site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीको पञ्चेश्वरमा मंगलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ ।

पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए । भण्डारीको मंगलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नम्बरको जिप मंगलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६, रोडिदेवलको गणमेश्वर मन्दिरनजिकै दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।

दुर्घटनामा परी अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको छ । घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीमा मोड्न नसकेपछि ब्याक गर्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । वडा सदस्यको मृत्युले शोकमा डुबेको रोडिदेवल गाउँ थप ६ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ । रासस

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्