काठमाडौं । पटकपटक सारिएपछि शुक्रबार हुन लागेको सहिद स्मारक ‘ए’ डिभजिन लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताएका छन् ।
बिहीबार अखिल नेपाल फुटबल संघले आयोजना गरेको लिग अगाडिको पत्रकार सम्मेलनमा साविक विजेता मछिन्द्र, उपविजेता त्रिभुवन आर्मी, नेपाल पुलिस, मनाङ मर्स्याङ्दी, थ्री स्टार र न्युरोड टिम (एनआरटी) का प्रशिक्षकले उपाधि जित्ने लक्ष्य राखेको बताए ।
फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले आफुहरू रेलिगेसनबाट बच्नका लागि खेल्ने बताए । जावलाखेल, संकटा, एपीएफ, हिमालयन शेर्पा क्लबले शीर्ष चारमा रहने गरी तयारी गरेको उनले बताए ।
नवप्रवेशी सातदोबाटो युथ क्लबका प्रशक्षक मेघराज केसीले आफूहरू अप्रत्याशित नतिजा निकाल्न तयार रहेको बताए ।
“क्लब ‘ए’ डिभिजन लिगमा नयाँ क्लब हो । शीर्ष लिगको अनुभव पनि छैन । तर प्रशिक्षक र खेलाडीहरूले लिगको अनुभव बटुलेका छन् । प्री–सिजन भन्ने कुरालाई हामीले भरपुर उपयोग गरेका छौँ । हाम्रो अनुभवलाई उपयोग गरेर राम्रो नतिजा निकाल्न मिहिनेत गरिरहेका छौँ,” यसै सिजन सातदोबाटोसँग अनुबन्ध भएका केसीले भने, “कुनै पनि क्लब ठुलो र सानो भन्ने हुँदैन । हाम्रो अन्ुभव अली कम छ । त्यही भएर हामीले फरक ढंगले तयारी गरेका छौँ । हामी पहिलोपटक ‘ए’ डिभिजन खेल्न लागेको हो भनेर अनुभूति हुन दिदैनौ ।”
थ्री स्टार क्लबका पूर्व प्रशिक्षक मेघराज केसीले दुई चरणको खेलपछि आफ्नो टोलीलाई विपक्षीले हेर्ने नजर फरक पर्ने बताए ।
अघिल्लो सिजन तेह्रो स्थानमा रहेको ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले युवा खेलाडीको जोसमा अघिल्लो सिजन भन्दा राम्रो नतिजा निकाल्ने बताए ।
कुन क्लबका प्रशिक्षक र कप्तानले के भने ?
फ्रेन्ड्स क्लब
मृगेन्द्र मिश्र, प्रशिक्षक
हाम्रो पहिलो लक्ष्य त रेलिगेसन टार्ने नै हो । त्यसपछि हामी शीर्ष ६ भित्र रहनका लागि प्रतिस्पर्धा गर्नेछौँ । झण्डै ४० दिनको तयारी छ । क्लबमा नयाँ खेलाडीको वर्चस्व छ । तर, विदेशी खेलाडी राम्रो छ । टिम धेरै कमजोर पनि छैन । हामी ठुला भनिएका टोलीलाई सबक सिकाउन सक्षम छौँ ।
पहिलो खेल सातदोबाटोसँग छ । उनीहरू नवप्रवेशी क्बल हो । नयाँ जोसजाँगर छ । त्यसैले भोलिको खेल सहज हुनेछैन । तर, पहिलो खेल सधैँ महत्वपूर्ण हुन्छ । खेलाडीको मनोबल बढाउन पनि त्यसको अर्थ हुन्छ । त्यसकारण हामी तीन अङ्कका लागि खेल्ने हो ।
जावलाखेल युथ क्लब
किशोरकुमार केसी, प्रशिक्षक
हामी मुख्य कम्तिमा चौथो स्थानमा रहने हो । र, त्योभन्दा अझ माथि रहनका लागि प्रतिस्पर्धा गर्ने हो । विदेशी खेलाडी पनि राम्रा छन् । प्रविधकि रूपमा टिम राम्रो बनेको छ ।
कुलदीप कार्की, कप्तान
तयारी राम्रो छ । हामी मानसिक र शारीरिक दुबै रूपमा लिगका लागि तयार छौँ । पहिलो खेल मनाङसँग छ । मनाङ सबैभन्दा धेरै उपाधि जितेको क्लब हो । तर, हामी मनाङ भन्ने वित्तिकै डराउने पक्षमा छैनौँ । पहिलो खेल नभए पनि कुनै कुनै सयम खेल्नै पथ्र्यो । धेरै दबाव लिएका छैनौँ । मनाङलाई राम्रो चुनौती दिन्छौँ । हामी हतास पनि छैनौँ र धेरै उत्साहित पनि छैनौँ ।
नेपाल पुलिस क्लब
अनन्तराज थापा, प्रशिक्षक
हाम्रो तयारी सधैँ हुनेगर्छ । विभागीय टोली भएकाले हाम्रो नियमित अभ्यास हुन्छ । हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । युवा टोली छ । तर, लामो समयदेखि हामीसँगै खेलेका छौँ । टिममा राम्रो कम्युनिकेससन छ । राम्रो तालमेल छ । त्यसकारण सरप्राइज नतिजा निकाल्ने पक्षमा छौँ ।
हामी सधैँ नतिजाका लगि खेल्ने हो । राम्रो फुटबल खेल्ने हो । कम्युनिकेसन भएको छ । राम्रो फुटबल खेल्न थालेका छौँ । अन्य क्लबले विदेशी खेलाडी राख्छन् । त्यो उनीहरूका लागि फाइदा हो । हाम्रा लागि राम्रो पक्ष भनेको हामी नियमित प्रशिक्षण गर्छौं । हाम्रो त्यहीअनुसारको भौतिक पूर्वाधार छ । नियमित प्रशिक्षण गर्न पाउनु हाम्रा लागि फाइदा हो । त्यसको उपयोग गर्नेछौँ ।
सबै क्लब १९/२० कै छन् । खेलाडी अनुबन्ध गरेको हिसाबले मछिन्द्र केही बलियो देखिएको छ । नभए अन्य क्लब सबै एकनासका छन् ।
त्रिभुवन आर्मी क्लब
राजु तामाङ, सहायक प्रशिक्षक
राम्रो तयारी छ । सधैँ झै हाम्रो लक्ष्य उपाधि नै हो । टिममा नवयुग नहुँदा केही समस्या त हुन्छ नै । तर, उनको स्थानमा अन्य खेलाडी पनि उत्तिकै प्रतिभावान छन् । नवयुग जस्तो अनभुवी नभए पनि राम्रो खेलाडीको कमी छैन । भरत खवास, जर्स प्रिन्स कार्की, सुदिल राई सबै उत्तिकै छ । जगदिश श्रेष्ठ पनि टिममा ल्याएका छौँ । चार–पाँच दिन अघिमात्र टिममा आएकाले तालमेल मिल्न गह्रो भएको छ । उनले लय समातेपछि टिम अझ राम्रो हुनेछ ।
भरत खवास, कप्तान
परिवारमा एकजना सदस्य नहुँदा पक्कै पनि केही समस्या त हुन्छ नै । नवयुगको अभाव त खड्कन्छ । तर, उत्तिकै सम्भावना बोकेका अन्य खेलाडी छन् । नयाँ खेलाडीहरूलाई यो अवसर पनि हो, आफूलाई प्रमाणित गर्ने ।
लक्ष्य त हाम्रो उपाधि जित्ने नै हो । विगतमा उपाधि नजिक पुगेर पनि हामी कहीँकतै चुक्यौँ । यसपटक पुरानै टिम हो । पुरानै प्रशिक्षक हो । सधैँ सँगै खेलेका छौँ । त्यसैले विगतको कमजोरी सुधार गरेर उपाधि जित्ने विश्वास छ । अन्य सबै टिम राम्रो बनेको छ । यही टिम बलियो भन्ने छैन ।
न्युरोड टिम (एनआरटी)
राजुकाजी शाक्य, प्रशिक्षक
राम्रो तयारी छ । सुरुमा ग्राउण्ड अलि राम्रो नभएका कारण केही समस्या भएको थियो । अहिले ठिक छ । सुरुमा खेलाडी छान्न पनि समय लाग्यो । खेलाडीलाई ‘ट्रायल’मा बेलाएर छनोट गर्याैँ । त्यसकारण तयारीका लागि समय अलि कम भयो । तर, पनि हामी ‘बेस्ट’ नतिजा दिन तयार छौँ ।
सुपर लिगमा राम्रो गरेका दुई विदेशी खेलाडी छन् । उनीहरूलाई साथ दिने युवा खेलाडी छन् । दर्शन गुरुङ, एरिक विष्ट, अशोक थापाले पनि राम्रो गरिरहेका छन् । उनीहरूको तालमेल मिल्यो भने हामी बेस्ट नतिजा दिन्छौँ ।
प्रशिक्षक भएपछि दबाव त सधैँ हुन्छ । क्लब व्यवस्थापनले सधैँ राम्रो नतिजाको अपेक्षा गरेको हुन्छ । हामीले पनि त्यहीअनुसार मिहिनेत गरेका छौँ । दबाव भएर अहिलेदेखि निन्द्रा लाग्न छोडिसक्यो ।
सशत्र प्रहरी बल (एपीएफ)
कुमार थापा, प्रशिक्षक
पहिले र अहिलेको टिममा परिवर्तन खास केही भएको छैन । हामी नतिजामा परविर्तन गर्ने कोसिस गर्नेर्छौँ । हामीले ठुलो आशा गरेका छैनौँ । पहिले १२औँ स्थानमा रह्यौँ । अब कम्तीमा आठौँ स्थानमा रहनेछौँ । त्यो भन्दा अझ राम्रो गर्ने लक्ष्य हुनेछ ।
सातदोबाटो युथ क्लब
मेघराज केसी, प्रशिक्षक
हाम्रो ‘ए’ डिभिजन लिगमा नयाँ क्बल हो । ‘ए’ डिभिजन लिगको अनुभव पनि छैन । तर, प्रशिक्षक र खेलाडीले लिगको अनुभव बटुलिसकेका छन् । हामीले चार महिनादेखि अभ्यास गरेको छौँ । प्री–सिजनको हामीले भरपुर उपयोग गरेका छौँ । क्लब उत्साहित छ । हाम्रो अनुभवलाई उपयोग गरेर राम्रो नतिजा निकाल्न मिहिनेत गरेका छौँ ।
नेपालका ठुलो र सानो भन्ने क्लब छैन । ‘ए’ डिभिजन लिग खेल्ने सबै ठुलो क्लब हो । त्यसकारण सातदोबटो सानो क्लब होइन । ‘ए’ डिभिजन लिगको अनुभव कम र बढी भन्ने मात्र हो । हाम्रो अनुभव अलि कम छ । त्यही भएर हामीले फरक ढङ्गले टिमलाई तयार पारेका छौँ । सातदोबाटो पहलिोपटक ‘ए’ डिभिजन खेल्न लागेको हो भन्ने ‘फिल’ हुन नदिने गरी तयारी गरेका छौँ । त्यहीअनुसार प्रदर्शन गर्नेछौँ ।
हामीले सबै टोलीलाई एउटै लेभलमा राखेका छौँ । हामीलाई सबैले नयाँ क्लब भनेर हेरेको छ । एक दुई खेलपछि विपक्षीको हेर्ने नजर फरक पार्नेछौँ ।
मानबाहादुर तामाङ, कप्तान
लामो समय हिमालयन शेर्पाबाट खेलेँ । यसपटक नयाँ क्लबमा आएको छु । यो मेरो लागि चुनौती पनि हो । र, यसलाई अर्को पक्षबाट हेर्ने भने आफूलाई सिद्ध गर्ने अवसर पनि हो । १० वर्ष भन्दा लामो समयदेखि ‘ए’ भिडजिन खेलेको अनुभव छ । त्यसलाई म टिममा बाँड्ने छु । जसले युवा खेलाडीलाई मिहिनेत गर्न प्रेरणा मिल्नेछ ।
मछिन्द्र क्लब
प्रवेश कट्वाल, प्रशिक्षक
साविक विजेता भएका कारण उपाधि रक्षा गर्ने दबाव छ । त्यही भएर हामीले थप नयाँ युवा स्टारहरूलाई भित्राएका छौँ । पक्कैपनि उपाधि जित्न भन्दा जोगाउन गाह्रो हुन्छ । त्यसैले हामीले अग्रपंक्तिमा खेलाडी थपेका छौँ । हामी उपाधि रक्षा गर्न तयार छौँ ।
प्रशिक्षक भएपछि सबै खालको चुनौती सामना गर्न तयार हुनुपर्छ । स्टार खेलाडीहरूलाई व्यवस्थापन गर्न पनि चुनौतीपूर्ण नै छ । प्रशिक्षकले त्यो गर्नसक्नुपर्छ । उपाधि जित्नका लागि पनि खेलाडी त राम्रो नै चाहिन्छ । लिग हो, कहिले को घाइते हुन्छ भन्न सकिँदैन । हामी सकरात्मक छौँ । त्यहीअनुसार नतिजा आउनेमा विश्वस्त पनि छौँ ।
सुजल श्रेष्ठ, कप्तान
मनाङ मर्स्याङ्दीबाट दुईपटक र पछिल्लोपटक मछिन्द्रबाट उपाधि जितेको छु । पक्कै पनि लिगको उपाधि जित्न धेरै गाह्रो हुन्छ । तर, अझै पनि भर्खरको युवा अवस्थामा जुन जोसका साथ खेलेका थियौँ । त्यही जोस अहिले पनि कायम नै छ । अपेक्षा गर्छौं, उपाधि रक्षा गर्नेछौँ ।
संकटा क्लब
विष्णु तामाङ, प्रशिक्षक
लक्ष्य यही भनेका छैनौँ । दिन प्रतिदिनको नतिजाले लक्ष्य पनि तय हुनेछ । टिम दोस्रो स्थानमा हुँदा म खेलाडीको रूपमा थिएँ । अहिले प्रशिक्षकको रूपमा छु । त्यसले सजिलो पनि भएको छ । खेलाडीसँग मैदानभित्र र बाहिर कम्युनिकेसन गर्न सजिलो भएको छ । आशा छ, राम्रो नतिजा आउने छ ।
च्यासल युथ क्लब
बालगोपाल साहुखल, प्रशिक्षक
हाम्रो टिम योङ र इनर्जेटिक छ । शीर्ष ६ भित्र रहने हाम्रो लक्ष्य हो । मैत्रीपूर्ण खेलमा राम्रो गरेका छौँ । टोलीको मनोबल बढेको छ । युवा खेलाडी भएका कारण जोस पनि छ । तर, अनुभव कम भएकाले कहीँकतै चुक्नसक्ने सम्भावना हुन्छ । दुई अफ्रिकन मूलका खेलाडी छन् । उनीहरू अनुभवी भएकाले राम्रो छ । नेपाली मूलका इटालियन खेलाडी विकास युवा छन् । उनलाई टिममा फिट गर्ने प्रयास गरिरहेका छौँ । युथ लेभलमा खेलेका खेलाडी हुन् । टप लेभलको खेल खेलेको अनुभव कम छ । उनको खेल अप्रत्याशित छ । जस्तो नतिजा पनि आउन सक्छ ।
ब्रिगेड ब्वाइज क्बल
सनोज श्रेष्ठ, प्रशिक्षक
पहिलेको भन्दा सुधार गरेर राम्रो नतिजा ल्याउने लक्ष्य छ । बेस्ट रिजल्ट दिने हो । युवा खलाडीको वर्चस्व छ । टिम राम्रो बनेको छ । गत वर्षको भन्दा हामी राम्रो पोजिसनमा रहनेछौँ ।
अनिल गुरुङ, कप्तान
युवा खेलाडीहरू राम्रा छन् । विदेशी खेलाडी पनि अघिल्लो सिजनभन्दा राम्रा छन् । युवा खेलाडी हुँदा लिगमा अलिकति दबाव पनि हुनसक्छ । तर, कसरी मनोबल बढाउने भन्ने हो । आशा छ राम्रो नै खेल्नेछन् ।
मनाङ मर्स्याङ्दी क्लब
राजेन्द्र तामाङ, प्रशिक्षक
तयारी अलि छोटो भयो । खलाडीका रूपमा मनाङबाट उपाधि जितेको थिएँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरू छन् । हामी कीर्तिमानी नवौँपटक उपाधि जित्ने लक्ष्यमा छौँ । हामी पोखरा पनि जाने भनेका छौँ । पोखरामा हाम्रो समर्थकहरू धेरै हुनुहुन्छ । जुन राम्रो हो । तर, समर्थकको साथले मात्र जित्ने होइन । खेल नै खेल्नुपर्छ । त्यहीअुनसार तयारी गर्नेछौँ । हामी आफैँले खेलेर जित्ने हो ।
थ्री स्टार क्लब
ऊर्जन श्रेष्ठ, प्रशिक्षक
उपाधि नै हो । तयारी राम्रो भएको छ । हाम्रो टिम पनि राम्रो बनेको छ । सबै टिम राम्रो छन् । अब एक दुई–खेल हेरेपछि मात्र थाहा हुन्छ, कुन टोली कस्तो हो भनेर ।