सन् २००० को सुरुको दशकमा राष्ट्रपति हुने बेला भ्लादिमिर पुटिन पश्चिम विरोधी रुसीे अभिजात्य वर्गको समुद्रमा पश्चिम समर्थक एक्ला टापुजस्ता थिए । त्यतिबेला ‘रुसलाई दृढतापूर्वक पश्चिमतर्फ फर्काउने’ उनको चाहना देशको उनमा परम्परागत सुरक्षा अवधारणाविपरीत भएको मलाई लागेको थियो । तर, आइतबारको राष्ट्रपति चुनावपछि रुसलाई सैन्य शक्ति बनाउने आफ्नो दृष्टिकोण पुटिनले अझ बलियो बनाइसकेपछि भने क्रेमलिनमा उनको शासन कायम रहुन्जेल उनको आधार राष्ट्रवाद हुने स्प्रष्ट भइसकेको छ ।
साथै यसले निम्त्याउने सबै खतरा पनि स्पष्टै छ । शासनमा १८ वर्ष रहिसकेपछि पुटिन अहिले उनका सोभियत पूर्ववर्तीहरूभन्दा पनि पश्चिमी मुलुकहरूसँग आणविक द्वन्द्वको जोखिम बढाउने दिशामा अघि बढिसकेका छन् । उनको यस्तै आक्रामक नाराले उनलाई यसपटकको चुनावमा जित दिलाउनुका साथै चौथो चरणको कार्यकालका लागि समेत असीमित अधिकारसमेत हासिल गर्न मद्दत गरेको छ ।
म मतदान केन्द्रतर्फ जानलाग्दा कलेजको पहिलो वर्षकी विद्यार्थी विद्यार्थी मेरी भतिजीले मासाले भनिन् — ‘ मैले चिनेको नेता पुटिनमात्रै हुन् ।’ यसले मलाई झस्कायो । म मस्कोमा पहिलो वर्षमा कलेज अध्ययन गर्दा मैले पनि लिओनिद ब्रेजनेवलाई मात्र चिनेको थिएँ र त्यसले भविष्य भयानक भएको संकेत दिएको थियो । पुटिनको कार्यकाल ब्रेजनेवको भन्दा लामो भइसकेको छ अब तीन दशक राज गर्ने स्टालिनको भन्दामात्र केही कम छ ।
हालको चुनावमा पुटिनले ७६ प्रतिशत भोटका साथ जित हासिल गरेर नयाँ रेकर्ड कायम गरेका छन् । त्यसको अर्थ पाँच करोड ६० लाख रुसी जनताले उनलाई भोट दिए र यो पनि आफैँमा अर्को नयाँ रेकर्ड हो । यसका साथै चुनावमा अन्य उमेदवारको पनि उपस्थितिले उनको जितलाई वैधता दिएको छ । निर्वाचनमा उनका ‘प्रतिद्वन्द्वी’हरूमा कम्युनिस्ट पार्टीका पावेल ग्रुडिनिन, लिबरल डेमोक्रेटिक पार्टीका भ्लादिमिर जिरिनोवस्की, सेलिब्रेटी तथा पत्रकार केसेनिया सोबचक (रुसी राजनीतिका डोनाल्ड ट्रम्प) र मिखेल गोर्बाचेभको कार्यकालदेखि नै राष्ट्रपति पदका लागि चुनाव लड्दै आएका ग्रिगोरी याभलिन्स्की रहेका थिए ।
सन् २००४ को पछिल्लो निर्वाचनमा भने पुटिनको मतको रेकर्ड ५ करोड रहेको थियो । तर, हालका वर्षमा भने उनले जनतालाई आफ्नो वरपर संगठित गर्न र आफ्ना प्रतिद्वन्द्वीलाई किनारा लगाउन सफल हुँदैगएका छन् । सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई रुसमा गाभिसकेपछि रुस सरकारको आलोचना गर्नु देशद्रोहजस्तो मानिन थालेको छ ।
चारैतिरबाट आक्रमण भइरहेकाले रुस संकटमा रहेको भान पारिराख्न पुटिनले थुप्रै अन्तर्राष्ट्रिय काण्डहरूलाई बहानाका रूपमा लिएका छन् । उनले पश्चिमी मुलुकहरू भएका निर्वाचनमा कथित रुसी संलग्नताको छानबिन, अन्तराष्ट्रिय ओलम्पिक समितिले रुसी खेलाडीमाथि डोपिङको आरोपमा लगाएको प्रतिबन्ध तथा हालै बेलायतले क्रेमलिनमाथि लगाएको रुसी डबल एजेन्टलाई रसायनिक हतियार प्रयोग गरेर हत्या गरेको आरोपको निकै चर्चा गर्ने गरेका छन् ।
यति धेरै दुष्प्रचारपछि रुसी नागरिकहरूले ऐक्यबद्धताको आवश्यकता महसुस गर्नु कुनै आश्चर्य होइन । निर्वाचनमा करिब ७० प्रतिशत मतदाताको सहभागिता क्रेमिलनको लक्ष्यअनुरूप नै थियो ।
पुटिन कुनै पनि जोखिम उठाउन तयार थिएनन् । क्रेमिलनले ‘पुटिनलाई भोट हालौँ ः शक्तिशाली रुसलाई भोट दिऊँ’ भन्नेजस्ता नाराको प्रचारप्रसारमा मात्रै ७७ करोड रुबल अर्थात् १ करोड ३३ लाख अमेरिकी डलरभन्दा बढी खर्च ग¥यो । चुनावका दिनमा अधिकारीहरूले मतदान केन्द्र वरपर आधा मूल्यका खानेकुराको स्टल राखेका थिए । पुटिनलाई ‘राष्ट्रका सशक्त पिता’ कारूपमा चित्रण गरिएका भिडियोको व्यापक प्रचार गरिएको थियो । ठूला कम्पनी र कारखानाहरूमथि मतदातालाई परिचालित गर्न दबाब दिइएको थियो । अर्कातर्फ सुदूर दक्षिणको डागेस्तान व उत्तर को चुकोक्ताका मतदान केन्द्रमा निर्वाचन कर्मचारीहरू स्वयं नै खुलेआम मतदान कक्षभित्र पसेर जनताले पुटिनलाई मत दिए नदिएको जाँच गरिरहेका थिए ।
डागेस्तानभन्दा स्वतन्त्र चुनाव भएका कल्मिकीया, ब्रियान्स्क, क्रास्नोदार, क्रुस्क र अन्य औद्योगिक तथा कृषि क्षेत्रहरूमा पनि ८० प्रतिशत मतदाताले पुटिनलाई नै समर्थन गरेका छन् । यो कथित ‘रेड बेल्ट’ले पहिलेदेखि नै राष्ट्रभक्तिको नारामा कम्युनिस्टहरूलाई समर्थन गर्ने गर्थे । तर २०१८ मा भने राष्ट्रभक्तिमा पुटिनको एकाधिकार देखियो ।
यसैबीच भ्रष्टाचार विरोधी वकिल तथा विपक्षी नेता एलेक्सि नाभाल्नीको चुनाव बहिष्कारको अपिल पनि प्रत्युत्पादक हुनपुग्यो । नाभाल्नीले पुटिनलाई उनले चाहेअनुसार ७० प्रतिशत मत प्राप्त गर्न नदिन मतदातालाई घरमै बस्न आग्रह गरेका थिए । तर, नाभाल्नीलाई फौजदारी मुद्दामा फसाएर चुनाव लड्न प्रतिबन्ध लगाएपछि भने मस्को र सेन्ट पिटर्सवर्गजस्ता विपक्षीहरूको बलियो प्रभाव क्षेत्रले पनि पुटिनकै साथ दिए ।
लिबरल उमेदवारको अनुपस्थितिमा समेत पुटिनले राष्ट्रिय औसतभन्दा १५ प्रतिशत कम मतदान भएका मस्कोमा ७० प्रतिशत र सेन्ट पिटर्सवर्गमा ७५ प्रतिशत कसरी पाएभन्ने स्पष्ट हुनसकेको छैन । यस प्रकारको नतिजाले मतदाता धेरै निम्छरा भइसकेको संकेत गर्छन् । धेरै जनाले अहिले राष्ट्रद्रोहको आरोप सहन र कामकाजमा बाधाअवरोध भोग्नभन्दा पुटिनको ‘सशक्त राष्ट्र’को सन्देशलाई समर्थन गर्न नै सहज हुने महसुस गरेका छन् ।
यो वर्ष ‘नो भोट’ मतदान गर्नेहरूको अनुपस्थिति पनि रुसका लागि एउटा नयाँ घटना थियो । सहभागी हुन हैन पर्यवेक्षणका लागि मतदान केन्द्रमा जाँदा मलाई सोभियत युगको अनुभव भयो । मलाई यो एउटा नरम पुलिस राजजस्तो लाग्यो ः करिब १० जना मतदाता मत खसाल्ने क्रममा थिए भने कम्तीमा पनि २० जना प्रहरी र निर्वाचन अधिकारीले तिनको निगरानी गरिरहेका थिए । पुटिनको रुस र सोभियत युनियनबीच एउटै भिन्नता के छ भने अहिले कम्तीमा मतदातालाई एकमात्र ‘प्रिय नेता’बाहेक अरूलाई मत दिने विकल्प पनि रहेको छाप पारिन्छ ।
मतदान–अधिकार संगठन, गोलोस (भोइस)का अनुसार अघिल्लो निर्वाचनका तुलनामा यो वर्ष मतपेटिकामा प्रत्यक्ष छेडछाड गरिएको वा मतदातालाई धम्क्याइएको घटना कम भेटिएका छन् । तर, कार्यस्थलमा दबाब दिने पुरानै चलन र निरन्तरको प्रचारवाजीजस्ता तरिका नै यसपटकको चुनावमा प्रभावकारी साबित भए । पुटिनबाहेक चुनावबाट फाइदा पाउने सोब्चक पनि हुन् जसले आफ्नो ब्रान्डको प्रचारमा यस अभियानको पूर्ण प्रयोग गरिन् । उनी प्रायःे पुटिनलाई ‘द्याद्या भोभाको नाम (अङ्कल भोभा, भ्लादिमिरको संक्षिप्त नाम)ले सम्बोधन गर्छिन् र विपक्षी राजनीतिलाई तमासामा परिणत गराउन उनले क्रेमिलनलाई मद्दत गरेकी छन् । उनले धेरै नै अनुभवी भएजस्तै यसपटकको मतदान प्रक्रिया विगतको भन्दा ‘धेरै पारदर्शी’ भएको घोषणा समेत गरिन् ।
यस चुनावले पुटिनलाई, कुनैसमय शक्तिशाली मानिएको सहरी मध्यम वर्गको उपेक्षा गरेर नयाँ सरकार गठन गर्न पनि शक्ति दिएको छ जो अहिले एक्लिएपछि ‘शक्तिशाली रुस’ कै समर्थकसँग सहकार्य गर्न तयार रहेको देखिएको छ । पुटिनको शासन गतिहीन भए पनि प्रभावशाली विपक्षको अनुपस्थितिमा यो लामो समयसम्म टिक्न सक्छ ।
पुटिनले सैनिक शक्ति र समृद्ध भविष्यको प्रतिज्ञा भने पूरा गर्न नसक्ने निश्चितै छ । किनभने उनका यी दुई वाचा एकअर्काका बाधक छन् । उदाहरणका लागि रुसी सैन्य शक्तिलाई सुदृढ गराई राख्न सेवा निवृत्तिको उमेर बढाउने, कर वृद्धि गर्ने र अरू थुप्रै कठिन सुधार गर्नु आवश्यक हुन्छ । जेहोेस्, रुसी जनताले कम सामाजिक र राजनीतिक स्वतन्त्रता र आर्थिक स्थिरताको पक्षमा मत हालेका छन् । उनीहरूले फेरि विगतमै फर्किने निर्णय गरेका छन् । कुनैसमय उनीहरूले भयानक मानेका त्यस्तो भविष्य रोजेका छन् ।
।
(अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक)
Copyright: Project Syndicate, 2018