भरतपुर । नयाँ भेरियन्टसहित पुनः तीव्र रूपमा फैलिरहेको कोरोनाभाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना संक्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् ।
जिल्लाका अस्पतालमा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।
बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसोलेसन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर अक्सिजनसहितको आइसोलेसन शय्या तयार पारेका छन् ।
रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नम्बर–१६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेसन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।
होम आइसोलेसनमा बस्ने वातावरण नभएका संक्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेसन तयार गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए । उनले आइसोलेसनमा राख्न हाललाई जम्मा सातवटा अक्सिजन सिलिन्डर पाइएको बताउँदै अरु शय्यामा अक्सिजन खोजिरहेको बताए ।
उनले सामान्य अवस्थाका बिरामी होम आइसोलसनमै रहेको र जटिल नभएसम्म अस्पताल नआउन भनिएको बताए । नगरपालिकाले तयार गरेको आइसोलसनमा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ ।
कोरोनाको दोस्रो लहर सुरू भएपछि वैशाख १ गतेयता रत्ननगरमा १०८ मा कोरोना संक्रमण पुष्टि भएको र त्यसमध्ये नौजना अस्पतालमा उपचारत रहेको र ९९ होम आइसोलेसनमा रहेको नगरप्रमुख वनले बताए ।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भन्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेसनकक्ष बनाएको बताइन् । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलेसनमा राखिने उनको भनाइ छ । सामान्य अवस्थाका बिरामीलाई सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन् ।
माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले पहिले बनाइएको २० शय्याको आइसोलेसनकक्षलाई पुनः सरसफाइ गरेर तयारी अवस्थामा राखिएको बताए । अक्सिजनसहितको सो आइसोलेसनकक्ष माडी नगरपालिका–६, छरछरेमा छ । यस्तै, ६ शय्यासहितको कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालसमेत बनाइएको नगरप्रमुख ढकालले जानकारी दिए ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले २४ शय्याको आइसोलेसनकक्ष तयार पारिएको बताए । उनले वडा नम्बर–२ मा रहेको स्वास्थ्यचौकीमा १५ शय्या र वडा नम्बर–९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नौ शय्याको आइसोलेसन बनाइएको जानकारी दिए । शय्यामा अक्सिजन राख्ने तयारी गरिरहेको उनको भनाइ थियो ।
कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालमा नगरपालिकाले २० शय्याको आइसोलेसनकक्ष तयार पारिएको बताए । उनले आइसोलेसनमा शय्या र अक्सिजन राखिसकिएको र अन्य सामग्री थप्दै जाने जानकारी दिए । उनले आइसोलेसनमा बिरामी आएमा तत्कालै राख्न सक्ने गरी तयारी गरिएको बताए ।
इच्छाकामना गाउँपालिकाकामा पनि ६० शय्याको आइसोलेसनकक्ष तयार भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाका अनुसार गाउँपालिकामा सामुदायिक भवन, सामुदायिक विद्यालय, गाउँपालिका परिसर, सामुदायिक प्रहरी भवन र इच्छाकामना कोरोना अस्थायी अस्पतालमा गरी ६० शय्याको आइसोलेसन रहेको छ । हाललाई कोरोना अस्थायी अस्पतालमा १० शय्याको सुविधासम्पन्न आइसोलेसन निर्माण गरिएको छ । यहाँ अक्सिजनसहित अन्य आधारभूत स्वास्थ्य उपकरण र औषधि रहेको सापकोटाले बताए । अरु शय्यामा पनि अक्सिजनको व्यवस्था गर्दै लगिने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले आइसोलेसन निर्माणका लागि सबै सरोकारवाला पक्षसँग छलफल गरिएको बताए । मंगलबार चितवनमा रहेका सबै अस्पतालसँग सल्लाह लिन बैठक बसेको जनाउँदै उनले अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाइने बताए ।
पहिलो लहर फैलँदा भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा कोभिड–१९ अस्पताल र बागीश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेसनकक्ष बनाएको महानगरले अब के गर्ने भन्ने कुनै ठोस निर्णय लिन सकेको छैन । रासस