site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरियाली प्रायद्विप र सम्भावित युद्धको त्रासदि  

यही २०१७ सेप्टेम्बर २३ का दिन संयुक्त राष्ट्र महासभालाई आफ्नो कार्यकालको पहिलो सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया र त्यहाँका युवा शासक किम जोङ अनप्रति धम्कीपूर्ण भाषा प्रयोग गरे। उनले भने - ‘यो गैरजिम्मेवार  रकेट खेलाउने बहुलठ्टी मोटे केटोले अब अलिकति पनि चकचक गर्‍यो भने यसको मुलुकलाई आक्रोश र आगो (फायर एण्ड फ्युरी) को बर्षा गराएर निमिट्यान्न पारी दिन ढिलो गर्नु हुँदैन’। यसमा तत्काल प्रतिक्रिया दिँदै किम जोङ अनका प्रवक्ताले महासभा स्थल  बाहिरै भने - ‘ट्रम्प दिमागी सन्तुलन खुस्केको पागल हो र ऊ आत्महत्यातर्फ हतारिएको छ’ ।

उता उत्तर कोरियाबाट किम जोङ अनको विज्ञप्ति आयो - ‘ट्रम्प होस हराएको बूढो र  पागल (डोटार्ड) मात्र हैन बरु आफ्नो सर्वविनाशका लागि आगोसँग जिस्किने दुस्साहस गरिरहेका छ ।‘ यी शब्दास्त्र प्रहार सुन्दा लाग्छ हामी समसामयिक इतिहासकै सबैभन्दा खतरनाक युद्ध मोडमा उभिएका छौँ । किनभने त्यहाँ सम्भावित युद्ध अति भयानक परमाणविक क्षमताको हुनसक्ने बिलया संकेत छन्। हामीले बुझ्नु पर्ने के हो भने उत्तर कोरिया र उसको क्षेप्यास्त्र वा आणविक परीक्षणसम्बन्धी कार्यक्रम कोरियाली प्रायद्विपमा युद्ध सम्भावनाको स्थायी कारण हो - विश्वको हेराइमा । तर, उत्तर कोरियाको भनाइमा त्यस क्षेत्रमा (दक्षिण कोरिया र जापानमा) रहेको अमेरिकी सैन्य उपस्थिति र बेलाबखत गरिने सैन्य अभ्यास नै उत्तर कोरियालाई युद्धका लागि उत्तेजित पार्ने र युद्ध निम्ताउन खोज्ने एकल कारण हो । कोरियाली प्रायद्विपको आधुनिक इतिहासका बारेमा जानकार नभई यो द्वन्द्व र हुंकारको वर्तमान बुझ्न भने सकिँदैन ।

दुई कोरियाको संक्षिप्त आधुनिक इतिहास:

Prabhu Bank
Agni Group
NIC Asia

अहिले हामीले जाने बुझेको विश्व मानचित्रमा कोरिया प्रायद्विपमा (एकातिर जमिनसँग जोडिएर तीनतर्फ पानीले घेरिएको भूभाग) करिब एउटै ‘कोरिया’ नामले चिनिने दुईवटा देश छन् र छोटकरीमा उत्तर तथा दक्षिण कोरियाका नामले चिनिन्छ । तिनलाई चिनाउने औपचारिक नाम भने क्रमश: डीपीआरके (डेमोक्र्याटिक पिपल्स रिपब्लिक अफ कोरिया) र आरओके (रिपब्लिक अफ कोरिया) हुन् ।

रसिया, चीन र प्रशान्त महासागर वेष्ठित कोरियाली प्रायद्विप यसको आधुनिक इतिहासमा लामो समय जापानी अतिक्रमण र शासनको सिकार भएको पाइन्छ। जापानीहरू युद्ध कुशल त थिए नै उनीहरूमा जातीय रूपमा आफू कोरियाली र चिनियाँभन्दा श्रेष्ठ हौँ भन्ने अहंकार सधैँ देखिन्थ्यो। त्यसैले पनि जापानले कोरियाली र चिनियाँ भूभागमाथि इतिहासका विभिन्न कालखण्डमा  कब्जा गरेको पाइन्छ । कतिपय समयमा त जापानले ती दुवै देश र त्यहाँका बासिन्दामाथि गरेको ज्यादती र दमन गरेका थिए। त्यसैले चीन, कोरिया र इतिहासको ख्याल राख्ने कतिपय त्यहाँका आधुनिक नागरिकमा पनि जापानप्रति वितृष्णा र आक्रोश पाइन्छ ।

Global Ime bank

सन् १९१० देखि जापानीहरूले सम्पूर्ण कोरियाली प्रायःद्विप कब्जामा लिए र त्यहाँ उनीहरूले दोस्रो विश्वयुद्धको अन्त्य नभइन्जेल सन् १९४५ सम्म कब्जा गरे ।  यो शासन अवधि अपेक्षाकृत दमनपूर्ण र क्रूर थियो । दोस्रो विश्वयुद्धपछि विजेता राष्ट्रहरूको समूह ‘मित्र शक्ति’ (जसमा अमेरिका, सोभियत संघ , बेलायत आदि थिए) बीच कोरियालाई स्वतन्त्र गराउने निर्णय भयो र सोअनुसार नै रुसले ‘कोरियाली जापानी साम्राज्य’ विरुद्ध अगस्त १९४५ मा युद्ध घोषणा गर्‍यो र दुवै कोरियालाई छुट्याउने ३८ प्यारलल रेखासम्मको भूभागलाई जापानीबाट मुक्त गर्‍यो ।

यता अमेरिकी राष्ट्रपति हेरी एस ट्रुम्यानले पनि दक्षिणतर्फको बाँकी कोरियालाई ‘पुलिस’ सुरक्षा दिने घोषणासहित अमेरिकी सैन्य कारबाही अघि बढाएर त्यो भूभाग कब्जामा लिए । रुस र अमेरिकाले यसरी ३८ प्यारलल लाइन भनिने सीमा रेखाले छुट्याउने क्रमश: उत्तर र दक्षिणतर्फको कोरियालाई नियन्त्रणमा मात्र लिएनन् बरू ती नियन्त्रित भूभागलाई दुईवटा छुट्टाछुट्टै स्वतन्त्र देश बनाएर दुईवटा सरकार स्थापना गराए । महाशक्ति राष्ट्रको काखमा बसेर दुवै भूक्षेत्रका सरकारहरूले आफूमात्र आधिकारिक देश र सरकार भएको दाबा गर्न थाले ।

अर्कोको अस्तित्व अवैध माने। फलत: द्वन्द्वको आधारभूमि कोरियो। यसैबीच १९५० सम्ममा उत्तर कोरियाली जनसेनाले (राष्ट्रवादी र पछि गएर स्वावलम्बी जुछे विचार र कम्युनिस्ट शासनका अनुयायी) ३८ समानान्तर सीमा रेखा पार गरेर दक्षिणमाथि आक्रमण थाल्यो । यस युद्धमा चीनले आफ्नो जनसेना पनि पठायो भने लगभग सम्पूर्ण हतियार, गोलाबारुद र बन्दोबस्तीका सामान उत्तर कोरियाली सेनालाई उपलब्ध गराउने काम तत्कालीन सोभियत संघले गर्‍यो । दक्षिण कोरियामाथि यसरी कम्युनिस्ट सोभियत संघ र चीनको समर्थनमा गरिएको आक्रमणलाई एउटा शान्तिपूर्ण स्वतन्त्र देशमाथिको आक्रमण मानेर यसको प्रतिकार गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघमा प्रस्ताव लग्यो र पारित गरायो। यसरी पारित प्रस्तावअनुसार संयुक्त राष्ट्रसंघीय संयुक्त सेनामार्फत लडाइँको प्रतिवाद गरिने भयो । फलत: जुन २, १९५० मा अमेरिकी नेतृत्वमा उत्तर कोरिया ( रुस र चीनसहित) विरुद्ध २१ देशका सेना सम्मिलित संयुक्त राष्ट्रसंघीय संयुक्त सेना गठन भयो । त्यसमा ८८ प्रतिशत अमेरिकी सैन्य संलग्नता थियो भने अरू मित्र राष्ट्रहरुको सांकेतिक सहभागितामात्र रह्यो ।

आधुनिक विश्व इतिहासमा कोरियाली युद्ध ( कोरियन वार) भनेर चिनिने यो युद्ध सन् १९५० देखि १९५३ सम्म चल्यो । यो युद्धमा लगभग २५ देखि ३० लाख कोरियाली मारिएको अनुमान गरिन्छ । हताहत र घाइतेमध्ये दुईतिहाइ उत्तर कोरियाली रहेका थिए । किनभने राष्ट्रवादको नामले युद्ध उनीहरूले नै सुरु गरेका थिए। युद्ध विध्वंशपूर्ण थियो । युद्धमा २० देखि २५ प्रतिशत उत्तर कोरियाली मारिएको अनुमान छ । भौतिक क्षतिको कुनै सीमा नै थिएन । यथार्थमा सतही युद्ध कोरियाली प्रायद्विपमा भए पनि यसमा सारांशमा कम्युनिस्ट मुलुकहरू रुस र चीनको सैन्य सामरिक शक्तिविरुद्ध पुँजीवादी लोकतान्त्रिक मुलुक अमेरिका र यसका समर्थक पश्चिम युरोपेली मुलुकको शक्ति परीक्षण भएको थियो।

युद्ध लम्मिदै जाने र कसैको भलो हुने नदेखेर आजित बनेका महाशक्ति राष्ट्रकै पहलमा सन् १९५३ मा युद्धविराम भए पनि यो युद्ध पूर्णरूपमा रोकिएको घोषणा भने आजपर्यन्त गरिएको छैन । युद्धविराम भए पनि उत्तर कोरिया अतिक्रमणकारी मानिएको हुँदा र उसले युद्ध सकिएको घोषणा नमानेको हुँदा, उसले कुनै पनि बेला दक्षिण कोरिया र जापानमाथि आक्रमण गर्न सक्ने जोखिम रहेको बताउँदै अमेरिकाले ती दुवै देशको सुरक्षार्थ निश्चित् संख्यामा त्यहाँ आफ्नो सैन्य उपस्थिति कायम राख्ने गरेको छ । यस्तो सैन्य उपस्थिति र ती मुलुकले बेलाबखत गरिरहने संयुक्त सैन्य अभ्यास उत्तर कोरियाका लागि भने आफ्नो आत्मरक्षाको तयारी गर्नुपर्ने बहाना बन्यो। उत्तर कोरियाले आफूमात्र वैधानिक राष्ट्रवादी कोरिया भएको र दक्षिणको अस्तित्व साम्राज्यवादी अमेरिकाले टिकाएको देख्न थाल्यो।


आधुनिक दुई कोरिया:

कोरियाली युद्धको समाप्तिपछि पनि रुस र चीन नै उत्तर कोरियाको सुरक्षा, शासन पद्धति, भाग्य निर्माण र भविष्यसँग संलग्न भइरहे । नेता किम इल सुङको राष्ट्रवादी र स्वावलम्बनवादी दाबी गरिएको ‘जुछे विचार’ को कम्युनिस्ट शासन पद्धतिमा बाँकी संसारसँग सम्बन्ध विच्छेद भए जसरी उत्तर कोरिया अघि बढ्न चाह्यो। यसैले ‘हर्मिट स्टेट’ वा ‘पराइआ स्टेट’ को नामले पनि उत्तर कोरियालाई चिनिन थालियो।  सैन्य, औद्योगिक, आर्थिक र अन्य विषयमा उत्तर कोरिया रसियाली वा चिनियाँ समर्थन र छायामा जीवित रहन चाह्यो । यता दक्षिण कोरिया भने अमेरिकी सुरक्षा छाता मातहत सन् १९६० पछि पुँजिवादी आर्थिक विकासको बाटोमा लम्क्यो र उच्च आर्थिक हैसियत भएको विकसित राष्ट्रहरूको श्रेणीमा पुग्न समर्थ भयो ।

रुस र पूर्वी युरोपबाट सन् १९९० को दशकमा सुरु भएको कम्युनिस्ट शासनको पतनले रसियालाई आफ्नै आन्तरिक मामिलातर्फ संकुचित बनायो। रुसले गरिरहेको आर्थिक, सैन्य, सामरिक र आर्थिक मद्दतमा सोभियत संघको विखण्डनसँगै अचानक ठूलो कटौती हुनपुग्यो भने तीव्र आर्थिक विकास र राज्य प्रवर्द्धित पुँजीवादलाई साध्य बनाएको चीनले अरू मुलुकका आन्तरिक राजनीति र उसका अन्य दुस्सासहलाई टेको लगाएर सघाउनुपर्ने कामलाई महत्वपूर्ण मान्न छोड्यो। यति हुँदाहुँदै पनि रुस र चीन आफैँले जन्माए हुर्काएको उत्तर कोरियालाई सकेसम्म आर्थिक, सैनिक र राजनीतिक सहयोग तथा नीतिगत समर्थन दिन भने कहिल्यै कञ्जुस्याइँ गरेका छैनन् । तैपनि, दुई कोरियाबीच शान्ति, सहयोग आदानप्रदान र पारिवारिक पुनर्मिलन, खेलकुद सहयोग र एउटा खेल समूह बनाई अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिने तथा भविष्यमा शान्तिपूर्ण एकीकरण गर्ने सम्बन्धमा सम्झौता पनि भएका छन् बेलाबेलामा ।

वर्तमान र युद्धको सम्भावना:

शक्ति सम्पन्न विकसित राष्ट्रहरू र आणविक शक्ति सम्पन्न राष्ट्रहरूले बेग्लाबेग्लै अन्तर्राष्ट्रिय सन्धिमार्फत् विश्वका अरू कुनै पनि मुलुकले आणविक हतियार र निश्चित मारक क्षमताका अन्तरमहाद्विपीय दूरीका क्षेप्यास्त्रको परीक्षण र प्रयोगमाथि प्रतिबन्ध कायमै राखेका छन् । यसो गर्नुको मुख्य कारण गैरजिम्मेवार र कमजोर राजनीतिक नेतृत्व रहेका वा उत्तेजनाका कारण युद्ध निम्ताउन सक्ने खतरनाक मनोवृत्ति भएका राष्ट्रहरूको पहुँचमा नरसंहारकारी आयुध नपरून् भन्ने हो। 

अहिले उत्तर कोरियाले एकपछि अर्को परमाणविक परीक्षण गरिरहेको छ र कोरियाली प्रायद्विप फेरि पनि विश्व सामरिक राजनीतिको सबैभन्दा खतरनाक 'हट स्पट' बन्न पुगेको छ । सम्भावित गलत चालले कुनै पनि बेला भयावह जोखिम निम्तिन सक्छ। उत्तर कोरियाली आणविक परीक्षणका शृखला छिमेकी मुलुकका सीमासम्म भूकम्प उत्पन्नमात्र गर्दैछैनन् । तिनले ल्याउने सैन्य राजनीतिको कम्प र दुष्परिणामका छनक झनै भयानक सुनिँदैछन् । उत्तर कोरियाको स्थापनाकालदेखि नै उसको नेतृत्वले आफ्नो अस्तित्व रक्षाका लागि गर्दैआएको उत्तेजना (प्रोभोकेशन), मोलतोल (बार्गेनिङ), धम्की (इनटिमेडेसन र थ्रेट)को अभ्यासलाई लिएर डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपश्चात् उग्र दक्षिणपन्थी बाटोमा हिँड्न खोजेजस्तो देखिने अमेरिकी परराष्ष्ट्र नीति पनि शब्द र वाणीमै भए पनि युद्धोन्मादी हो कि भने झैँ गड्गडाउँदो छ ।

अमेरिका र पश्चिमा मुलुक त सदैव उत्तर कोरियालाई एउटा गैरजिम्मेवार, बेलगाम, लगभग व्याकुल र बौलाहाजस्तो व्यवहार गरिरहने उरेन्ठेउलो अनि भर नभएको तर हातमा हतियार भएको ठिटो छान्छन् । उसले तिनको प्रयोग जहाँ पनि जुनकुनै समयमा पनि गर्न सक्छ भनेजस्तो ठन्छन् । उत्तर कोरियाको आणविक कार्यक्रम बाहिरी संसारको आँखाबाट, अझ भनौँभने पश्चिमा नजरले हेर्दा अत्यन्त गैरजिम्मेवार र अनावश्यक उरेनठेउलोपनको रूपमा देखिन्छ । तर, उत्तर कोरिया स्वयंको अस्तित्वको लागि भने सर्वथा महत्वपूर्ण अर्थ राख्छ। यो नै विश्व मानचित्रमा स्थापित भइरहनका लागि उसको अस्तित्त्वको जग हो ।

आफ्नो जनसंख्याको ठूलो हिस्सा राष्ट्रिय सेना बनाएर राख्नु, मुलुक र नागरिकलाई बाँकी संसार सैतान छ र हामी आफ्नो सुरक्षार्थ ज्यान दिन हर्दम तयार रहिरहनुपर्छ भनेर प्रशिक्षित गर्नु, मुलुकको सम्पूर्ण स्रोत, साधन र सम्पत्तिलाई सैन्य, हतियार र सामरिक उद्देश्यका लागि एकल रुपमा प्रयोग गर्नु उत्तर कोरियाली शासनतन्त्रका विशेषता हुन् । 

अर्कातिर, उत्तर कोरियाले अनुमान गर्न नसकिने र अप्रत्याशित क्षति पुराउने सामर्थ्य अवश्य राख्छ । तर, अमेरिकाको मुख्य भूभागसम्म छिचोल्ने मारक क्षमताको प्रविधि उसको हातमा पुगिसकेको भने अहिले नै मुठभेड नहुन सक्छ। तैपनि छिमेकमा रहेका अमेरिकी सामरिक धुरीका विकसित मुलुकहरू - जापान र दक्षिण कोरियालाई उसले नसोचेको क्षति र विनाश गर्न सक्छ ।

यो खतरा नहुँदो हो त अमेरिकाले धेरै अघि नै  उत्तर कोरियालाई तह लगाउन सक्थ्यो । तथापि, अमेरिका, चीन र रुसका सामरिक स्वार्थले यो क्षेत्रमा तनाव कायम गराउन जति काम गरिरहेका छन् युद्ध रोक्न पनि त्यति नै भूमिका भने खेलिरहेका हुनसक्छन्।

बाँकि भाग २ मा 
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC