बाह्रखरी
भर्खरै
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दहीको कचौरा र बा  डा. नम्रता पाण्डे 
बाह्रखरी - मंगलबार, भदौ २६, २०७५
Laxmi Bank
Laxmi Bank

आमा स्वर्गे भएको ५ वर्ष भइसकेको थियो । बुबा छोराबुहारी र नातिनातिनाको अनुहार हेरेर, जेजस्तो व्यवहार गर्छन् स्वीकार गरेर समय कटाइरहनु भएको थियो । छोराछोरी हजुरबुबासँग खेल्ने, पुराना कहानीहरु सुनेर दंग पर्ने र हजुरबुबाको काखमा लुटुपुटु गर्दै अनेक प्रश्नहरु गरेर हाँसो र खुसीको वातावरण बनाएको देखेर छोरालाई पनि भित्रभित्रै खुसी लाग्थ्यो । तर, आमाको अभाव छोरामा भन्दा बाले धेरै महसुस गरेको भाव सजिलै बाको अनुहारमा पढ्न सकिन्थ्यो । आमाको अभाव बालाई कसरी व्यक्त गर्ने छोरालाई कठिन हुन्थ्यो ।

बालाई साथ दिने व्यक्तिको कमी छोरालाई महसुस हुन्थ्यो । बाको भावना बुझे पनि सबै कुरा मनमै दबाएर उनुुबाहेक अरु उपाय थिएन छोरासँग । अरुभन्दा पनि दिनहुँ खाना खाने बेलामा आफ्नी पत्नीले दहीको कचौरा आफूलाई मात्र दिने गरेको र बालाई छुट्ट्याउने गरेको देखेर आश्चर्य लाग्थ्यो । उनी पत्नीलाई आँखा तर्दै खोइ बुबाको लागि दही भन्ने संकेत गर्थे तर पत्नीले बुझेर पनि नबुझेजस्तो गर्थिन् । दिनहुँ एक कचौरा दहीको कारण खाना खाएर कार्यालय जाने समयमा छोरालाई अशान्ति हुन्थ्यो । मनमनै सोच्थे हामी बसेको यो घर बाले बनाउनु भएको हो । बाको जीवनभरको कमाइ यही घर बनाउन खर्चिनु भयो । बाको पेन्सनले घरखर्च चलेको छ र पनि बुहारीले एक कचौरा दही किन छुट्ट्याउँछिन् ? छोराले यही विषयमा घरकलह निम्त्याउन  पनि सक्दैनथे । बुहारीले बालाई गरेको व्यवहारप्रति भने उनको चित्त बुझेको थिएन ।

Rohto Landing

Agani Group

एकदिन साँझ घर फर्केपछि छोराले बालाई भने – बा मैले हजुरको विवाहको लागि बन्दोबस्त गरिदिएको छु । एकजना असल एकल महिला भेटेको छु । म पत्नी र छोराछोरी लिएर अपार्टमेन्टमा बसाइ सर्नेछु । बा हजुर सानीआमालाई लिएर यो घरमा बस्नुहोस् । बा भन्नुहुन्छ – किन बाबु अहिले आएर यस्तो कुरा गर्छौ ? तिमीहरु घरबाट निस्कने, म विवाह गरेर यति ठूलो घरमा बस्ने ? मेरा नातिनातिना छोड्न सक्तिन म बाबु । म तिनीहरुकै मुख हेरेर तेरी आमालाई बिर्सने कोसिस गरेको छु । मलाई नातिनातिनाको प्रेम र साथ नै काफी छ । छोराले भने होइन बुबाहजुरको आफ्ना सन्तानप्रतिको प्रेम म सजिलै बुझ्न सक्छु तर एक कचौरा दहीको मूल्य के हुन्छ त्यो पनि म सिकाउन चाहन्छु । 

यो कहानी सत्य होला नहोला तर यसले सत्यको एउटा पक्ष उजागर गर्छ । समाजको यथार्थ चित्रण गर्छ । हाम्रा बाआमा बृद्ध हुँदै गएपछि, अझ एकल भएपछि र जतिबेला हाम्रो साथ चाहिन्छ त्यतिबेला हामीले गर्ने भेदभाव र दिन नसक्ने प्रेम अनि आफ्नो बा र पतिका बालाई गरिने भेदभाव पनि यसमा सजिलै झल्किन्छ ।

sarbottam cement

एउटा कथन छ – पहिले शरीरको मृत्यु हुन्थ्यो आत्मा भट्किन्थ्यो । आजकल आत्मा मरेको छ त्यसैले मानिस भट्किएका छन् । जीवनभर बुबाको साथ चाहिने हामीलाई उहाँलाई साथ चाहिँदा समय दिन नसक्ने ? जसले हुर्कायो, बढायो, हरेक सुख दुःख स्वीकार गरी सन्तानको भविष्यको लागि जीवन दियो उसको लागि समय छैन, उसको लागि प्रेम छैन, भक्तिभाव र श्रद्धा छैन भने कुन मार्गमा हिँडिरहेका छौँ हामी ? जीवन के हो ? प्रगति र सफलता के हो ? कसका लागि हो ? गहिराइमा गएर छुट्टयाउन सकिएन भने जीवनको उत्तराद्र्धमा पश्चाताप भोग्नुबाहेक अरू उपाय रहँदैन ।

बालाई सन्तानले दिनसक्ने सन्तोष हो । त्यो सन्तोष कुनै सम्पत्तिले नभएर सानो चिज र सानोसानो व्यवहारमा लुकेको हुन्छ । सफलता ठूला संघर्षले प्राप्त होलान् तर खुसी सानोसानो कुराबाट मिल्छ । मीठो बोली, प्रेम, भित्रै हृदयदेखिको हेरचाह र समय दिनुमा मिल्छ ।

समय मिलाएर सँगै बस्ने, कुराकानी सुनिदिने, उहाँको भावनाको कदर गर्ने र जे बोल्नुहुन्छ त्यसलाई महत्त्व दिएर सुनिदिने, सिकाउने कोसिस नगर्ने । बाले सिकाएर, बाको मार्गनिर्देशनअनुसार हामी हुक्र्योँ, बढ्यौं यहाँसम्म पुग्यौं । विडम्बना, हामी उहाँलाई नै सिकाउन पटक्कै धक मान्दैनौं । बासँग बसेर कुराकानी गर्दा जुन भावदशा बुझ्न पाइन्छ जुन कुराहरुको महत्त्व थाहा हुन्छ त्यो गुगलमा खोजेर पत्ता लाग्दैन । आफैंँले धेरै दुःख गरेजस्तो, धेरै कमाएजस्तो, आफ्ना सन्तान र पतिपत्नीलाई धेरै समय दिनुपर्ने बाध्यताजस्तो व्यवहार र वचन बा समक्ष प्रस्तुत नगर्ने । बासँग ठूलो स्वरमा नबोल्ने, ठूलो स्वरमा बोल्दा केही गल्ती नै भएछ कि भनेर उहाँको चित्त दुख्न सक्छ ।

बाले औषधि खानुहुन्छ र आफू झिकेर खान सक्नुहुन्छ भने पनि बाको छेउमा गएर आफैँ औषधि झिकेर खान दिने । बाको स्वास्थ्य ठीक नै छ भनेपनि डाक्टर देखाउन जानुपर्छ कि भनेर बेलाबेलामा सोधपुछ गर्ने । खाना, खाजाको समय मिलेको छ कि छैन सोध्ने । कुनै बिमारीले गर्दा खान नहुने चिज छ भने पनि के खान मन लागेको छ भनेर सोध्ने र खान नमिल्ने कुरा छ भने बिस्तारै सम्झाउने, चर्को स्वर गरेर बिरामीले कहाँ यस्तो खान्छन् भन्दा चित्त दुख्न सक्छ । सधैँ आदर भाव, प्रेम प्रकट गर्ने र उहाँको अगाडि बस्दा प्रशन्न चित्त गर्ने, खुसीका कुराहरु मात्र सुनाउने । बाको कारणले आफ्नो जीवनमा प्रगति भएको छ जस्ता कुरा गर्ने । म साथमा छु नि जस्ता ढाडस मिल्ने शब्दले मात्र पनि बालाई खुसी मिल्छ । जीवित छँदै बाको सेवा गर्ने र प्रेम दिने काममा कुनै पनि सन्तान चुक्नु हुँदैन ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, भदौ २६, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्