site stats
बाह्रखरी :: Baahrakhari
विचार
एउटै फ्ल्याटमा रहेका छिमेकीलाई कोरोना हुँदा के गर्ने ?

नेपालमा तीन प्रकारको (भेरिएन्ट) कोरोना भाइरस फैलिरहेको र पछिल्ला दुई भेरिएन्ट निकै संक्रामक एवं जोखिमपूर्ण रहेको समाचार भर्खर प्रकाशित भएको छ । कोरोना महामारीको दोस्रो लहर चरममा पुगिरहेको अवस्थामा यस समाचारले हामीलाई थप चिन्तित पक्कै बनाउनेछ । साथै, कोरोना भाइरस हावाबाट सर्नसक्ने अनुसन्धानको नतिजाले हामी सबैलाई यस महामारीबाट कसरी जोगिने भन्ने चिन्तामा पारेको छ। 

उच्च दरमा संक्रमण बढेको हेर्दा ढिलो चाँडो यस रोगबाट बहुसंख्यक नेपाली सङ्क्रमित हुने जोखिम देखिन्छ । यस्तो अवस्थामा एउटै तलामा मिलेर (फ्ल्याट सेयर गरेर) बसिरहेका डेरावालहरूलाई कोरोना संक्रमण भएमा अरूलाई बढी समस्या पर्नसक्छ । 

अस्पतालमा बेड नपाएको वा अक्सिजनको अभावका कारण पनि संक्रमित बिरामीले ज्यान गुमाउनु परेको छ । कोरोना संक्रमितको नजिकै लामो समय बस्न र एउटै शौचालय प्रयोग गर्नुपर्दाको मानसिक पीडा कहालीलाग्दो हुने रहेछ । लेखक स्वयं यस्तै अवस्थामा परिसकेको हुँदा रोगबाट बच्न पालना गरेका मुख्य कुरा यस लेखबाट प्रस्तुत गरेको छु ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डेरावालका विकल्प थोरै हुन्छन् र जस्तोसुकै परिस्थितिमा पनि मिलेर बस्नुको विकल्प हुँदैन् । छिमेकीलाई कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थामा घरबाहिर निस्कनु गैरजिम्मेवारी हुनेहुँदा आफन्तकहाँ वा गाँउतिर जानु पनि उचित हुँदैन । 

यस्तो अवस्थामा छिमेकीको समस्या मेरै समस्या हो भन्ने यथार्थ आत्मसात् गरेर रोग विरुद्धको लडाइँमा संक्रमितभन्दा बढी होसियारी अपनाउनु रोगबाट आफू बच्ने र अरूलाई बचाउने एकमात्र उपाय रहेछ । 

के गर्ने ? 

१.    रोगसँग डराउने भन्दापनि होसियार र चनाखो हुनुपर्छ । डरले कमजोर बनाउने हुँदा कुनै हालतमा रोग लाग्न दिन्न भन्ने दृढताका साथ आफ्नो दैनिकी सञ्चालन गर्नुपर्छ ।  

२.    मास्कको प्रयोग नियमित गर्नुपर्छ । ढोकाबाट बाहिर निक्लदाँ वा शौचालय जाँदा सबै अवस्थामा मास्क लगाउन छुटाउनु हुँदैन । मास्क लगाउँदा अनुहारमा टपक्क टाँसिने र कतैबाट हावा नछिर्ने खालको लगाउनुपर्छ ।

३.    बाथरुम र शौचालय साझा रहने हुँदा यसको प्रयोगमा विशेष ध्यान दिनुपर्छ । संक्रमित व्यक्तिले बाथरुम वा शौचालयको सकेसम्म कम प्रयोग गर्न पिसाब, खकारलगायतका कोठामै संकलन गरी ट्वाइलेटमा फ्याँक्ने व्यवस्था मिलाउनु पर्छ । कोठामा भेन्टिलेसन चौबीसै घन्टा खुला राख्ने र शौचालय प्रयोगमा तालिका बनाई संक्रमित व्यक्ति अन्तिममा जाने व्यवस्था मिलाउन सकिन्छ । संक्रमित व्यक्तिले शौचालय प्रयोग गरिसकेपछि सोही व्यक्तिले हरेकपटक प्रयोग गरेका सामग्री, ढोकाको चुकुल, बत्तीको स्विच, राम्रोसँग निःसंक्रमण औषधि वा सेनिटाइजरले सफा गर्नुपर्छ । जोखिममा रहेका व्यक्तिले सकेसम्म संक्रमित व्यक्ति गएको कम्तीमा आधाघन्टा पछिमात्रै शौचालयको प्रयोग गर्ने, अनावश्यक वस्तुमा हात नलगाउने, मास्क लगाएको भए पनि मुख बन्द राख्ने र शौचालयमा कमभन्दा कम समय बिताउने गर्नुपर्छ । बच्चाहरूलाई कोठामै पिसाब गराँउदा शौचालयबाट हुने संक्रमण कम गर्न सकिन्छ ।

४.    कोठाबाहिरका कुनै वस्तु छोइसकेपछि अनिवार्यरूपमा हात धुनुपर्छ । हरेक वस्तुमा भाइरस हुनसक्छ भन्ने सोची त्यही अनुसार हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ।

५.    आफ्नो कोठाको ढोका सधैँ बन्द राख्नुपर्छ । साथै, संक्रमित व्यक्तिरहेको ढोका र आफ्नो ढोका खोल्ने समय एउटै पार्नुहुँदैन । संक्रमितको कोठाबाट सिधा हावा आउनसक्ने सबै ठाउँ बन्द राख्ने गर्नुपर्छ तर कोठाका झ्याल भने खुला राखी ताजा हावाको व्यवस्था गर्नुपर्छ । कोठा र झ्यालका चुकुललाई दैनिक सेनिटाइजर वा निःसंक्रमण औषधिले सफा गर्नुपर्छ।

६.    फ्ल्याटको प्यासेज वा गल्लीमा हावा खेल्न दिनको लागि मुल ढोका चौबीसै घन्टा खुला राख्नुपर्छ ।

७.    खानपिनमा पनि विशेष ध्यान दिनुपर्छ । नियमित खानामा धेरै परिवर्तन नगरी दूध, माछा, मासु, अण्डा, फलफूल, हरियो तरकारी प्रशस्त खानुपर्छ । दिनमा एक दुईपटक कागती, लसुन काँचै खादा पनि फाइदै गर्छ । उपलब्ध भएसम्म बदाम, काजु, किसमिसलगायतका मसाला खानु राम्रो हुन्छ । मुला, गाजर, चुकेन्द्रोलगायतका सलाद नियमित खानुपर्छ ।

८.    संक्रमितलाई निको नभएसम्म परिवारका सबै सदस्यले नियमितरूपमा बाफ पनि लिनुपर्छ । लामो लामो श्वास लिई बाफ लिँदा बढी फाइदा हुनसक्छ ।

९.    तातोपानी नियमित अन्तरालमा पिउनु पर्छ। मुखलाई सुख्खा राख्नु हुँदैन । एकैपटक धैरै पानी पिउनुभन्दा थोरै थोरै धेरैपटक पिउनुपर्छ । प्रशस्त मात्रामा झोल पदार्थ खानुपर्छ।

१०.    बेलुका सुत्नुभन्दा अगाडि नुनपानी वा फिट्करी पानीले नियमित कुल्ला गर्नुपर्छ ।

११.    बिहान बेलुकाको पहेंलो घामको किरणबाट भिटामिन डी पाइने हुँदा नियमितरूपमा यस्तो प्रकाशमा बस्नुपर्छ।

१२.    शारीरिक व्यायाम र योगले शरीरको अक्सिजन उपयोग गर्ने क्षमता विकास गर्ने हुँदा नियमितरूपमा व्यायाम गर्नु लाभदायी हुन्छ ।

१३.    लक्षण नदेखिएको अवस्थामा कुनै औषधि सेवन गर्नु आवश्यक  उचित नहोला । शरिरको सामान्य प्रकिया (फिजियोलोजी)लाई मजबुत बनाउन विभिन्न भिटामिन, खनिज तत्त्व खानाको माध्यमबाटै प्राप्त गर्नु उत्तम हुन्छ । अत्तालिएर जथाभावी औषधि सेवन गर्दा त्यसले नकारात्मक असर पनि गर्न सक्छ।

१४.    यस्तो विषम परिस्थितिमा परिवारका सबै सदस्य तनावमा हुनु स्वाभाविकै हो । तनाव कम गर्न फिल्म हेर्ने, टिकटक बनाउने, लुडो खेल्नेलगायतका मनोरञ्जनात्मक कार्यमा परिवारका सबै सदस्य सहभागी बन्नुपर्छ।

१५.    सामाजिक सञ्जालमा प्रेषित हुने नकारात्मक समाचारले मुटुको ढुकढुकी र दिमागको तनाव बढाउने तथा मनोबल घटाउने हुनाले यस्ता समाचारप्रति कम ध्यान दिनुपर्छ ।

१६.    संक्रमित र उनका परिवारको हौसला बढाउन उनीहरूसँग नियमित कुराकानी गर्नुपर्छ । फोनमा कुरागर्दा संक्रमितलाई समस्या हुनसक्ने तथा बोल्दा हावामा भाइरस आउनसक्ने हुँदा मेसेजमार्फत कुरा गर्नु उपयोगी हुन्छ ।

१७.    संक्रमित व्यक्तिलाई पनि भाइरस फैलिन नदिने उपाय कडाइका साथ पालना गर्न नियमितरूपमा प्रोत्साहित गर्दै आवश्यक सहयोग गर्नुपर्छ । 

भनिन्छ - नियत ठिक भए नियतिलाई पर सार्न वा टार्न सकिन्छ । हामीले लिने सानोभन्दा सानो होसियारीले रोगको संक्रमणबाट बच्न र कदाचित भाइरसको सम्पर्कमा आइहाले पनि रोगलाई छिट्टै जित्न सकिँदो रहेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्