site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बोझिलो बुढ्याईँ र कलिलो क्रन्दन 

माता तीर्थ औँशी (आमाको मुख हेर्ने दिन) मा आमाप्रति श्रद्धा र स्मरण गरिन्छ । कुशे औँशीमा ‘पितृ देवो भवः’ को भावमा बाबालाई पुजिन्छ । सन्तानको माया र ममताको लाड प्यारमा आपसी नैसर्गिक तादात्म्य गाँसिदो रहेछ । मान्छेमा मात्र होइन, गाईले आफ्नो कलिलो सन्तानलाई जिब्रोले चाटेर माया दिन्छ । बाख्रीले पनि पाठापाठीलाई सकेङमा स्तनपानको जानकारी दिइरहेको हुन्छ । उसलाई थाहा छ; स्वतन्त्र नाचिरहेका, उफ्रिरहेका बच्चालाई कतिखेर बोलाउने । कुखुराले चारो खोज्छ, आफ्नो पेट भोकै भए पनि चल्लाका लागि अर्पिन्छ । बिरालो सन्तान रक्षाका निम्ति आफ्नै ज्यानलाई दाउ थापेर कुकुरमाथि झम्टिन पुग्छ । सन्तानको मायामा ऊर्जा जाग्दो रहेछ । पशु, प्राणी सारा सृष्टिमै आमाको माया सन्तानका लागि कति अमूल्य हुँदो रहेछ ? कति दर्बिलो छ ममताको आदर्श । 

संस्कृतिले रुढीबाहेक पनि अनुशासनमा समाजलाई सजाएको हुँदो रहेछ । हाम्रा इतिहास, वेद, शास्त्र, पुराणमा मातृ हृदयको आदर र आदर्शलाई प्राकृतिक शक्तिमा एकाकार बनाइएका हुन्छन् । नौ महिना कोखमा राखेर अनेक पीडा र वेदनालाई आमाले भोगेकी हुन्छिन् । प्रसव वेदनासँग जीवन मृत्युको दोसाँधमा आमाले सन्तानलाई जन्म दिन्छिन् । गरिबीको रापमा पिल्सिएकी आमा छिन् भने अभावका सोपानसँग सन्तानकै विकासार्थ जुध्छिन् । जाडो गर्मी भोकतीर्खा, रोगशोकबाट बँचाउँदै देखभाल गरेर हुर्काउँछिन् ।

दिसापिसाब सोहोर्दै तातेताते गरेर बढाउँछिन् । तुलनात्मक हिसाबमा बाबाभन्दा आमाको योगदानकै कारणले होला मातृबात्सल्यलाई शिरोधार्य गरेर सन्तानले जीवनका गोरेटाहरूलाई चलाउँछ । आमा नभए जोसँग गाँसिएको छ ममताको तार उसैको सहारामा जिउँछ – मानिस ।  आमाबाबाको आशीर्वचन नै सन्ततिका प्रगति पथ बन्छन् । जन्म दिएपछि कति ममताले कर्म दिएर हुर्काएका पनि होलान् । बाबाको कर्मशीलता या त कोही अग्रजको सहाराले बाटो दिएको होला । एउटा जीवनको प्रारम्भसँग ठूलो हिस्सा गाँसिँदो रहेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

विडम्बना, त्यही सन्तान हुर्केबढेपति अहम् भावमा पौडिँदा बालापनको मार्गदर्शकलाई बिर्सन पुग्छ । बिस्तारै जवान बन्छ, त्यो त प्रकृति हो हुनुपर्छ । बरू नबन्दा समस्या हो । उता बुढ्याईँले डाँडा पारीका जुन बन्दै गएका बाबाआमा भने त्यही सन्तानका लागि बोझ बन्छन् । बुढेसकालमा स्वाभाविक हो, कर्म गर्ने शक्ति क्षीण बन्दै जान्छ । स्मरण वा सुद्धि पनि स्वभावैले कमजोर बन्छ । बोझ त बन्ने नै भए अनि बुढेसकालको सहारा भनिएको निष्ठुर छोराले वृद्धाश्रममा लगेर छोडिदिन्छ । पाषाण हृदयको पीडाले अश्रु बहाएकी आफ्नी आमाले त्यै सन्तानको दर्शनको आशा राख्नुपर्छ । सुटबुटमा सजिऐको सन्तानले छिः छिः र दूरदूर गरिरहँदा ती ममतामयी हृदयले आफ्नो सन्ततिलाई देखिसक्दा अतालिएर छाँद हाल्न वृद्ध वदनलाई सकिनसकी घिसार्छिन् । भावले गहभरी आँसु बहाउँछिन् । हिजो सासूससुराको दलन हुन्थ्यो आज बुहारीको चर्को दमन र आडम्बर बढेको छ । कति दलन र अपहेलनालाई भुल्छिन्– वृद्ध आमा । तै पनि त्यो पाषाण हृदय पग्लिँदैन । सन्तानको मायामा रहेर रमाउन चाहेका बूढेसकालको सहाराले पैसाभन्दा ठूलो अरू केही नदेखेपछि मृत्युका दिन गन्नु सिवाय बाँकी विकल्प बच्दो रहेनछ । 
दुनियालाई पद, पैसा र प्रतिष्ठाको भूत चढ्दै गर्दा ममता र भ्रातृत्व मरिरहेको छ । बाँचुन्जेल आमाबाबालाई वास्ता नगर्ने पुत्रले मरेपछि तिनका नाममा गरिएका श्राद्ध, दान, पुण्ये ढोंग होइन र ! हिजोको तुलनामा समाज दिनानुदिन कठोर बनेर लालची दलदलमा फसिरहेको छ । दीनहीन वृद्धवृद्धाका लागि, जवानीमा कति खानेलाउने मन हुँदा अभावले छोडेन । अहिले अभाव नहोला तर खटनमा चल्नुपर्छ । गालासँगै चाउरिन्छ सन्तान स्नेह । कतिका लागि रोगका कारणले धक खोलेर आँत मार्ने गरी खाने इच्छा नै अधुरै रहन्छन् । 

कार्यगत व्यस्तताभित्र हराएका मानिसभित्र मानवता भन्ने कुरै खतरामा बाँचेको हुँदो रहेछ । हिजो हाम्रो समाजले पापको डर राखेर पनि मानवीय कर्म गथ्र्यो । धर्मको नामबाट बाटो, धारा, चौतारा बनाउने मानवीय भावमा समाजको सेवा भइरहेको हुन्थ्यो । आज आधुनिकताको नाममा आफ्नो भाषा, भेष, पर्व र कतिपय वैज्ञानिक तथा उपयोगी संस्कार समेत पतन भइरहेका छन् । रूढीवादको संज्ञा दिएर हामीले अत्याधुनिकताको सदुपयोगभन्दा अन्धानुकरण गर्दै आफ्नै पहिचानलाई समेत बिर्सिँदै गइरहेका छौँ ।

Global Ime bank

बाध्यताको जोहो या त अलिकति त फेसन, अर्काको अन्धानुकरण र रवाफकै कारण पनि धेरै युवा पिँढीले आफ्नै मातृभाषा जान्दैनन् । विभिन्न पर्वहरू मनाइन्छन् तर त्यसको इतिहास थाहा भइरहेकै हुँदैन । यद्यपि एउटा गर्व गर्न लायक कुरा हो– यस्ता विषयमा सञ्चार क्षेत्रले गरेका खोज र प्रचार साँच्चै नै सराहनीय लाग्छन् । हो सबैका सन्तान कठोर हुँदैनन्, ममताको रसलाई चाखेर बडो प्रेमसँग सुख दुःखमा रमाउँछन् । त्यहाँ आदर्श परिवारले बाँच्दो रहेछ । संस्कृतिले बाँच्ने अवसर पाउँदो रहेछ, पहिचान अटल रहँदो रहेछ । सबैका अभिभावकले आफ्ना सन्तानको आशा चुँडेका हुँदैनन् तर जहाँ चुडिन्छ त्यसले बाल मनोविज्ञानमा हमला गर्दो रहेछ । यसको परिणाम स्वरूप खोसिएको मायामा एउटा मन तड्पिँदो रहेछ ।

कलिलो क्रन्दन

एकातिर दिनभर ठेलामा तरकारी बेचेर होस् वा सडकको छेउमा धुवाँ र धुलोसँग मितेरी गाँसेर नाङ्लोमा अलिकति सामान फिँजाएको कमाइले होस्, सन्तानलाई राम्रो शिक्षा प्रदान गर्ने कुरामा आमाबाबा तल्लीन हुन्छन् । विदेशमा मरूभूमिको तातो रापमा पिल्सिएर होस् या त सन्तानको भलाइ नै सबै ठानेर दिनरात मिहिनेतमा घोटिइरहँदा रहेछन् । के गाउँ के सहरका यस्ता तमाम आमाबाबालाई हेरिरहँदा अर्कातिर कोही आमाबाबा यस्ता पनि हुँदा रहेछन् जसले सन्तान परित्याग गरेर दोस्रो घर बसाउँदा रहेछन् । आज ममतामा समेत विचलन बढेकोे देख्दा सन्तानको मायामा बाबाआमा कति कठोर बनेका भैmँ लाग्छ । 

बाल अधिकार हनन र हृदयविदारक प्रहार आज सडकमा मात्र हैन घर, समाज, चोकभित्र दिनानुदिन भइरहेका छन् – हिजोभन्दा अलिक फरक ढङ्गले समेत । आमा एकातिर, बाबा अर्कातिर अनि बच्चाले कसरी जिउने ? आज यो जटिल समस्याको सिकार भएका बच्चाको अधिकारलाई कानुनले के भन्छ ? एकातिर अधिकारका नाममा हाम्रो संस्कृति र सामाजिक न्याय नै कलङ्कित भएको छ । ‘बाबाले घरमा अर्की आमा ल्याउँछन् । पहिलो परिवार काउछो बन्छ । बिस्तारै आमा पनि अर्कोसँग जान्छिन् अनि त्यो बच्चा धर्तीमै जीवित आमा बाबाको टुहुरो सन्तान झैँ बन्दो रहेछ । त्यसपछि त्यो सन्तानमा शारीरिक, मानसिक हिंसा र दुर्व्यवहारको सिकार बन्दै जान्छ । अझ बाबाले ल्याएकी अर्की आमाको आडमा बाँचेको झर्के र बोझिलो सन्तानको दिनचर्या मनोवैज्ञानिक रूपमा उमेर बढेसँगै साह्रै पीडाप्रद हुँदो रहेछ ।
आमासँगको तार जन्मपूर्वकै अवस्थाबाट गाँसिएकाले होला बाबाले अर्की आमालाई भित्रयाउँदा भन्दा पनि धेरै आमाले छोडेर अर्कैसँग गइदिँदा सन्तानको जीवन धराशायी बन्दो रहेछ– प्राकृतिक रूपमा आँकलन गर्दा । कतिपय बच्चालाई आमाले पालन पोषण गरिरहँदा बाबाले फकाएर आपूmसँग तान्न खोज्दा रहेछन् । कति आमा अर्कैसँग गएपछि सन्तानलाई सँगै लैजाने होड चल्दो रहेछ । सन्तानले बाबा आमाको संयुक्त स्नेह खोजिरहँदा उल्टो अचानोमा बच्चा पर्दो रहेछ । सन्ततिले जन्मदिने आमा र जन्माउने बाबालाई कसरी तुलोमा जोखेर हेर्ने ? अन्ततः उसको पहिचानमै सङ्कट उत्पन्न हुँदो रहेछ । छोराछोरीले कस्को सहारामा बाँच्ने ? भवितव्य परे त चित्त बुझाउने बाटो बन्ने रहेछ तर दुःखमा रूँदा आखिर आमा कस्लाई भन्ने ? या त सुखमा खुसी कोसँग बाँड्ने ? बजारमा चक्लेट देख्दा कोसँग लाडे स्वरमा किनिमाग्ने या नपाए लडीबुडी गरेर किनिदिन आग्रह गर्ने ? बाटामा अरुका बाबाआमाले आफ्ना छोराछोरीलाई हातमा डोर्याएको देख्दा त्यो बच्चाको मन कस्तो होला ?’ 

कानुनका पानामा बहुविवाहका कुरा छन्, पारिवारिक सम्बन्धका विषय मुलुकी ऐनबाटै छन् । भदौ १ गतेबाट लागु कानुनभित्र आमाबाबाले छोडेका सन्तानको आवाजलाई कसरी सम्बोधन भयो ? जुन बच्चाले न त नियम जान्दछ न कानुन के उसले आमाबाबाको पारिवारिक माया नपाउँदा न्याय माग्न जान्दछ, सक्छ या त सम्भव छ ? जुन औँलामा विष लाग्छ त्यै झर्छ । नैतिक आदर्शको दृढतामा भए ममतामा विचलन हुने प्रश्नै उठ्दैन । आपैmँ सचेत आमाबाबामा भने सन्तान प्रेम र आदर्श आचरण नै सफल जीवनको द्योतक बनिरहेकै हुन्छ । कर्तव्य या बाध्यता सम्झेर बच्चालाई होस्टलमा राखिएका हुन्छन् । आमासँग बसेकी, आमाले विद्यालयको शूल्क तिरेर पढाएकी छोरीलाई बाबासँग भेट्न नदिनु भनिरहँदा विद्यालयमा बाबा आएर भेट्न चाहन्छन्, प्रशासनलाई समेत अप्ठ्यारोमा पार्न भ्याउँछन् । 

सामान्य बुझाइमा विवाहित छोरीको थर परिवर्तित हुने गर्छ । सन्तानको थर बाबाको थरबाट निर्धारित हुने नियम छ । यद्यपि आमाले पतिको थर फेरेर आफ्नो माइतीको थर राख्छिन् । आमा अन्यायमा हुँदा झनै गाह्रो रहेछ । अर्कोतिर आमाले बाबासँग सम्बन्धविच्छेद गरी मावलीको थर राखिएको व्यक्तिले भोलि कोसँग अंश माग्ने । नागरिकता मावलीको थरबाट बन्ला त ? भवितव्य या दुर्घटनाको पीडाभन्दा बच्चालाई जीवित आमाबाबाले खोसेका आड र काख हृदयविदारक बन्दो रहेछ ।

ममता टुटाइएको या पितृत्व खोसिएका अर्थात् दुवैले आ–आफ्नो स्वार्थमा लिप्त भएर कोही आफन्तका आडमा छोडेर घर बसाएका होऊन्, यसको सिकार त बच्चै बन्ने रहेछ । आमासँग बसे बाबाप्रति र बाबासँग भए आमाप्रति बच्चाको मस्तिष्कमा विरोधी भाव उत्पन्न गराउने कसरत समेत चलाइँदो रहेछ । समग्रमा आमाबाबाको कमजोरी र महत्वाकाङ्क्षाले निर्दोष सन्तानको भविष्य सङ्कटमा पर्दो रहेछ । कति दूधे बालकका ममता चुँडिइरहेका छन् त कति चरित्रहीनताका कारण जीवित भएकै बाबाको पितृत्व भाव खोसिएको छ । 

सन्तानका ममतामा बज्र हानिएका घटनाले समाज नै रूढीग्रस्त बनिरहेको छ । आमा बाबाको यौनपिपासु चरित्रले बच्चाले आफ्नो पहिचान नै गुमाउनु पर्दो रहेछ । मानिसमा नैतिक ज्ञान र आदर्श अनुशासनका कुराहरू दिनानुदिन ह्रास भइरहेका छन् । प्रेममा विचलन छ । आपसी सम्बन्धमै विश्वास घटिरहेको छ । जति आधुनिकताको विकास हुँदै छ त्यति यो विकृति बढिरहेकै छ । कोही आमा बाबा सन्तानको लोभानीपापानीको सिकार बन्छन्, उपेक्षित बन्छन्, सन्तान दमन र प्रेमको अभावबाट मनोरोगी बन्छन् । कति सन्तानमा आमाबाबाको कमजोरी र सूक्ष्म चाहनाको अचानोमा परेर मनोवैज्ञानिक असर पर्दो रहेछ । त्यो कलिलो क्रन्दनले अभिभावकत्व कसरी पाउँछ ! अनि त्यहाँ अनेकौं हिंसाको सिकार बनेका र बन्नुपरेका पीडा कति होलान् ! आखिर मानवीय आदर्शलाई नै प्रहार गरिरहेका वृद्ध आमाबाबा अनि निर्दोष कलिला सन्ततिका जीवनमा बगिरहेको रोदन अश्रु सामान्य पक्कै लाग्दैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC