा दुई नम्बर प्रदेशका अतिरिक्त अन्य प्रदेशका नेता– कार्यकर्तासमेत उपस्थित रहेको एमालेले जनाएको छ ।
“एमाले कसरी मधेस छिर्दोरहेछ हामी पनि हेर्छौं भनेर मधेसकेन्द्रित लगायत अन्य प्रतिष्पर्धी पार्टीले हामीलाई खबरदारी गरेका थिए, पार्टीको योजना अनुसार नै हामीले जनकपुरमा सभा आयोजना गरेका हौँ,” कार्यक्रमबारे स्थायी कमिटी सदस्य एवम् एमाले दुई नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बाह्रखरीसँग भने ।
सभाले मधेसमा सकारात्मक सन्देश छरेको बताउँदै मधेसमा नयाँ तरंग नै पैदा गरेको उनको भनाइ थियो । “जिल्ला–जिल्लामा स–साना कार्यक्रमहरू त भइरहेकै थिए तर प्रदेशस्तरीय सभा यो पहिलो हो, यसले मधेसका जनतामा नया उत्साह सञ्चार गरेको छ, यसलाई अभियानै रूपमा अघि बढाउँछौँ,” उनले बताए ।
“विशेष गरेर मधेस आन्दोलन पछाडि एमालेलाई मधेस विरोधी पार्टीको रूपमा जवरजस्त उभ्याउन खोजियो । वास्तवमा त्यस्तो थिएन, गरिबी, अशिक्षा, बेरोजगार नै मधेसको प्रधान शत्रु हुन् तर एमालेलाई बनाउन खोजियो, यसलाई हामीले चिर्न सफल भयौं,” मण्डलले सभाबारे प्रष्ट्याए । 
उनकाअनुसार यो आगामी स्थानीय तह र प्रदेशको हुन लागेको चुनावी रणनीति पनि हो । 
सभामा एमाले वरिष्ठ नेता नेपाल र ईश्वर पोखरेलले मैथलीमा भाषण गर्दै पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मधेसमा पर्याप्त बजेट विनियोजन गरेकाले एमालेले मधेसमा द्रुततर गतिमा विकास चाहेको बताएका थिए ।
एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा  थपे, “एमाले कसरी मधेसमा छिर्छ भन्नेहरूको मुखमा बुझो लागेको छ, एमाले मधेसमै थियो, छ र मधेसी जनताको वास्तविक पार्टी एमाले नै हो भन्ने सन्देश सभाले दिन सफल भएको छ ।”
श्रेष्ठले पनि यसलाई चुनावी अभियानको पहिलो खुड्किलो भएको बताए । “यो चुनावी अभियान पनि हो, चुनावी वातावरण तयार पारेर छिट्टै तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नुपर्नेछ, त्यसमा एमालेले प्रमुख भूमिका खेल्नुपर्छ, पार्टीको जागरण अभियान त्यसैको प्रारूप हो,” उनले बाह्रखरीसँग कुरा गर्दै भने । 
धनुषा सभाले मधेसमा जागरण पैदा गरेको दाबी गर्दै उनले थपे, “वास्तवमा मधेसी जनतामा उकुस–मुकस छाएको रहेछ । एमालेले आह्वान गर्नेवित्तिकै जनता स्वतःस्फूर्त उपस्थित भए । यसले हामीलाई पनि उत्साहित तुल्याएको छ ।”
सभामा उपस्थित हुन नदिन अनेक प्रपञ्च रचिएको बताउँदै उनले भने, “एमालेको कार्यक्रम स्थगित भयो भनेर स्थानीय एफएमहरूबाट पनि फुकिएको रहेछ, भारतीय राष्ट्रपति आउने अघिल्लो दिन किन कार्यक्रम गर्नुपर्‍यो ? भोलिपल्ट या पर्सिपल्ट आयोजना गरे हुन्न ? भनेर पनि भनिएको थियो, त्यो सबै एमालेको सभालाई प्रभावित पार्न गरिएको थियो, ती प्रयास पनि निस्तेज पार्‍यौँ ।”
झलनाथको स्पष्टिकरण
सभामा पार्टी वरिष्ठ नेता झलनाथ खनालले मधेसमा एमालेविरुद्ध भ्रम फिँजाइएको भन्दै स्पष्टिकरण दिएका थिए ।
आफूले प्रदेश विभाजन गर्दा धोती चिरा पारेसरह टुक्रा पार्न नहुने, सगरमाथाको शीरदेखि राजविराजको तिरसम्मका भू–भाग एक आपसमा छुट्याउन नहुने आसय व्यक्त गर्दा मधेसकेन्द्रित दलले मधसी जनतालाई ‘धोती भन्यो’ भनेर प्रचार गरिएको बताउँदै उनले प्रष्ट्याउन खोजेका थिए, “मैले काँक्रो र धोतीजसरी चिरा पारेर प्रदेश बनाउनुहुँदैन भन्दा मधेसका जनतालाई धोती भन्यो भनियो, यदी तपाईंहरूलाई यसबारे चित्त दुःखेको छ भने आजैबाट यो शब्द भन्न छाड्छु, फिर्ता पनि लिन्छु ।”
धनुषा सभा वास्तवमा एमालेविरुद्धको भ्रम निवारणकै लागि आयोजना गरिएको मण्डलको दाबी थियो । श्रेष्ठकाअनुसार एमालेले अब माघसम्म मधेसका विभिन्न जिल्लामा शीर्ष नेताहरु पुग्ने पनि बताए । 
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  ११:४०
प्रतिक्रिया दिनुहोस्