
काठमाडौं । उद्योग संगठन मोरङले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेको छ । आन्तरिक रूपमा लामो समयदेखि वित्तीय क्षेत्रमा रहेको तरलताको चरम अभाव, बढ्दो ब्याजदर तथा जारी युक्रेन रुस द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि जस्ता आन्तरिक एवं बाह्य परिस्थितिजन्य कारणहरूले मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा उन्मुख भइरहेको संगठनले जनाएको छ ।
"यस्तो बेला नेपाल सरकार, अर्थ मन्त्रालयएवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरूले निजी क्षेत्रसमेतलाई विश्वासमालिई निकास दिनुपर्नेमा मुख्य संस्थाहरूबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलतातर्फ जाने हो कि भन्नेमा संगठनले चिन्ता व्यक्त गरेको छ.” जारी विज्ञप्तीमा भनिएको छ ।
तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिति तथा आयात–निर्यात सहजीकरणका लागी नीतिगत निकाय र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा असमाञ्जस्य तथा अविश्वासको वातावरण सिर्जना हुनु दुखद् भएको संगठनले भनेको छ ।
“अन्तराष्ट्रिय रूपमा नै अर्थतन्त्रको अवस्था राम्रो नभएको यस संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकायबीच देखापरेको यस प्रकारको असमझदारीले अन्तराष्ट्रिय जगत्मा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरू चाल्न सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।