राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा जारी भएको संयुक्त वक्तव्यमा गम्भीर त्रुटी भएको राप्रपा नेपालले ठहर गरेको छ । हालै भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भएको सहमतीबारे राप्रपा नेपालले वक्तव्य निकालेरै आपत्ती जनाएको छ ।
मंगलबार जारी गरेको वक्तव्यमा राप्रपा नेपालले संविधान संशोधन र कार्यान्वयन नेपालको आन्तरिक मामिला भएको उल्लेख गर्दै यस विषयलाई संयुक्त वक्तव्यको अंग बनाइनु आपत्तिजनक रहेको बताएको छ ।
त्यस्तै उसले संयुक्त वक्तव्यमा समावेश विषयहरू दुवै देशको साझा सरोकार दायित्व र अनुगमनको दायराभित्र पर्ने हुँदा नेपालको घरेलु मामिला संयुक्त वक्तव्यमा समावेश गर्नु सर्वथा उपयुक्त मान्न नसकिने स्पष्ट पारेको हो ।
“संयुक्त वक्तव्यमा भारतले नेपालको संविधान अधुरो, समावेशी र सर्वस्वीकार्य नरहेको अर्थ लाग्ने धारणा व्यक्त गरेको छ,” वक्तव्यमा उल्लेख छ, “उक्त धारणालाई विगतमा नेपालले पूर्णरूपमा गलत ठहर गर्दै खण्डन र अस्वीकार गर्दै आएको छ । संयुक्त वक्तव्यमा उक्त बिषय रहनुले संविधान बारे नेपाल सरकारको धारणा र अडानमा विचलन आएको देखिन्छ ।”
यसैगरी भारतीय सहयोगमा नेपालमा संचालित आयोजनाहरुको निरीक्षण र अनुगमन नेपाल सरकार र काठमाडौं स्थित भारतीय दूतावासका अधिकारीहरुले गर्ने भन्ने विषय प्राविधिक र नीतिगत रुपमा त्रुटिपूर्ण रहेको राप्रपा नेपालको निष्कर्ष छ ।
“नेपाल सरकारको तर्फबाट भएको उपरोक्त बमोजिमको विचलन र त्रुटिप्रति राप्रपा नेपाल खेद प्रकट गर्दछ,” विज्ञप्तिको अन्तिममा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३ १७:१५
प्रतिक्रिया दिनुहोस्