site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘सरप्राइज’ नतिजा निकाल्ने लक्ष्यमा हिमालयन शेर्पा
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो संस्करणको मात्र प्रदर्शन हेर्ने हो भने हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबमध्ये औसतभन्दा माथिको टोली होइन । तर, क्लबको इतिहास हेर्ने हो भने हिमालयन शेर्पा नेपाली फुटबलको ‘डार्क हर्स’ टिम हो भन्दा फरक पर्दैन । स्थापना कालदेखिको नतिजा हेर्ने हो भने तथ्याङ्कले त्यही भन्छ । 

क्लब स्थापना भएपछि हिमालयन शेर्पाले ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता खेल्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । क्लब पदाधिकारीका अनुसार ‘ए’ डिभिजन लिगसम्मको यात्रामा हिमालयन शेर्पालाई कुनै अवरोध भएन । तल्लो डिभिजनमा च्याम्पियन हुँदै सरासर २०६८ मा हिमायन शेर्पा ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । 

स्थापनाको छोटो समयमै हिमालयन शेर्पाले मोफसलका प्रतियोगितामा ६ वटा उपाधि उचालिसकेको छ भने ६ वटामा उपविजेता बनेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरूमध्ये सबभन्दा कान्छो सदस्य हो, हिमालयन शेर्पा क्लब । ‘ए’ डिभिजन लिग उक्लिएकै वर्ष हिमालयन शेर्पा राष्ट्रिय लिगमा उपविजेता बन्न सफल भएको थियो । पोखरा र बुटवलमा सम्पन्न भएको उक्त राष्ट्रिय लिगको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । लिगमै पनि हिमालयन शेर्पा पाँचौँ स्थानमा रहन सफल भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

गतवर्ष खराब लयमा रहे पनि हिमालयन शेर्पाले च्याम्पियन मछिन्द्रलाई हराइदिएको थियो । त्यति नभएको भए मछिन्द्र अपराजित हुँदै लिग जित्ने पहिलो टोली बन्ने थियो । तर, मछिन्द्रलाई हिमालयन शेर्पाले नै रोकेको थियो । मछिन्द्रलाई हराए पनि हिमालयन शेर्पालाई गत सिजन ‘ए’ डिभिजन लिगमै रहन संघर्ष गर्नुपर्यो । रेलिगेसनमा परेको सरस्वती युथसँग ४–३ ले हारेपछि हिमालयन शेर्पाले ‘अप्रिय आरोप’ खेप्नु परेको थियो । तर, अन्तिम तीन खेलबाट सात अङ्क जोडेपछि हिमालयन शेर्पाले दशौँ स्थानमा रहेर लिगको अन्त्य गर्न सफल भयो । 

यही कात्तिक २९ गतेबाट लिगको नयाँ सिजन सुरु हुँदैछ । कोभिड–१९ महामारीका कारण गत संस्करणको ‘ए’ डिभिजन लिग हुन सकेन । पछिल्लोपटक बिर्सनलायक प्रदर्शन गरेको हिमालयन शेर्पा यसपटक कम्तीमा शीर्ष तीनभित्र पर्ने लक्ष्यका साथ तयारी थालेको छ । त्यसकारण क्लबले युगलकिशोर राईलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । राई तिनै प्रशिक्षक हुन्, जसले नेपाल सुपर लिगमा धनगढी एफसीलाई उपविजेता बनाउन महत्पूर्ण भूमिका खेलेका थिए ।

Global Ime bank

यसै सिजन हिमालयन शेर्पासँग अनुबन्ध भएका राईले लिगका लागि लामो समय टोलीलाई प्रशिक्षण गराउन पाएका छैनन् । एक महिनाभन्दा कम समय भए पनि कडा मिहिनेतका कारण आफ्नो टिम लिगका लागि तयार भएको बताएको राई बताउँछन् ।  

“हाम्रो लागि अहिले सबैभन्दा ठूलो चुनौती भनेकै समय हो । तयारी समय छोटो भयो । यो छोटो समयलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो । र, यो हाम्रा लागि मात्र होइन, सबैको हकमा लागु हुन्छ,” झापा–११ तथा बाँसबारी क्लबको जिम्मेवारी सम्हालिसकेका मुख्य प्रशिक्षक राईले भने, “खेलाडीलाई हाम्रो सिस्टम र फिलोसफी बुझाउन समय लाग्यो । अब फिजिकल फिटनेसको कुरा हो । केही इन्जुरीहरू देखिएको छ । त्यो चाँडै समाधान हुन्छ भन्ने आश  छ । मेरोतर्फबाट हेर्ने भने टिममा चित्त बुझ्ने आकार पाइसकेको छु । म म्याचका लागि तयार छु ।”

क्लबव्यवस्थापनले कम्तीमा शीर्ष तीनभित्र रहने लक्ष्य राखेको छ । तर, प्रशिक्षक राई सबै पक्षले सतप्रतिशत मिहिनेत र लगनशिल भएर काम गरे  उपाधि टाढा नभएको बताउँछन् ।

“टिम प्राविधिक र रणनीतिक रूपमा मात्र तयार भएर हुँदैन । मेडिकल,  फिजियो तथा व्यवस्थापन टिमले पनि त्यही स्प्रिटमा काम गर्नुपर्छ । सबैले चुनौती स्वीकार गरेर आ–आफ्नो ठाँउबाट सतप्रतिशत दियो भने सफलता हासिल गर्न गाह्रो हुँदैन,” प्रशिक्षक राईले थपे, “मेरोतर्फबाट सतप्रतिशत तयार भइसकेँ । हामी जित्नका लागि खेल्ने हो । तर, जित्नका लागि म मात्र तयार भएर हुँदैन । टिममा म मात्र कुदेर हुँदैन । टिममा खेलाडी हुन्छन् । सिस्टम हुन्छ । सिस्टमलाई फलो गर्नुपर्छ । मैले मात्र फलो गरेर भएन । व्यवस्थापनले फलो गर्नुपर्छ । मेडिकल टिमले गर्नुपर्छ । फिटनेस र फिजियो टिमले फलो गर्नुपर्छ । त्यसपछि पक्कै पनि प्रतियोगिता जित्न गाह्रो हुँदैन ।”

‘ए’ डिभिजन लिगमा उक्लिएपछिको सबैभन्दा राम्रो नतिजा भनेको पाँचौँ स्थानमा रहनु हो । त्यतिबेला लिगमा १८ क्लबले प्रतिस्पर्धा गथ्र्यो । त्यसपछि हिमालयन शेर्पाले २०६९, २०७०, २०७५, र २०७६ मा लिग खेलेको छ । लिगको पाँच संस्करणमा हिमालयन शेर्पाले ७० खेल खेल्यो । त्यसमध्ये २८ खेल जितेको हिमालयन शेर्पाले १८ खेल बराबरी खेलेको छ । बाँक २४ खेल हारेको छ । 

यसपटक टिममा ठूलो नाम भएको खेलाडी छैन । नियमित कप्तान मानबहादुर तामाङ सातदोबाटो लागेपछि क्लबको पुराना खेलाडी विश्वास श्रेष्ठले आगामी लिगमा कप्तानी गर्नेछन् । राष्ट्रिय टोलीमा स्थान बनाइसकेका त्रिदेव गुरुङ टोलीमा छन् । कप्तान विश्वास टोलीमा युवा खेलाडीको बर्चश्व रहेको बताउँछन् । उनलाई लिगमा कतै अनुभवी खेलाडीको अभाव खड्किने त होइन भन्ने चिन्ता पनि छ ।

“युवा खेलाडीको जोसले टिम राम्रो बनेको छ । राम्रो प्रदर्शन गरिरहेका छन् । हिमालयन शेर्पा क्लब सधैँ राम्रो टोली हो । यसपटक पनि राम्रो बनेको छ,” दस वर्षदेखि हिमालयन शेर्पाको जर्सी लगाएका विश्वासले भने, “तर, लिगमा अनुभवी खेलाडी पनि चाहिन्छ । नकआउट प्रतियोगिता खेलेको जस्तो लिग होइन । कहिँकतै त्यो अभाव खड्कने त होइन भन्ने छ । तर, लिगको अनुभव बटुलिसकेका हामी १०, ११ जना खेलााडी छौँ । अन्य खेलाडीसँग लिगको अनुभव नभए पनि एन्फा एकेडेमीका खेलाडी छन् । विदेशी खेलाडी पनि राम्रा छन् । त्यसैले हामी राम्रो नतिजा निकाल्न सक्छौँ भन्ने विश्वास छ ।”

खेलाडीको सन्दर्भमा मुख्य प्रशिक्षक राई स्टार खेलाडीले भन्दा क्लबको सिस्टममा फिट हुने खेलाडी आफूलाई चाहिएको बताउँछन् । उनी भन्छन्, “म कहिल्यै पनि स्टार खेलाडी भनेर फलो गर्दिनँ । सिस्टमलाई फलो गर्छु । हाम्रो खेलाडी र व्यवस्थापनले पनि सिस्टमलाई फलो गर्यो भने सफलता हात पार्न सकिन्छ । स्टार खेलाडीलाई टोलीमा भित्र्याउनुभन्दा स्टार खेलाडी जन्माउने मेरो चाहना हो ।”

हिमालयन शेर्पाले यसपटक केन्याको राष्ट्रिय टोलीबाट खेलिसकेका २३ वर्षे पिस्टोन मुटाम्बा, जापानका रियो नाकामुरा र क्यानरुनका ओलिच सेभी (राम्जी)लाई अनुबन्ध गरेको छ । त्यस्तै, साफको कोटामा क्बलले भारतका मोइनुद्धिन खानलाई अनुबन्ध गरेको छ । मोइनुद्धिनले भारतको यु–१९ टोली र शीर्ष डिभिजनको आई लिगमा मिनर्भ पञ्जाबबाट खेलिसकेका छन् । राम्जी त विगत लामो समयदेखि हिमालयन शेर्पामै छन् ।

“विदेशबाट आउने प्रायः सबै खेलाडी राम्रा नै हुन्छन् । क्लबले कसरी खेलाउने भन्नेमा उनीहरूको प्रदर्शन निर्भर हुन्छ,” विदेशी खेलाडीबारे मुख्य प्रशिक्षक राई भन्छन्, “राम्रो खेलाडी आएर मात्र हुँदैन । त्यो खेलाडी क्लबको सिस्टममा फिट हुनुपर्छ । त्यसमा उनीहरूको प्रदर्शन निर्भर हुने हो । हाम्रोमा पनि राम्रो खेलाडी आएका छन् । खेलाडीहरूले मेरो सिस्टम बुझिसकेका छन् । आशा गरौँ, राम्रोे गर्नेछन् ।”

हिमालयन शेर्पाले एक साताअघि मात्र बेलबारी गोल्डकप खेलेको थियो । त्यस प्रतियोगिताको उपाधि जित्ने क्रममा हिमालयन शेर्पाले क्वार्टरफाइनलमा गाइघाट एफसीलाई ३–० ले हराएको थियो । त्यस्तै, सेमिफाइनलमा रोलिङ क्लब, झापालाई ३–१ र फाइनलमा ‘ए’ डिभिजन लिगको क्लब सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–१ ले हराउँदै उपाधि जितेको थियो ।

उक्त प्रतियोगिताको उपाधि जितेपछि टोलीको मनोबल बढेको कप्तान विश्वास बताउँछन् । उनी थप्छन्, “अहिलेको प्रशिक्षकले धेरै राम्रो गरिरहनु भएको छ । हामीले केही समयअघि बेलबारी गोल्डकपको उपाधि जित्यौँ । त्यसबाट खेलाडीको मनोबल बढेको छ । हामी सही बाटोमा हिडेका छौँ भन्ने त्यो राम्रो प्रमाण हो ।”

लिगको पहिलो खेलमा हिमालयन शेर्पाले संकटा क्लबसँग कात्तिक ३० गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेल्नेछ । दोस्रो खेल दशरथ रंगशालामा मनाङ मस्र्याङ्दीविरुद्ध खेल्नेछ । मनाङ गत संस्करणमा तेस्रोे स्थानमा रहेको क्लब हो । संकटाले गत संस्करणमा सातौँ स्थानमा रहेर लिगको अन्य गरेको थियो ।

संकटाविरुद्ध सिजनको पहिलो खेलबारे मुख्य प्रशिक्षक राई भन्छन्, “हाम्रा लागि सबै टिम समान छन् । हामी सबैको सम्मान गर्छौं । पहिलो खेल संकटा र हामी दुबैका लागि महत्त्वपूर्ण छ । मेरो सिद्धान्त भनेको ‘ट्रेन फर विन, प्ले फर विन’ भन्ने हो । मलाई ट्रेनिङमै हुने सानो गेम पनि हारेको मनपर्दैन । मैले खेलाडीहरूलाई त्यही भनेको छु । ट्रेनिङमा त मलाई हारेको मन पर्दैन भने खेलमा हारेको मन पर्ने कुरै भएन । त्यसैले हामी जित्नकै लागि खेल्ने हो । बाँकी त्यही दिन थाहा हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement