देश
काठमाडौं । योङ्ग कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रले काठमाडौंका ९ र ललितपुरका एक स्कूल अगाडि उज्यालो नहुँदै बम राखेर काठमाडौंको जनजीवन आतंकित पारेको छ । यसअघि खासै नाम नसुनिएको समूहले उपत्यकाका विभिन्न स्कूल अगाडि बम राखेको थियो । काठमाडौंका ९ र ललितपुरका १ गरी १० वटा स्कूल अगाडि बम राखेको प्रहरीले जनाएको छ । सबैजसो बम सामान्य खालका भएकाले नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । १/२ ठाउँमा विस्फोट हुने खालका भए पनि अन्य सामान्य बारूद राखिएको बम फेला परेको प्रहरीले जनाएको छ ।
“पहिला पनि १÷२ ठाउँमा स्कूलको बस जलाउने प्रयास गरेको थियो,”काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाले भने,“हामीले ३ जना पक्राउ गरिसकेका छौं । माथिल्लो तहसम्म यसको पहिचान भैसकेको छ । छिट्टै पक्राउ गर्छौं ।”
बमसँगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपाल केन्द्रीय समितिले पर्चा फालेको छ । निजी स्कूलको नाममा राष्ट्रिय स्वाभिमान बेच्न नपाइने, द्धैध शिक्षा नीतिको अन्त्य हुनुपर्ने, आर्थिक अभावकै कारणबाट शिक्षाबाट बञ्चित हुने व्यवस्थाको अन्त्य गरिनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । थापाका अनुसार यसअघि उक्त समूहलाई आगजनीमा मुद्धा समेत चलाइएको थियो । सोही समूहले नै फेरि बम राखेको उनको भनाई थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३ ०९:०४
प्रतिक्रिया दिनुहोस्