विचार
झन् झन् अधिनायकवादतर्फ उन्मुख हुने प्रवृत्ति संसारभर विस्तार हुँदै गएजस्तो छ । भ्लादिमिर पुटिनले राष्ट्रवादलाई रुसमा नियन्त्रण कायम गर्न सफलतापूर्वक प्रयोग गरिसकेका छन् र झन् लोकप्रियता हासिल गरेजस्तो देखिएको छ । सी जिनपिङ माओ त्सेतुङपछि चीनका सबैभन्दा शक्तिशाली नेता मानिन्छन् । महत्त्वपूर्ण निर्णय गर्ने समितिहरू उनको अध्यक्षतामा रहेका छन् र तिनको संख्या बढ्दो छ । टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानले हालै कार्यकारी अधिकार आफूमा केन्द्रित गर्न सहज हुनेगरी प्रधानमन्त्री परिवर्तन गरे । र, डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचन जिते भने 'अमेरिकी मुसोलिनी' हुने पो हुन् कि भनेर केही पर्यवेक्षक थर्कमान भएका छन् ।
शक्तिको दुरुपयोग मानव इतिहासजत्तिकै पुरानो हो । डेविड गोलियाथलाई हराएपछि राजा भएको र बाथसेबालाई फुस्ल्याएको र जानजान उनको पतिलाई मर्नैका लागि लडाइँमा पठाएको कथा बाइबलले सम्झाउँछ । नेतृत्वमा शक्ति संलग्न हुन्छ र लर्ड अक्सनको हामीलाई सचेत गराउने प्रसिद्ध उक्ति छ - शक्तिले भ्रष्ट बनाउँछ । तैपनि, आफूले चाहेअनुसार अरूलाई गराउन सक्ने शक्तिविना नेताहरूले नेतृत्व गर्न सक्तैनन् ।
हार्वर्डका मनोवैज्ञानिक डेविड सी म्याकक्लेल्यान्डले एकपटक मानिसहरूलाई उनहरूको उत्प्रेरणाका आधारमा ३ समूहमा वर्गीकृत गरेका थिए । केही अझ राम्रो गर्न चाहनेहरूलाई 'उपलब्धिको आवश्यकता' हुन्छ । मैत्रीपूर्ण सम्बन्धका बारेमा बढी चासो राख्नेहरूलाई 'आबद्धताको खाँचो' हुन्छ र अरूमाथि प्रभाव पार्न खोज्नेहरूलाई 'शक्ति आवश्यक' हुन्छ ।
यीमध्ये माथिको तेस्रो समूह प्रभावशाली नेता हुन पुगेको पाइन्छ र त्यसले लर्ड अक्सनको उक्ति पुनः सम्झाउँछ । तर, शक्ति आफैँमा खराब वा असल हुँदैन । खानामा क्यालोरीजस्तो हो शक्ति साह्रै नै थोरै भए दुर्बल बनाउँछ भने अलि बढी भए बोसो लाग्छ । आत्मपूजक शक्तिको भोक नियन्त्रण गर्न भावनात्मक परिपक्वता तथा दीक्षा महत्त्वपूर्ण उपाय हुन् भने सही सन्तुलनका लागि उपयुक्त संस्थाहरू आवश्यक हुन्छन् । नैतिकता र शक्तिले एकअर्कालाई बलियो बनाउन सक्छन् ।
साथै नैतिकता शक्ति बढाउनका लागि पनि महत्त्वपूर्ण सहयोगी बन्न सक्छ । मेकियावेलीले नेताहरूका लागि नैतिकताको महत्त्वका बारेमा स्पष्ट पारेका छन् । उनका अनुसार मूलतः समर्थकहरूलाई प्रभावित गर्नका लागि मात्र शासकले आदर्श गुणहरू प्रदर्शन गर्नुपर्छ ।
किन्तु, नैतिकतालाई शक्ति बढाउने साधनका रूपमा पनि प्रयोग गरिन्छ । मेकियावेलीले नेताहरूमा आदर्शको महत्त्वका विषयमा बताएका छन् तर उनको प्राथमिक जोड समर्थकहरूलाई प्रभावित गर्न नेताका गुणहरू देखाउनुमा रहेको छ । आदर्शको प्रदर्शन नेताको प्रभाव शक्ति बढाउने वा बलजफ्ती वा प्रलोभनविना समर्थन बढाउने महत्त्वपूर्ण स्रोत हो । यथार्थमा मेकियावेलीका लागि राजाका आदर्श गुणहरू प्रदर्शनका लागिमात्र हुनुपर्छ यथार्थमा होइन । उनी भन्छन् - उनले ती आदर्श गुणहरूको अभ्यास गरे भने तिनले नोक्सान हुन्छ तर देखाएमात्रै भने उपयोगी हुन्छन् भन्ने मेरो ठम्याइ छ । मेकियाबेलीले आकर्षणका अश्त्रहरू प्रभावकारी नभए बलप्रयोग र प्रलोभनको प्रयोगको महत्त्वमा पनि जोड दिएका छन् । उनी भन्छन् - शासकलाई प्रेम गर्ने कि नगर्ने रैतीहरूमा निर्भर हुन्छ तर आतंकित बनाउने कार्य भने शासकको हातमा हुन्छ । यस्तो अवस्थामा रोज्नै पर्दा शासकले फकाउने भन्दा थर्काउने उपाय रोज्नु बेस हुन्छ । तर, उनले के पनि बुझेका थिए भने भय र प्रेम एक अर्काका विपरीत हैनन् अर्थात् प्रेम गर्ने डराउन पनि सक्छ । प्रेमको विपरीत घृणा हो र यो नेताहरूका लागि सबैभन्दा डरलाग्दो हुन्छ ।
इटालीको पुनर्जागरणताका नगर राज्यहरूको अराजकता अहिलेका लोकतन्त्रहरूभन्दा धेरै हिंसात्मक र भयानक थियो तैपनि मेकियावेलीका सल्लाहमा निहित तत्त्व आधुनिक नेताहरूका लागि पनि उत्तिकै सान्दर्भिक छ । त्यसबाहेक मेकियावेलीले सिंहको हिम्मतसँगै स्यालको रणनीतिक धूर्तताको गुणगान गरेका छन् ।
व्यवहारवादविनाको आदर्शवादले संसारलाई बिरलै बदल्नसक्छ तर हामीले आधुनिक लोकतन्त्रका नेताहरूको मूल्यांकन गर्दा मेकियावेली र अक्सन दुवैलाई ध्यानमा राख्नुपर्छ । हामीले आत्मसंयमको नैतिक पक्षसँगै शक्तिमा पुग्न र टिक्न चाहने गुण पनि भएका नेतालाई समर्थन गर्नुपर्छ ।
नेताहरूको नैतिक आदर्शबाहेक अक्सनको दुविधाको अर्को पक्ष पनि छ - समर्थकहरूको आवश्यकता । नेतृत्वको लक्षण त समर्थकहरूको माग र उनीहरूले त्यसमा प्रतिक्रिया जनाउने सन्दर्भको सम्मिश्रण हो । रुसी नागरिकले आफ्नो हैसियतका सम्बन्धमा चिन्तित छ भने चिनियाँ जनताको चिन्ता व्याप्त भ्रष्टाचार हुनसक्छ, टर्कीको जनसंख्या धर्म र जातिमा विभाजित छ र यी सबैले शक्ति केन्द्रित गर्नु आावश्यक भएको ठान्ने नेताका लागि सहायक वातावरण निर्माण गरेका छन् । यसैगरी आफ्नो आत्मरत्यात्मक शक्तिको भोक टार्न ट्रम्पले टेलिभिजन समाचार कार्यक्रम र सामाजिक सञ्जालको प्रयोग गरेर जनसंख्याको एउटा हिस्सामा रहेको असन्तुष्टिको बढाइचढाइ गर्छन् ।
यस्तै अवस्थामा संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । संयुक्त राज्य अमेरिकाको सुरुकै दिनहरूमा जेम्स म्याडिसन र नयाँ मुलुकका अरू निर्माताहरूले न नेता न अनुयायीहरू नै दैवी गुणयुक्त हुनसक्छन् भन्ने देखे र सन्तुलन र संयम कायम राख्ने संस्थाहरू निर्माण गर्नुपर्छ भन्ने ठाने । प्राचीन रोमन गणतन्त्रहरूको अध्ययनबाट तिनले के निष्कर्ष निकाले भने जुलियस सिजरजस्ता अधिनायकको उदय रोक्नका लागि शक्ति विभाजनका लागि संस्थागत संरचना आवश्यक हुन्छ । त्यसो हुन सके एउटा अंगले अर्को अंगलाई सन्तुलनमा राख्नेछ । 'अमेरिकी मुसोलिनी' उदयको सम्भावनाका सम्बन्धमा म्याडिसनको उत्तर नियन्त्रण र सन्तुलनको संस्थागत पद्धति हो । त्यसले संयुक्त राज्य सन् १९२२ को इटाली वा आजका रुस, चीन वा टर्की नहुने सुनिश्चित गरेको छ ।
अमेरिकाका निर्माताहरूले नेता कति शक्तिशाली हुनुपर्छ भन्नेमा निकै माथापच्ची गरेका थिए । तिनले सरकारको दक्षता अत्यधिक बढाउनेभन्दा स्वतन्त्रताको संरक्षण गर्ने पक्षमा निष्कर्ष निकाले । कतिपय टिप्पणीकारहरूले संस्थागत ह्रासको गुनासो गरेका छन् भने अरूले टेलिभिजनको प्रत्यक्ष प्रसारण र समाजिक सञ्जालहरूको व्यापक प्रयोगलाई सार्वजनिक बहसको स्तर घटाएको दोष दिन्छन् । यसै वर्ष (२०१६)को अन्त्यमा हामीले अमेरिकाका निर्माताहरूको नेतृत्व र शक्ति सन्तुलनको संरचना कति जब्बर रहेछ भन्ने थाहा पाउन सक्छौं ।
(अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापक)
Copyright: Project Syndicate, 2016.
प्रकाशित मिति: सोमबार, असार २०, २०७३ १४:४५
प्रतिक्रिया दिनुहोस्