site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५/७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।  

बुधबार बजेटको पूर्वसन्ध्यामा विशेष कुराकानी गर्दै उनले चार वटा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिए । “त्यस बाहेक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, भौतिक पूर्वाधार त भई नै हाल्यो,” उनले भने, “सोहीअनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ ।” 

कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले आफ्नो समुदाय सूचीकृत हुनुपर्ने माग राख्दै आएको बताउँदै उनले उक्त समुदायलाई पर्यटनसँग जोड्नसमेत गृहकार्य गरिने वचनबद्धता प्रकट गरे ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगामी असार १ गते प्रस्तुत हुने प्रदेश सरकारको बजेटमा छुवाछूत, छाउपडी, बोक्सी, लैंगिक हिंसा जस्ता कुरीति तथा कानूनले वञ्चित गरेका कुप्रथाको अन्त्य गर्न सरोकारवालालाई प्रोत्साहित गरिने उनको भनाइ थियो । 

प्रदेश ७ मा बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालन गर्न आवश्यक पहल गर्ने, पश्चिम गड्डाचौकीदेखि कैलालीको चिसापनीसम्मको सडकलाई छ लेनको बनाउन डिपिआर तयार पारिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । 

उनका अनुसार विपन्न समुदायका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाको सुदृढीकरण एवं ‘एक गाउँ एक स्वास्थ्य चौकी’, ‘एक स्थानीय तह एक अस्पताल’का लागि नीतिगत संरचनाको प्रबन्ध गर्न बजेटमार्फत शुरु गरिनेछ । 

प्रदेश नं ७ को नीति तथा कार्यक्रमको परिधिभित्र रही आगामी आवका लागि उपलब्ध सीमित स्रोत र साधनलाई अधिकतम प्रतिफल हासिल हुने गरी बजेटमा बाँडफाँड गर्ने प्रदेश सरकारले जनाएको छ । 

मानव संसाधन विकास सूचकांक र भौतिक पूर्वाधारका दृष्टिले देशकै पुछारमा रहेको प्रदेश नं ७ को पिछडिएको दुर्गम पहाडी जिल्ला बाजुराको भौतिक पूर्वाधार विकास र मानव संसाधन विकासका लागि प्राथमिकताका साथ कार्यक्रम संचालन गरिने बताइएको छ । 

५० शय्याको अस्पतालको माग 
बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरमा ५० शय्याको अस्पतालसहित विभिन्न विकास निर्माणमा सहयोग र बजेट प्रबन्धका लागि ज्ञापनपत्र बुझाएको छ । 

प्रदेशसभा सदस्य महेशदत्त जोशी, शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंह सम्मिलित टोली ज्ञापन बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेको थियो । 

सो क्रममा शुक्लाफाँटाका नगरप्रमुख ऐरले केही दिनअघिको हावाहुरीले नगरपालिकामा सयौँ परिवारको घरमा पु¥याएको क्षतिबारे जानकारी गराएका थिए । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको समस्या समाधान, नदी कटान नियन्त्रण, आधुनिक खेलमैदानसहितको ‘फन पार्क’समेत निर्माणका लागि बजेटको व्यवस्था गरिदिन ज्ञापनपत्रमा माग गरिएको छ । 

भेटका क्रममा मुख्यमन्त्री भट्टले ठूला आयोजना अघि बढाउन प्रदेश सरकार लागिपरेको बताउँदै साना योजना स्थानीय तहबाट पनि सम्बोधन हुने विश्वास व्यक्त गरे । “स्थानीय तहको बजेटबाट तपाईँहरु योजना शुरु गर्नुस्,” उनले भने, “प्रदेश सरकार थप सहयोग गर्न तयार छ ।” रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०३:००
प्रतिक्रिया दिनुहोस्