चार्ल्स डिकेन्सको प्रसिद्ध उपन्यास ‘ए टेल अफ टु सिटिज’का सुरुका दुई पंक्ति अहिले पनि उत्तिकै सान्दर्भिक छन् । ‘यो सबैभन्दा उत्तम समय थियो र यो सबैभन्दा खराब समय थियो‘ डिकेन्सले लेखेका छन् ‘यो ज्ञानको युग थियो र यो मूर्खताको युग थियो‘ ‘ यो आशाको वसन्त थियो र निराशाको हिउँद थियो’ ।
फ्रान्सेली क्रान्तिताका लन्डन र पेरिसको अवस्थाको चित्रण गर्दै लेखिएको डिकेन्सको विख्यात उपन्यासमा सामन्ती अधिनायकवादी सत्ताको सामाजिक अत्याचार र फ्रान्सेली कान्तिकारीको अमानवीय ज्यादतीको निन्दा गरिएको छ । भनिन्छ, क्रान्तिको करिब दुई शताब्दीपछि चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाईलाई फ्रान्सेली क्रान्तिका बारेमा सोध्दा उनले ‘केही भन्नु हतार हुने‘ भनेका थिए । त्यो कटाक्ष, हुनत भाषिक असमझदारीको परिणाम पनि हुनसक्छ तर त्यस भनाइले उपन्यास लेख्दाको डिकेन्सको दोधारलाई भने पूर्णतः समेटेको छ ।
फ्रान्सेलीहरूलाई लुई सोह्रौंविरुद्ध विद्रोहका लागि प्रेरित गर्ने पुनर्जागरण कालको आदर्शले अमेरिकी क्रान्तिलाई पनि प्रेरित ग¥यो । यी दुवै क्रान्ति अर्को ठूलो परिवर्तन औद्योगीकरणका कमजोरीहरूका विरुद्ध पनि थिए । परिवर्तनकारी वैज्ञानिक उन्नति र उदार राजनीतिक पद्धति दुवैको सम्मिलित प्रभावका रूपमा मानव जातिको इतिहासको सबैभन्दा समृद्ध युगको सूत्रपात भयो ।
स्वर्गीय ब्रिटिस अर्थशास्त्री एङ्गस म्याडिसनले एकपटक विश्वको प्रतिव्यक्ति आय इस्वी संवतको सुरुदेखि १८२० सम्ममा पनि दोब्बर हुन नसकेको भए पनि सन् १८२० देखि २००८ का बीचमा दस गुना बढ्ेको अनुमान गरेका थिए । उनको यो उत्साहजनक प्रक्षेपणजस्तै यही अवधिमा व्यापक आर्थिक सामाजिक सूचकहरूमा पनि अपूर्व सुधार भएको छ । उदाहरणका लागि दुई शताब्दीभित्रै विश्वको औसत आयु ३१ वर्षबाट बढेर ७३ वर्ष पुगेको छ ।
दुई शताब्दी पहिले विज्ञान र चिकित्सा समुदायले रोगमा कीटाणुको भूमिकाको सिद्धान्त स्वीकार गरिसकेको थिएन भने गाईको मासु मोटोपनको कारक मानिन्थ्यो । आज वैज्ञानिक समझमा भएको तीव्र प्रगतिका कारण यस्तो विश्वासलाई अनौठो मानिन्छ । अहिले हामीले मानव वंशबीज (जेनोक) का बारेमा पढ्नमात्र हैन त्यसलाई सम्पादन र लेख्नसमेत सिकिसकेका छौँ ।
हार्वर्डका मनोविज्ञानका प्राध्यापक स्टेवेन पिन्करका अनुसार यस्ता उपलब्धिहरू ज्ञान फलदायी भएको संकेत हुन् । पिन्करको धारणामा गत केही शताब्दीमा समष्टि अर्थशास्त्रीय मापनबाट देखिनेभन्दा धेरै नैतिक प्रगति पनि हासिल गरिएको छ । उनले भौगोलिक र गुणात्मकरूपमा व्यक्तिको वैयक्तिक एवं सामूहिक अधिकारको रक्षा तथा समग्रमा हिंसाको कमीलाई यसको उदाहरण मानेका छन् ।
विपत्ति र संकटलाई देख्ने र सामान्यीकरण गर्ने प्रवृत्तिका कारणे ज्ञानविज्ञानको विकासबाट भएका उपलब्धिका व्यापकताको अवमूल्यन गरिएको छ । तर, निर्णय प्रक्रियामा यो पूर्वाग्रह निर्णायक हुने भएकाले आत्मपरकता पनि उत्तिकै बढी देखिन्छ । यही ज्ञानविज्ञानको जानकारीको अप्रत्यक्ष प्रभावका रूपमा रहेका कारणहरूबाट मानिसहरू भविष्यप्रति चिन्तित हुन्छन् ।
सन् २०१३ को आफ्नो पुस्तक ‘द ग्रेट एस्क्याप‘ मा नोबल पुरस्कार विजेता अर्थशास्त्री अंगुस डिअटनले गरिबी, अनिकाल, अकाल मृत्यु घटाउन विगत २५० वर्षमा भएको प्रयासमा कतिपय सामाजिक समूह कसरी पछाडि छाडिए भन्ने देखाएका छन् । विश्वस्तरको असमानता चीनजस्तो मुलुकको आर्थिक उन्नतिका कारण कम भएको देखिए पनि मुलुकहरूभित्र भने असमानता बढेको तथ्य कैयौं अध्ययनहरूबाट प्रकट भएको छ । अमेरिकामै जनसंख्याको ठूलो हिस्साको पूर्ण उपचारमा पहुँच छैन भने लोकतन्त्रसमेत ह्रासोन्मुख हुँदैगएको छ ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ड्रम्पको विजयलगायत संसारभरको प्रियतावादी आन्दोलनको उदय हुनुलाई विश्वव्यापीकरणबाट लाभबाट वञ्चित जनसंख्यासँग जोड्ने गरिन्छ । तैपनि, धनीलाई कर घटाउनेलगायतका ट्रम्पका नीतिहरू आर्थिकरूपमा सम्पन्न वर्गकै हितलाई निरन्तरता दिने प्रकारका छन् । पछाडि छाडिएका भनिनेहरूको डर हटाउन त ट्रम्पले खासै केही गरेका छैनन् तर उनले यो यथार्थलाई ढाकछोप गर्न भने सस्तो माल देखाएर महँगोमा बेच्ने व्यापारको रणनीति अपनाइरहेका छन् ।
ट्रम्पको ‘अमेरिका पहिले‘ अवधारणा र विदेशी सबै कुराबाट तर्साउने भय दोहनको रणनीतिले विश्वव्यापी सहयोगको अवधारणाको अवमूल्यन गरेको छ । अठारौं शताब्दीको उत्तरार्धका सामाजिक आन्दोलनहरूको एउटा हानिकारक उत्तराधिकारका रूपमा रहेको राष्ट्रवादको पुनरुत्थानले जातीय र राष्ट्रिय भयको आगो सल्काएको छ ।
यसैगरी वैज्ञानिक र प्राविधिक उद्बोधन पनि पूर्णरूपमा सकारात्मक हुनसकेन । अल्बर्ट आइन्स्टाइनको सिद्धान्तहरू र सन् १९३८ मा गरिएको अणुको आविष्कारले परमाणु ऊर्जालाई सम्भव बनायो तर यसैले हिरोसिमा र नागासाकीमा बम प्रहार पनि गरायो । त्यही आविष्कारका कारण चेर्नोबिल र फुकुसिमा भयावह दुर्घटना भयो । यसैगरी प्रविधिमा भएको उन्नतिले गम्भीर राष्ट्रिय संरचनाहरू साइबर आक्रमणको जोखिममा परेका छन् । र, २००८ को संकटले अर्थ व्यवस्थामा पनि थुप्रै जोखिम भएको उजागर गरेको छ ।
यी सबै खतराहरूसँगै सायद मानव जातिले अहिलेसम्म नभोगेको सबैभन्दा ठूलो संकट पनि आउँदैछ – जलवायु परिवर्तनको । यस संकटको विचित्रता के हो भने यो कुनै एउटा आकस्मिक धक्काजस्तो गरेर आएको छैन । बरु, यो त अहिलेसम्मका समग्र क्रियाकलापको परिणाम हो जस्लाई नियन्त्रण गर्न अझै पनि सकिन्छ । प्राविधिक प्रगतिले हामीलाई यो समस्यामा पारेको छ भने यसैले संकटबाट मुक्त पनि पार्न सक्छ । प्राविधिक आविष्कार र सन् १९८७ को मोन्ट्रेयल आलेखजस्तो अन्तर्राष्ट्रिय प्रयत्नबाट ओजन तहमा हुने क्षय रोक्न संसार सफल पनि भयो ।
भाग्यवश, वैज्ञानिक विवेक आफ्नो दुष्परिणाम निवारण गर्ने उपकरण तयार गर्न समर्थ छ । दुर्भाग्य, आजको राजनीतिक नेतृत्वको अवस्थाले भने यस्ता उपकरणको प्रयोग नहुने स्थिति छ । विश्वमा अन्तर्राष्ट्रिय सहयोग सामूहिक व्यवस्थापनद्वारा विज्ञान र प्रविधिमा भएको उन्नतिको अत्यधिक फाइदा लिन चाहने नेतृत्वको गम्भीर खाँचो छ । यस्तो नेतृत्व भएन भने सबैभन्दा उत्तम समय सबैभन्दा खराब पनि सिद्ध हुनसक्छ ।
(स्पेनका पूर्व विदेश मन्त्री )
Copyright: Project Syndicate, 2018.