site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
मोटोपनाबाट यसरी पाउन सकिन्छ राहत 

एजेन्सी । वैज्ञानिकहरुले हाम्रो शरीरको सेतो बोसोलाई ब्राउन फ्याटमा बदल्ने यस्तो प्रक्रिया पत्ता लगाएका छन् जसले शरीरका अनावश्यक क्यालोरीलाई धेरै कम समयमा पगाल्न मद्दत गर्नेछ ।

हालैको एउटा नयाँ अनुसन्धानमा वैज्ञानिकहरुले मोटोपनाको समस्याबाट राहत पाउने व्यवहारिक तरिका पत्ता लगाएका छन् जसले खराब ‘ह्वाइट फ्याट’ लाई राम्रो मानिने ‘ब्राउन फ्याट’ मा बदलेर क्यालोरीलाई तीव्र गतिमा पगाल्न सक्ने बताइएको हो । अहिलेसम्म मान्छेको सेल र मुसामा मात्र परीक्षण गरिएको यो प्रक्रियाले सफलतापूर्वक काम गरेमा मधुमेह र मोटोपना जस्ता समस्याबाट मुक्त गर्न धेरै प्रभावकारी साबित हुने चिकित्सकहरुको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एनवाइयु वीन्थ्रोप अस्पतालका अध्ययनकर्ता र अर्डेन्ट सेल टेक्नोलोजीका संस्थापक ब्रिअन जिलेटले भनेका छन् , ‘यो प्रक्रियाको सामान्य उपाय भनेको शरीरबाट अनावश्यक ह्वाइट फ्याट निकालेर बायोरियाक्टर प्रणालीबाट बाहिर नै ब्राउन फ्याट तयार पारि त्यसलाई पुन शरीरमै फिर्ता पठाउने हो ।’

यसले तौल घटाउने ओषधिको प्रयोगबाट बचाउँदछ जसका विभिन्न नोक्सानदायी असरहरु हुन्छन् । साथै यसले गम्भीर अवस्थामा तौल नियन्त्रण गर्ने जोखिमयुक्त शल्यक्रियाबाट पनि जोगाउँछ । यस प्रकारको शल्यक्रियाको शरीरमा सिमित प्रभाव हुने भएकाले पनि चिकित्सकहरु सकेसम्म यसको सुझाव दिँदैनन् । तरपनि अत्यन्तै गम्भीर स्थितिमा बिरामीले अन्य कुनै उपाय नभएका कारण शल्यक्रिया र औषधि खान बाध्य हुने गरेका छन् । त्यसैले पनि यो प्रक्रिया सफल भएमा यसले धेरैलाई चिन्तामुक्त बनाउन सक्ने अध्ययनकर्ताहरुको भनाइ छ ।

शरीरमा हुने अधिकांश बासो अस्वस्थ ‘ह्वाइट फ्याट’ हुन्छन् जुन हाम्रो कम्मरका वरिपरि, तिग्रा र हिपमा जम्मा भएर बसेका हुन्छन् । तर ऊर्जामा परिणत हुन सक्ने स्वस्थ ‘ब्राउन फ्याट’ एकदम कम मात्रामा हाम्रो घाँटी र कुम वरपरका भागमा मात्र पाइन्छन् । यस्ता ब्राउन फ्याटहरु चाँडै नै पग्लिएर गर्मी उत्पन्न गराउन मद्दत गर्दछन् । जिलेटको अनुमानअनुसार ५० देखि १०० ग्राम ब्राउन फ्याट वयश्कहरुमा पाइन्छ जुन दिनभरमा २० प्रतिशत मात्र प्रयोग भएर ऊर्जामा परिणत भइ खर्च हुने गरेको छ । यो फ्याट सेल शरीरको सबैभन्दा सक्रिय टिस्यु हो । 

ह्वाइट फ्याटहरु चिसोसँगको सम्पर्कपछि प्रकृतिक रुपमै ब्राउन फ्याटमा परिणत हुन सक्छन् र यसरी ब्राउन फ्याटलाई बुस्ट गर्न विभिन्न औषधिहरुको प्रयोग पनि गर्न सकिन्छ तर त्यसका धेरै हानिकारक असरहरु हुन्छन् ।
जसरी कस्मेटिक शल्यक्रिया गर्दा एउटा भागको फ्याट निकालेर अर्को ठाउँमा प्रत्यारोपण गरिन्छ त्यसरी नै यस प्रक्रियामा पनि ह्वाइ फ्याट सोसेर निकालेपछि त्यसलाई ‘बायो रियाक्टर’ (जैविक प्रतिक्रिया)का लागि केही हप्तासम्म राखेर ब्राउन फ्याटमा परिणत गराउन सकिन्छ ।

यसैको दोस्रो अनुसन्धानमा चाहिँ सो प्रक्रिया मुसामाथि कार्यन्वयन गरिएको थियो जसमा ब्राउन फ्याट मुसाको शरीर भित्र पुनः सुइ लगाएर हालिएपछि उच्च मात्रामा रहेको ह्वाइट फ्याटले आठ हप्तासम्म ब्राउन फ्याटको काम गरेको पाइएको हो । त्यसैले अब मानिसहरुमा पनि यो परिक्षणले यसरी नै काम गर्ने वैज्ञानिकहरुको दाबी छ । यसरी यो प्रक्रिया सफल भएमा मधुमेह र मोटोपनाको समस्याका लागि कुनै औषधि र शल्यक्रियाको आवश्यकता पर्ने छैन र यो तरिका नै धेरै सहज र प्रभावकारी साबित हुने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  ०५:४४
प्रतिक्रिया दिनुहोस्