काठमाडौँ । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरिएको छ ।
संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो । संविधान दिवस मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समरोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी थिए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरू, सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुख समारोहमा उपस्थिति थियो । राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उनको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । समारोहमा राष्ट्रपति भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रम दाहाल प्रधानन्यायाधीश कार्कीले शान्तिको प्रतिक सेतो परेवा उडाएका थिए । नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो ।